फाइल तस्वीर
बाँके । सरकारले लाखौं खर्चेर वर्षेनि हात्तीपाइले (फाइलेरिया) रोगविरुद्धको औषधि सेवन अभियान चलाए पनि नेपालगन्ज उपमहानगरपालिकामा ठूलो संख्याले औषधि सेवन नगरिदिँदा बाँकेमा अभियान नै ‘फेल’ भइरहेको छ । विसं. २०६७ सालदेखि बाँकेमा हात्तीपाईले रोगविरुद्ध औषधी खुवाउने कार्य चल्दै आएको छ ।
अभियान सञ्चालन गर्नुपुर्व २०६६ सालमा साविकको रझेना गाविसको ६ र ७ वडामा १०१ जनाको रगत जाँच गर्दा २१ जनामा अर्थात २१ प्रतिशतमा यो रोग देखा परेको थियो । पाँच वर्ष औषधी सेवनपछि २०७२ सालको माघको ३ र ४ गते नेपालगन्ज र रझेनाका ६२४ जनाको रगत जाँच गर्दा ९९ जनामा यो रोग देखा परेको थियो ।
जिल्लामा दश वर्ष अभियान चल्दा जिल्लामा दश प्रतिशत बिरामी घटेका छन् । पहिलो चरणको अभियान चल्दा जिल्लामा २१ प्रतिशत रोगी थिए । अहिले १० प्रतिशत रहेको तथ्याङ्क छ । गतवर्ष नेपालगन्ज उपमहानगरपालिकाको वडा नं.३ मा ६ प्रतिशतले मात्रै हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गरेका थिए ।
वडा नं. ७ मा १२ प्रतिशत, वडा नं. ८ र ११ मा १३–१३ प्रतिशतले हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गरे । नेपालगन्ज उपमहानगरपालिकामा मात्रै सरकारले एकपटकको अभियानमा रु.१७ करोड बढी खर्च गर्ने गर्दछ । यसपाली रु.१७ लाख ३९ हजार ८५० रुपैयाँ खर्च गर्दैछ । अरु सात वटा स्थानीय तहको खर्च जोड्दा ठूलो बजेट हुने देखिन्छ ।
तर, औषधी सेवन दर भने बढ्न सकेको छैन । आगामी माघ २५, २६ र २७ गते बाँकेमा दशौँ पटक औषधि सेवन गराइँदैछ । यसपाली हरेकलाई औषधि खुवाउने रणनीति अनुसार नेपालगन्ज उपमहानगरपालिकाले योजना तर्जुमा तथा बहुनिकाय गोष्ठी गरेर ‘कसरी औषधिको कभरेज बढाउन सकिन्छ ?’ भन्ने विषयमा छलफल गरिरहेको छ ।
नेपालगन्जका मेयर डा.धवलशमशेर राणाले औषधि सेवनको ‘कभरेज’ बढाउनेलाई पुरस्कृत र कम खुवाउनेलाई दण्डित गर्ने बताए । ‘जसले ८५ प्रतिशतभन्दा बढी खुवाउँछ । त्यसलाई म पुरस्कृत गर्छु । त्यसको वडामा बजेट थपिदिन्छु । जुन वडाले ६५ प्रतिशत औषधि खुवाउन सक्दैन, त्यसलाई कारबाही गर्छु,’ मेयर राणाले भने ।
नेपालगन्ज उपमहानगरपालिकामा गतवर्ष ४० प्रतिशतले औषधि खाएको जिल्ला स्वास्थ्य कार्यालयका हात्तीपाइले रोगविरुद्धको फोकल पर्सन दुर्गा गौतमले जानकारी दिइन् । गत बर्ष जिल्लाको ‘कभरेज’ ५४.९८ प्रतिशत थियो । पहिलो वर्ष ८५.७४ प्रतिशतले औषधी सेवन गरेका थिए ।
पहिलो चरणमा भएका केही गल्तीले गर्दा दोस्रो चरणदेखि जिल्लावासीले औषधी खान कम गरिदिएका थिए । दोस्रो वर्ष ४७.४३ प्रतिशतमा झरेको थियो । त्यसपछि ६३.०२ प्रतिशत, ६७ प्रतिशत, ७१ प्रतिशत, ६५ प्रतिशत, ६७.१३ प्रतिशत, ६५.८९ प्रतिशत र सन् २०१९ मा ५४.९८ प्रतिशतले औषधी खाएका थिए ।
फाइल तस्वीर
अभियान सुरु गर्दा ‘सावधानी’ अपनाउन नसक्दा बाँकेवासीले हात्तीपाइलेको औषधि नै खान मान्दैनन् । अभियानको सुरुवातमा महिला स्वयंसेविकाले घर परिवार संख्या गनेर दिएको औषधि जथाभावी खाँदा धेरै जना बिरामी परेकाले औषधिले उल्टो असर गरेको बुझेर औषधि खानेको संख्या कम हुँदै गएको छ ।
हात्तीपाइलेका जिवाणु प्रवेश गरेपछि मानिसमा अण्डकोष सुन्निने, हात, स्तन, गुप्ताङ् सुन्निने हात्तीको जस्ता पाइला हुन्छन् । लामखुट्टे हुने स्थानमा हात्तीपाइले रोगको संक्रमण हुने भन्दै फोकल पर्सन गौतमले भनिन्, ‘हात्तीपाइले रोगविरुद्धको औषधि सेवनले कसैको पनि मृत्यु नहुने बिषयमा ब्यापक प्रचार गर्नु आवश्यक छ ।’
मानिसलाई नडराइ औषधि सेवन गर्न जिल्ला स्वास्थ्य कार्यालयले आग्रह गरेको छ । स्वस्थ रहनका लागि निर्धक्क भएर औषधि सेवन गर्न आग्रह गर्दै उनले भनिन्, ‘हरेक दिन कोही न कोही मानिसको मृत्यु भइरहेको हुन्छ, यस्ता घटनालाई अभियानसँग जोडेर भ्रामक प्रचार गर्नुहुँदैन ।’ सोचे अनुसारको नतिजा नआएपछि बाँकेमा लगातार हात्तीपाइले रोगविरुद्धको अभियान चलिरहेको छ ।
अभियान सञ्चालन भइरहँदा बाँकेमा अझै पनि करिब १३ प्रतिशत हात्तीपाइले रोगका विरामी रहेका छन् । यो अवस्थालाई हेर्दा बाँके जिल्ला अझै पनि हात्तीपाइले रोगको उच्च जोखिममा रहेको छ । हात्तीपाइले रोग निवारणका लागि बर्षेनि ठूलो रकम खर्च हुने गर्छ । तर बाँके जिल्ला अझै जोखिममै रहनुले अभियान प्रभावकारी नभएको देखिन्छ ।
सरकारले सन् २०२० सम्ममा हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य लिए पनि हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गर्नेको संख्या कम हुँदै गएको छ । जसका कारण सरकारको लक्ष्य पुरा हुनेमा आशंका देखिएको छ । फोकल पर्सन गौतमले अभियान सञ्चालनका क्रममा सभ्य र शिक्षित व्यक्तिले औषधि खान नमानेको स्मरण गर्दै अभियानलाई कडाइका साथ सञ्चालन गरिने बताइन् ।
दुई बर्ष नपुगेका बालबालिका, गर्भवती, सात दिनसम्मकी सुत्केरी, दीर्घरोगी, ७० वर्षभन्दा बढि उमेरका र २४ घण्टाभित्र ज्वरो आएका, कडा कुपोषण भएका ५ बर्षमूनिका बालबालिकालाई औषधि सेवन गराउन हुँदैन । यसपाली अभियानमा जनप्रतिनिधिले सम्झाउने, स्कूलमा खुवाउने व्यवस्था मिलाउने, औषधि सेवनपछि देखिने लक्षणका बारेमा सचेत गराउनेजस्ता तयारी गरिएको छ ।
सत्यपाटी ।