सूचनाको शक्ति - The Power Of Information

        

बागेश्वरी मन्दिरका महन्तले नेपालगन्जका मेयरलाई ‘गब्बर शमशेर’ भनेपछि…

बाँके । गुठी जग्गा संरक्षण सम्बन्धी आयोगले व्यक्तिको नाममा रहेको बागेश्वरी मन्दिरको जग्गा फिर्ता गर्न सरकारलाई सिफारिस गरेसँगै कर्मोहनाका स्थानीयले आन्दोलन चकाईरहेका बेला मन्दिरका मुल महन्त चन्द्रनाथ योगी आन्दोलनमै सहभागी भएर मन्दिर व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा.धवलशम्शेर राणामाथि आक्रोस पोखेको समाचारले नेपालगन्ज तातेको छ ।

मेयर राणाले मूल महन्तलाई शीर निहुराएर आदार गर्ने गर्ने गर्दछन् । उनै राणालाई महन्तले ‘गब्बर शमशेर’को उपनाम दिएपछि अहिले उक्त विषयले चर्चा लिएको छ । महन्तले बोलेको भिडियोसहित सामाजिक सञ्जालमा आएपछि मेयर र महन्तबीचको दुरीलाई झनै बढाएको छ । महन्तको मेयरमाथिको आक्रोस सामाजिक सञ्जालदेखि विभिन्न न्युज पोर्टलमा चर्चा आउन थालेपछि मन्दिर व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका मेयर राणाले महन्त जेल जाने अवस्था आएपछि अत्तालिएर जथाभावी बोल्दै हिडेको बताएका छन् ।

मेयर राणाले भने, ‘गुठीको जग्गा नेपाल सरकारले चाहेजस्तै हुन्छ, मलाई आरोप लगाएर महन्त योगी नउम्कने, महन्तलाई जग्गा विक्री गर्नु र जनतालाई किन्नु पनि भनेको होइन । मैले त नेपाल सरकारको आदेश अनुसार बागेश्वरीको जग्गा फिर्ता गराइदिने मात्र हो ।’ आयोगको सिफारिसविरुद्ध स्थानीयले थालेको आन्दोलनमा मन्दिरकै मुल महन्त गएर एक्यबद्धता जनाएपछि आन्दोलनले नयाँ मोड लिएको छ । जानकी गाउँपालिका–३ कर्मोनामा रहेको ८४ बिघा जग्गा मन्दिरको नाममा फिर्ता गर्न आयोगले सरकारलाई सिफारिस गरेको थियो । १५० बर्षदेखि जग्गा मालपोत तिरेर बसेका स्थानीयबासीले आयोगको सिफारिस खारेजको माग गर्दै आएका छन् ।

प्रकाशित मिति : १९ माघ २०७६, आइतवार १०:२७