सूचनाको शक्ति - The Power Of Information

        

प्रधानमन्त्री ओलीले बाँसुरी बजाएपछि…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली रसिक छन् । भाषणमा टुक्का, फुँदा गाँसेर रोचक बनाउने प्रधानमन्त्री ओली बाजागाजामा पनि उत्तिकै रुचि राख्छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा यस्तै दृश्य देखियो । अपराह्नपख प्रधानमन्त्री सम्पादक–पत्रकारहरूसँग केहीबेर भलाकुसारी गरे । मिर्गौला प्रत्यारोपण गर्ने र पूरै कार्यकाल सरकारको नेतृत्व गर्ने बताएलगत्तै उनी बालुवाटार साँझमा सरिक भए ।

मदन भण्डारी कला साहित्य प्रतिष्ठान र नेपाल नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा सांगीतिक कार्यक्रम आयोजना भएको थियो । कार्यक्रमका प्रमुख अतिथि रहेका प्रधानमन्त्री ओलीले बाजागाजाको धुनमा निमग्न मात्र भएनन्, आफैं बाँसुरी बजाएर सहभागीहरूलाई चकित तुल्याए । ‘प्रधानमन्त्रीजीले बाँसुरी बजाउन थाल्नुभयो । हामी पनि के कम ? माधवकुमार नेपाल र मैले सारङ्गी बजाएर साथ दियौं,’ पूर्वप्रधानमन्त्रीसमेत रहेका पार्टी वरिष्ठ नेता झलनाथ खनालले भने ।

प्रधानमन्त्रीले इच्छा व्यक्त गरेपछि ती दुई संस्थाको सहकार्यमा बालुवाटारमा करिब डेढ घण्टा मौलिक धून गुञ्जिएको थियो । बालुवाटार साँझमा नेपालका मौलिक १२ धूनहरू बजेका थिए । सुदूरपूर्वी ताप्लेजुङको बालनदेखि सुदूरपश्चिमको देउडासम्म गुञ्जिएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । कार्यक्रम साँझ ६ बजेदेखि नै सुरु भए पनि प्रधानमन्त्री साढे ६ बजेपछि मात्रै पुगेका थिए ।

दिउँसो ३ बजेदेखि ६ बजेसम्मको समय राष्ट्रिय मिडियाका २५ जना सम्पादकलाई छुट्याइएकाले प्रधानमन्त्री कार्यक्रमको बीचमा पुगेका थिए । कार्यक्रम सकिने बेलामा उद्घोषको जिम्मा पाएका सञ्चारकर्मी, कलाकार दिनेश डीसीले प्रधानमन्त्री सांगीतिक धूनमा रुचि राख्ने मात्र होइन, आफैं बजाउनु समेत हुन्छ भन्दै घरको भित्तामा सारङ्गी र गीतार झुण्ड्याएको चर्चा गरे । पुलकित देखिएका प्रधानमन्त्री ओलीले सारङ्गीतिर हात बढाइहाले ।

त्यसपछि प्रधानमन्त्री ओलीले दुवै पूर्वप्रधानमन्त्रीलाई मञ्चमा बोलाउँदै सारङ्गी बजाउन आग्रह गरे । आफूले चाहिँ बाँसुरी बजाउन थालेको थापा बताउँछन् । ‘प्रधानमन्त्रीले बाँसुरी बजाएकार देखेर सहभागीहरू पनि आश्चर्यमा परेका थिए,’ थापाले अनुभूति सुनाए । यसअघि २०७२ सालको नयाँ वर्षका दिन ओलीले झापा आन्दोलन र आफूले राजनीति सुरु गर्दाका सहयात्रीलाई घरमै निम्त्याएर यस्तै सांस्कृतिक जमघटको आयोजना गरेका थिए ।

त्यतिबेला धादिङको साबिक खाल्टे गाबिसदेखि पञ्चेबाजा समूह झिकाएर सनाही–कर्नाल बजाउन लगाएका थिए । भक्तपुरको समूहले धीमे बाजा बजाएर रौनक थपेको थियो । ओली आफैँले दमाहा र टयाम्को बजाएको फोटो त्यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको थियो । प्रधानमन्त्री ओली बाजागाजा सङ्ग्रह गर्न उत्तिकै रुचि राख्छन् । उनले त्यतिबेला बजाइएका बाजा घरमै सजाएर राखेका छन् ।

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार ०७:१८