सूचनाको शक्ति - The Power Of Information

        

नेपाल–भारत सीमामा ‘कोरोना हेल्थ डेस्क’

बाँके । उत्तरी छिमेकी देश चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमण नेपाल भित्रिन नदिन बाँकेस्थित सीमा नाका जमुनाहामा जाँच गरिने भएको छ । नेपाल–भारत सीमा नाका जमुनाहास्थित हेल्थ डेस्कले भोली (सोमबार)देखि नेपाल भित्रिने नागरिकहरुमा संक्रमण भए नभएको जाँच गर्ने भएको हो ।

कोरोना भाइरसका कारण चीनसहितका केही देशमा संक्रमित व्यक्तिहरुको संख्या प्रतिदिन बढ्दै गएपछि सतर्कता अपनाउन जाँच गर्ने बताइएको छ । नेपालमा चीनबाट कोरोना भाइरसको संक्रमण फैलन सक्ने सम्भावना उच्च भएकाले नेपाल–भारत सीमा नाका जमुनाहामा पनि हेल्थ डेस्क स्थापना गरिएको छ ।

जमुनाहा नाकामा रहेको हेल्थ डेस्कले नेपाल भित्रिने बिरामी तथा शंकास्पद व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमणको अवस्था पहिचानका लागि जाँच गर्ने नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख डिल्लीराज पोखरेलले जानकारी दिए । उनले कोरोनाको संक्रमण फैलिन नदिन सर्तकता अपनाउँदै हेल्थ डेस्क स्थापना गरेको बताए ।

संक्रमण अवस्था पहिचानलाई सहज बनाउन हेल्थ डेस्कमा दुई जना कर्मचारी खटिने भएका छन् । शाखा प्रमुख पोखरेलका अनुसार नेपाल–भारत सीमा नाकामा स्थापना गरिएको हेल्थ डेस्कमा खटिएका कर्मचारीले नेपाल–भारत सीमा नाकामा ओहोरदोहोर गर्ने व्यक्तिहरुको स्वास्थ्य जाँच गरेर संक्रमण भएको पाइएमा अवस्था अनुसार अस्पतालमा रिफर गरिनेछ ।

विशेषगरी बिरामी भएका, रुघाखोकी लागेका र शंकास्पद व्यक्तिको जाँच गरिनेछ । त्यसका लागि दुईवटा इन्फारेड थर्मोमिटर प्रयोग गरिने जानकारी दिँदै शाखा प्रमुख पोखरेलले शंका लागेका व्यक्तिहरुलाई स्क्यान गरी उच्च ज्वरो आएको खण्डमा उपचारका लागि सम्बन्धीत अस्पताल पठाइने बताए ।

प्रकाशित मिति : १९ माघ २०७६, आइतवार १९:०१