सूचनाको शक्ति - The Power Of Information

        

मकैबालीमा फौजी किराको संक्रमण देखियो

बाँके । बाँकेमा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत लगाइएको हिउँदे मकैबालीमा अमेरिकन फौजी किराको संक्रमण देखिएको छ । डुडुवा गाउँपालिका–६, हिरमिनियाका किसानले लगाएको मकैबालीमा अमेरिकन फौजी किराको संक्रमण देखिएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, मकै जोन कार्यक्रममा आवद्ध किसानले लगाएको हिउँदे मकैबालीमा अमेरिकन फौजी किराको संक्रमण देखिएको मकै जोन कार्यक्रमका प्रमुख रामप्रसाद पाण्डेले जानकारी दिए । मकैबालीमा फौजीकिराको संक्रमण देखिएपछि किसान चिन्तित भएका छन् ।

‘फौजीकिराले धानबाली नष्ट भयो । अव मकैमा पनि फौजीकिराको संक्रमण देखिएको छ,’ हिरमिनियाका अगुवा कृषक गुरुदिन यादवले भने । उनले मकै जोन कार्यक्रम लागू भएको हिरमिनियाका किसानले लगाएको मकैबालीमा अमेरिकन फौजीकिराको संक्रमण देखिएपछि प्राविधिक टोली खटाएको बताए ।

उनले भने, ‘फौजी किराको संक्रमण देखिएको छ । तर अहिले नै आत्तिनुपर्ने अवस्था छैन ।’ उनले फाटफुटरुपमा फौजी किराले मकैबालीमा क्षति पुर्याएको बताउँदै धानमा लाग्ने फौजी किरा र मकैमा लाग्ने फौजी किरा फरक भएको बताए । उनले अघिल्ला वर्ष रोपेका मकैबालीमा पनि फौजी किरा लाग्ने गरेको बताए ।


किराको प्रकोप अहिले सामान्य भएकोले समयमै रोकथाम गर्न आवश्यक भएको मकै जोन कार्यक्रम प्रमुख पाण्डेले बताए । ‘फौजी किराका लागि सबैभन्दा उत्तम आहारा मकै हो,’ उनले भने । उनले मकैजोन कार्यक्रम अन्तरगतका किसानले रोपेको मकैलाई फौजी किराबाट जोगाउन सचेतना अभियान सञ्चालन गरिएको बताए ।

किसानलाई फौजी किरा लागेको सुरुवाती अवस्था र मकैबालीलाई फौजी किराबाट जोगाउन किसानले अपनाउनुपर्ने सजगताका बारेमा किसानलाई जानकारी दिएको उनले बताए । ‘रोग लाग्न नदिन र सजगता अपनाउँदै रोग लागिहालेमा गरिने उपचार विधिको बारेमा किसानलाई जानकारी दिएर क्षति न्यूनीकरणको प्रयास गरिएको छ,’ पाण्डेले भने ।

प्रमुख पाण्डेले एक हजार किसानलाई फौजी किरा पहिचान र नियन्त्रणका उपायबारे जानकारी दिएको बताए । फौजी किरा लागेमा इमामेक्टिन बेन्जोयट ५ प्रतिशत, एक ग्राम एसजी प्रति २.५ लिटर पानीमा मिलाएर छर्किनुपर्छ । प्रमुख पाण्डेका अनुसार स्पाइनोस्याड ४५ प्रतिशत र एक मिलिलिटर एसजीप्रति तीन लिटर पानीमा घोलेर छर्किनुपर्ने हुन्छ ।

मकै जोन कार्यक्रम अन्तरगत यस वर्ष एक हजार २०० हेक्टर जमिनमा मकैखेती गरिएको छ । उक्त क्षेत्रमा गतवर्ष ७२२ हेक्टर क्षेत्रफलमा मकैखेती गरिएको थियो । बाली, जलवायु र माटोको अनुकूलता तथा कृषकको मागका आधारमा बाँकेलाई मकै जोनका रुपमा छनोट गरिएको हो । कृषकलाई मकै खेतीसम्बन्धी प्राविधिक ज्ञानको तालिम पनि दिइँदै आएको छ ।

प्रकाशित मिति : १९ माघ २०७६, आइतवार ११:५२