सूचनाको शक्ति - The Power Of Information

        

चीनबाट १७७ नेपाली विद्यार्थी फिर्ता ल्याइँदै, जहाज तयारी अवस्थामा

कोरोना भाइरस

काठमाडौँ । चीनको वुहानमा रहेका १७७ नेपाली विद्यार्थीलाई नेपाल ल्याइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी १७७ जना विद्यार्थीलाई नेपाल ल्याउने तयारी भएको जानकारी दिएको हो ।

चीनको वुहानमा कोरोना भाइरसको संक्रमण फैलिएपछि नेपाली विद्यार्थीलाई नेपाल फिर्ता ल्याउन लागिएको हो । बेइजिङस्थित नेपाली दूतावासले उहानमा रहेका नेपाली विद्यार्थीहरुलाई सुरक्षित तबरले नेपाल ल्याउनका लागि फाराम भर्न शनिबार नै सूचना जारी गरिसकेको छ ।

उनीहरुलाई नेपाल ल्याइँदा चीनबाट प्रस्थान गर्ने विमानस्थलमा स्वस्थ्य परीक्षण हुनेछ भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि फेरि स्वास्थ्य परीक्षण गरिनेछ । चेकजाँचको क्रममा संक्रमण भएको पाइए उपत्यकाको विभिन्न अस्पतालमा व्यवस्था गरिएको आइसोलेसन वार्डमा राखी उपचार गर्ने व्यवस्था सरकारले मिलाएको छ ।

यस्तै कोरोनाको संक्रमणको आशंका भएकालाई पनि दुई साता निगरानीमा राख्ने मन्त्रालयले जनाएको छ । अन्तर्राष्ट्रिय स्वास्थ्य नियमनको प्रावधान पालना हुनेगरी कामकारबाही भइरहेको मन्त्रालयका प्रवक्ता मोहनप्रसाद श्रेष्ठले जानकारी दिए । सरकारले नेपालीलाई उद्दार गर्न जहाज तयारी अवस्थामा राखेको भए पनि कहिले पठाउने भन्नेबारे चाहिँ टुंगो लागिसकेको छैन । वुहानबाटै फैलिएको कोरोना भाइरसले अहिले चीनमा यो रोगले भयावह रुप लिएको छ ।

प्रकाशित मिति : १९ माघ २०७६, आइतवार १७:४४