सूचनाको शक्ति - The Power Of Information

        

भेरी अस्पतालमा सिकलसेलका बिरामी बढ्दै, ६ महिनामा ७६७ जना सूचिकृत

सिकलसेल एनिमिया जाँच गरिँदै । फाइल तस्वीर

सिकलसेल एनिमिया जाँच गरिँदै । फाइल तस्वीर

बाँके । नेपालगन्जस्थित भेरी अस्पतालमा सिकलसेल एनिमियाका बिरामी चाप बढ्दो क्रममा रहेको छ । पश्चिम नेपालको तराईका जिल्लामा बसोबास गर्ने थारु समुदायमा जनस्वास्थ्य समस्याको रुपमा रहेको सिकलसेल एनिमियाका विरामीहरुको संख्या बढ्दो छ । सरकारले सिकलसेल प्रमाणित भएका विरामीका लागि विभिन्न समयमा गरी रु.एक लाख बराबरको औषधि र जाँच सेवा प्रदान गर्दै आएको छ ।

सिकलसेल एनिमियाका बारेमा सोध गर्दै आएका भेरी अस्पताल नेपालगन्जका मेडिकल विभाग प्रमुख तथा कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डेले चालु आर्थिक वर्षकोे पुस मसान्तसम्म ७६७ जनाले एकलाख बराबरको उपचार सेवा पाउने गरी सूचिकृत भएको जानकारी दिए । उनले भने, ‘यो रोग वंशाणुगतरुपमा मात्र सर्छ, बैलैमा यो रोग भए नभएको जाँच गर्न सके यसबाट बच्न सकिन्छ ।’

उनले भने, ‘सिकलसेल पुष्टि भएका विरामीले ल्याव, बेड तथा औषधिको लागि रु.एक लाख बराबरको आजिवन सुविधा राज्यले दिने गरेको छ । ईकाइमा सूचिकृत भएर परिचय पत्र बनाएपछि त्यसकै आधारमा यो सुविधा दिने गरिएको छ ।’ सिकलसेल एक प्रकारको रक्तअल्पता हुने र यो वंशाणुगतरुपमा मात्र सर्ने हुँदा थारु समुदायमा समस्याको रुपमा देखापरेको छ । उहाँले केही समययता अस्पतालमा विरामीको चाप बढिरहेको बताए ।

उहाँका अनुसार सिकलसेल तराईमा औलोको बिगबिगी हुँदा औलोबाट जोगिएका रैथानेहरुमा मात्र देखापरेको छ । ‘यो रोगमा जण्डिस हुने, हातखुट्टाको जोर्नी दुख्ने बाथजस्तो हुने भए पनि यो रोग वंशाणुगतबाहेक एक ब्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन,’ कन्सल्टेन्ट फिजिसियन डा.पाण्डेले भने । उनले सिकलसेलका बिरामी–बिरामीबीच विवाह हुँदा जन्मने बच्चामा सिकलसेल देखिने सम्भावना उच्च रहने बताए ।

सिकलसेल एनिमिया जाँच गरिँदै । फाइल तस्वीर

विवाह गर्दा सिकलसेल छ वा छैन भन्ने जाँच गराउन आवश्यक हुने उनको सुझाव छ । सिकलसेल एनिमिया तथा थालसेमिया नेपालमा थारु समुदायमा मात्र जनस्वास्थ्य समस्याको रुपमा रहेको र अन्य जातीमा पनि फाटफुट देखापरेकोले सबैले सिकलसेल भए नभएको जाँच गर्न आवश्यक रहेको डा.पाण्डेले औल्याए । नेपालगन्जस्थित भेरी अस्पतालमा मात्रै सिकलसेल एनिमियाको निशुल्क जाँच गरिँदै आएको छ ।

सामान्य व्यक्तिमा रक्तकोषको आकार गोलो पैसाजस्तो हुनुका साथै रक्तकोषको आयु १२० दिन हुने भए पनि सिकलसेल एनिमिया हुनेको रक्तकोषको आकार हसियाँजस्तो हुनुको साथै आयु पनि २० दिनमात्रै हुने भएकोले बिरामीमा रगतको कमी हुने डा पाण्डेको भनाई छ । उनले समाजमा गहिरोसँग यस रोगका बारेमा जनचेतना फैलाउन आवश्यक रहेको औल्याए ।

उपचारको लागि अस्पतालमा आउने विरामीलाई यस रोगका बारेमा मनोसामाजिक परामर्श र अपनाउनुपर्ने सावधानीका बारेमा जानकारी दिने गरिएको परामर्शदाता तथा स्टाफ नर्स आस्था केसीले बताइन् । उनले भनिन्, ‘हामी अस्पतालमा आउने सिकलसेलका विरामीलाई रोगको बारेमा जानकारी दिनुको साथै यसको लक्षण, अवस्था, गर्न हुने÷नहुने कुराहरुका बारेमा सम्झाउने गरेका छौं ।’

सिकलसेल भएको प्रमाणित भएका विरामीहरुले पाउने सेवा सुविधा र उनीहरुले अपनाउनुपर्ने सावधानीका लागि अस्पताल आएका विरामीलाई चिकित्सकले सिकलसेल पुष्टि भएपछि मनोविर्मश गरिने सिकलसेल काउन्सलर तथा स्टाफ नर्स कृतिका रेग्मी बताउँछिन् । उनले भने, ‘धेरैलाई रोगका बारेमा जानकारी नहुँदा रोग लागेको पुष्टि हुने वित्तिकै चिकित्कसको सल्लाहमा औषधि लिने र केही सावधानी अपनाउने कुराको परामर्श दिने गरेका छौं ।’

बाँकेको भेरी अस्पतालको सामाजिक सेवा ईकाई अन्तरगत सञ्चालनमा रहेको विपन्न नागरिक स्वास्थ्य उपचार कोषबाट सिकलसेलका विरामीले निशुल्क उपचार पाउने गरेको ईकाई प्रमुख प्रेम सुवेदीले जानकारी दिए । सिकलसेल नेपालका थारु समुदायमा मात्र प्रमूख समस्याका रुपमा देखापरेको भए पनि पछिल्लो समयमा अन्य जातीमा पनि देखापरेकोले सबैमा सिकलसेल भए नभएको जाँच गर्न आवश्यक छ ।

प्रकाशित मिति : २१ माघ २०७६, मंगलवार ०८:००