सूचनाको शक्ति - The Power Of Information

        

कोरोना संक्रमणको कहर : नेपाल आउने हवाई यात्रुको संख्या घट्यो

काठमाडौं । चीनबाट फैलिएको कोरोना भाइरसका कारण नेपालमा आउने हवाई यात्रुको संख्यामा कमी आएको छ । चीन सरकारले नै आफ्ना नागरिकलाई सकेसम्म अन्य देशमा नजान आग्रह गरेकाले नेपाल आउने चिनियाँ नागरिकको संख्यामा कमी आएको हुन सक्छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले चीनबाट आउने यात्रुको संख्यामा कमी आएको बताए । उनले यात्रुको संख्यामा कमी आए पनि हवाई सेवा भने प्रभावित नभएको बताए । नेपाल हवाई सेवा प्रदान गर्दै आएका चिनियाँसहित अन्य कुनै पनि विमान कम्पनीले उडान घटाएको वा रद्द नगरेको पनि बताए ।

उनले भने, ‘हामीले नै उडानमा रोके मात्रै हो, अहिलेसम्म रोकिएको छैन । कुनै पनि विमान कम्पनीले उडान घटाएको वा रद्द गरेको जानकारी गराएका छैनन् ।’ यसअघि नेपालको निजी हवाई सेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले भने आफ्नो चीनतर्फको उडान घटाइसकेको छ भने आगामी फेबु्रअरीबाट चीनतर्फ कुनै पनि उडान गर्ने छैन ।

कोरोना भाइरसका कारण पर्यटक आवागनम संख्यामा कमी आउँदा त्यसको प्रत्यस असर नेपाल भ्रमण वर्ष २०२० लाई पर्ने भएको छ । सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउन लक्ष्यसहित भ्रमण वर्ष सुरु गरेको छ ।

प्रकाशित मिति : २० माघ २०७६, सोमबार १३:३९