सूचनाको शक्ति - The Power Of Information

        

पक्राउ परे ‘विप्लव’ समुहका नेता कृष्णबहादुर

बाँके । प्रतिबन्धित नेकपा माओवादी ‘विप्लव’का नेता कृष्णबहादुर शाही पक्राउ परेका छन् । बाँकेको बैजनाथ गाउँपालिका–१, चिसापानीबाट शाही पक्राउ परेका हुन् । पक्राउपछि शाहीले आफु हाल पार्टीमा निस्क्रिय रहेको बताएका छन् ।

‘विप्लव’ समुहका नेता शाहीले चन्दा आतंक मच्चाइरहेको सूचनाका आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता शिवबहादुर सिंहले जानकारी दिए प्रवक्ता सिंहका अनुसार सादा पोशाकमा रहेका प्रहरीले शाहीलाई नियन्त्रणमा लिई अभद्र व्यवहारमा कारबाही प्रक्रिया अघि बढाएको छ ।

पछिल्लो समय बाँके बर्दियामा प्रतिबन्धित विप्लव समूहका नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गर्दै आएको छ । विप्लव समूहको अपराधिक गतिविधि बढ्दै गएपछि बाँके र बर्दियामा प्रहरीले उच्च सर्तकता अपनाउदै आएको छ । यसअघि पनि पक्राउ परेका शाही कैलालीबाट रु.१० हजार धरौटीमा गत साउन २९ गते छुटेका थिए ।

प्रहरीले मंगलबार दिउँसो ३ बजे बर्दिया प्रहरीले विप्लब समूहका बर्दिया मधुवन नगरपालिका–८, दुर्गापुरका बर्ष ६६ को विप्लव समूहको जनप्रतिनिधी परिषद् बर्दियाका जिल्ला अध्यक्ष जयबहादुर ठाडा मगर र बढैयाताल गाँउपालिका–४, दक्षिण भकारीका ५० बर्षिय जिल्ला सदस्य रोहितकुमार सुनारलाई पक्राउ गरेको थियो ।

उनीहरुका साथबाट प्रहरीले एक थान कटुवा पेस्तोल र ३ राउण्ड गोली, भे५प १७९६, भे२प ३०३१ नम्बरको दुई थान मोटरसाईकल तथा लेटरप्याड लगायतको सामाग्री प्रहरीले बरामद गरेको थियो । बर्दियाको मधुवन नगरपालिका–४ मौवाबाट उनीहरुलाई नियन्त्रणमा लिने क्रममा आफैले बोकेको हतियार पड्किएर प्रहरी जवान गंगाराम चौधरी घाइते भएका थिए ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार १७:५३