सूचनाको शक्ति - The Power Of Information

        

इन्टरनेटले बढायो बाल यौनशोषण

काठमाडौं । नेपालमा बाल यौनशोषणसम्बन्धी गम्भीर जोखिमहरु उजागर भएको इसीपीएटी इन्टरनेशनलले जनाएको छ । इकनमिष्ट आउट अफ द श्याडोको सुचकाङ्कमा उल्लेख भएअनुसार बालबालिकाको यौनशोषणको सवालमा सूचकाङ्कमा मापन गरिएको ६० देशमध्ये नेपाल ३९ औं स्थानमा परेको छ ।

नेपालमा परिवारिक आर्थिक कठिनाइका कारण छोरीहरुको बाल अनमेल वा जबर्जस्ती विवाह गर्ने चलन बढि भएको समेत पाइएको छ । त्यस्तै २०७५ को आँकडाअनुसार बालविवाहको हकमा नेपालले विश्वमा १७ औं स्थान ओगटेको छ । अनलाइन यौन शोषणबाट बालबालिकालाई संरक्षण गर्न तत्काल आवश्यकता पर्ने सरोकारवालाले बताएका छन् ।

उनीहरुका अनुसार सुस्त आर्थिक विकास र २०७२ सालको भूकम्पमा सहयोग गर्ने नाममा स्वयमसेवक पर्यटकको बढ्दो क्रमले समेत यसमा प्रभाव परेको पाइएको छ । नेपालमा अनलाइन शोषणसम्बन्धी कमजोर कानुन भएकाले बालबालिकाहरुले विभिन्न खालका यौनशोषण सम्बन्धी जोखिमको सामना गरिरहेको उनीहरुको दाबी छ ।

नेपालमा इन्टरनेटको पहुँच ६३ प्रतिशत छ भने प्रत्येक १०० प्रयोगकर्ताको लागि १३९ वटा मोबाइल ग्राहक क्रियाशील छन् । इसीपीएटीका अनुसार ५–१२ वर्षका ४५२ जना बालबालिकालाई अनलाइन जगतमा आफूलाई कसरी सुरक्षित राख्ने भनेर सोधिएको प्रश्नमा ७५ प्रतिशतलाई कुनै पनि जानकारी नभएको बताएका थिए ।

नेपालमा आफ्नो सर्भरमा प्रवाह भएका बाल यौनशोषण सम्बन्धी सामाग्रीको जानकारी गराउने इन्टरनेट सेवा प्रदायकमाथि कुनै बाध्यकारी व्यवस्थासमेत छैन । बालबालिकालाई अनलाइन यौन अपराधीहरुबाट सुरक्षित राख्न नेपालको कानुन संशोधन गर्न आवश्यक भएको इसीपीएटी जनाएको छ । इसीपीएटीले बालबालिकाको यौन शोषण अन्त्यका लागि विश्वव्यापी सञ्जालमार्फत ९७ देशमा काम गर्दै आएको छ ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार ०८:०८