सूचनाको शक्ति - The Power Of Information

        

नेपालमा गाँजामाथिको प्रतिबन्ध हटाउन संसदमा प्रस्ताव दर्ता

काठमाडौं । नेपालमा गाँजाको उत्पादन, विक्री तथा वितरण प्रतिबन्ध लगाउने कानुन हटाउन प्रस्ताव गर्दै सत्तारुढ नेकपाकै झण्डै ५० जना सांसदले जरुरी सार्वजनिक महत्व प्रस्ताव संसदमा दर्ता गराएका छन् ।

नेकपाका सांसद विरोध खतिवडाले नेपालमा गाँजाको पर्याप्त उत्पादन हुने र त्यसबाट ठूलो आर्थिक लाभ लिन सकिने भन्दै गाँजाविरोधी कानुन हटाउन प्रस्ताव गरेका हुन् । प्रस्तावलाई नेकपाकै ४६ जना सांसदहरुले समर्थन गरेको खतिवडाले जानकारी दिए । प्रस्तावको समर्थन गर्नेमा पूर्वसभामुख ओनसरी घर्तीखदेखि पूर्व गृहमन्त्री जनार्दन शर्मासमेत रहेका छन् ।

त्यस्तै सांसदहरु पम्फा भुसाल, जयपुरी घर्ती, नवराज सिलवाल, धर्मशिला चापागाईं, झपट रावल, गणेश ठगुन्ना, नारदमुनि रानालगायतले पनि समर्थन गरेका छन् । नेपालमा लागू औषध नियन्त्रण ऐन २०३३ ले गाँजा, भाङ जस्ता पदार्थको उत्पादन विक्री वितरण गर्न रोक लगाएको छ । उक्त ऐनले गाँजाको विक्री वितरणलाई गम्भीर अपराधको रुपमा व्याख्या गर्दैै कडा सजायको व्यवस्था गरेको छ ।

१९७० को दशकमा अमेरिका तथा युरोपेली देशको लहलैमा लागेर नेपालले पनि गाँजामा प्रतिबन्ध लगाएको थियो । अहिले अमेरिका र युरोपेली देशले गाँजा खुला गरेकाले नेपालले पनि खुला गरेर किसानहरुलाई आर्थिक उपार्जन गर्ने अवसार दिनुपर्ने सांसदहरुले आवाज उठाएका हुन् । सांसद खतिवडाले यसअघि पनि संसदमा पटक पटक गाँजा खेतीमाथि प्रतिबन्ध लगाउने कानुन खारेज गर्न माग गर्दै आएका थिए ।

प्रस्तावमा नेपालको भूबनोट गाँजा उत्पादनका लागि राम्रो भएकाले यसको वैधानिक उत्पादन र बिक्रीवितरणबाट मुलुकमा ठूलो विदेशी मुद्रा आर्जन हुने उल्लेख छ । विश्वका ६५ भन्दा बढी देशले गाँजामाथि लगाएको प्रतिबन्ध हटाइ सकेका छन् । गाँजाबाट औषध उत्पादन र औषधि निर्माणमा प्रयोग हुन्छ ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार ०६:५९