सूचनाको शक्ति - The Power Of Information

        

तपोवनको तातोपानीमा आन्तरिक पर्यटकको घुइँचो

बझाङ । हिउँदयामसँगै बझाङमा रहेको धार्मिकस्थल तपोवनमा नुहाउन पुग्ने आन्तरिक पर्यटकहरुको घुइँचो लाग्ने गरेको छ । हिउँदको समयमा काम पनि कम हुँदा फुर्सदको समयमा महिला, बृद्धबृद्धा र छालाका रोगीहरु तातोपानी आउने बझाङको एकमात्र धार्मीकस्थल तपोवनमा नुहाउन जाने गरेका छन् ।

तातोपानीमा सरसफाई गर्न पनि सहज र शरीरलाई समेत फाइदा हुने भएपछि र तपोवनमा नुहाउँदा छाला सम्बन्धी सबै रोगहरु निको हुने धार्मिक विश्वाससमेत छ । हिउँदको समयमा चिसो हुने भएकाले तपोवनमा तातोपानीमा नुहाउनेको संख्यामा बृद्धि भएको हो । तातो पानीमा नुहाउन र बाफ लिनका लागि स्थानीय बासीहरुको घुइँचो लाग्ने गरेको छ ।

सेती नदिको छेउबाट निस्कने तातोपानी र कुण्डमा नुहाउँदा, बाफ लिदा र शरीर सेकाउँदा शरीर हल्का हुने, बाथरोग निको हने, शरिर मसाज हुने, पानी पिउदा पेट सफा हुने र छाला सम्बन्धी सबै प्रकारका रोग निको हुने धार्मिक विश्वास भएकाले आन्तरिक पर्यटकहरुको संङ्ख्यामा बृद्धि भएको स्थानीय रोहित ऐडीले बताए ।

कुण्डमा नुहाउँदा बाथ तथा छाला सम्बन्धी रोगहरुको उपचार हुने विश्वासे बझाङका विभिन्न गाउँबाट पनि मानिसहरु तातो पानीमा नुहाउने कार्य दैनिकीजस्तै भएको छ । बाथ तथा छाला सम्बन्धी रोग निको गर्न मात्र नभई हिउँदको समयमा चिसो पानी छुनै मुस्किल हुने भएकाले तातोपानीमा नुहाउँदा नागरिकहरुलाई राहतसमेत भएको स्थानीय समिर बोहराले बताए ।

प्रकाशित मिति : १९ माघ २०७६, आइतवार ०८:५८