सूचनाको शक्ति - The Power Of Information

        

ओली प्रचण्डको राजनीतिक प्रतिवेदन पारित, वामदेव बने नेकपाको उपाध्यक्ष

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ । बुधबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा समूहगत छलफल भएपछि हलले सर्वसम्मत रुपमा प्रतिवेदन पारित गरेको हो ।

बैठकमा अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमाथि विभिन्न १५ समूहमा छलफल भएको थियो । छलफलका क्रममा उठेका प्रश्नहरुको अध्यक्ष प्रचण्डले जवाफ समेत दिएका थिए । सो क्रममा प्रचण्डले केन्द्रीय सदस्यहरुले दिएको सुझावलाई मनन गर्दै पार्टी अघि बढ्ने बताए ।

यसैबीच, बामदेव गौतम नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को उपाध्यक्ष बनेका छन् । सो पार्टीको केन्द्रीय समिति बैठकले सांगठनिक र विधान संशोधन प्रस्ताव पारित गरेसँगै नेता गौतम उपाध्यक्ष बनेका हुन् । यसअघि सो पार्टीको विधानमा दुई अध्यक्ष र एक महासचिवको व्यवस्था गरिएपनि उपाध्यक्षको व्यवस्था थिएन ।

गत साउन अन्तिम साता बसेको सचिवालय बैठकले विधान संशोधन गरेर उपाध्यक्ष पद सिर्जना गर्ने निर्णय गरेको थियो । सो प्रस्ताव स्थायी समिति बैठकले पनि पास गरेको थियो । स्थायी समितिले सचिवालयको उक्त प्रस्ताव पास गर्दै केन्द्रीय समितिबाट अनुमोदन गर्ने निर्णय गरेको थियो । सोही अनुसार उक्त प्रस्ताव केन्द्रीय समिति बैठकमा पेश गरिएको थियो । हाल गौतम नेकपाको संगठन विभाग प्रमुख छन् ।

प्रकाशित मिति : १९ माघ २०७६, आइतवार १६:३३