सूचनाको शक्ति - The Power Of Information

        

पत्रकारिताका धरोहर ‘चाचाजी’को निधन

बाँके । पश्चिम नेपालका पत्रकारिताका धरोहर पन्नालाल गुप्ता ‘चाचाजी’को निधन भएको छ । उनको निधनसँगै बाँकेले पत्रकारिताको अभिभावक गुमाएको छ । ९२ वर्षीय पत्रकार गुप्तालाई बुधबार दिउँसोतिर बान्ता भएपछि उपचारका लागि भेरी प्रादेशिक अस्पताल लगिएको थियो । उनको उपचारकै क्रममा साँझ ८ बजेतिर निधन भएको हो ।

सादगी पत्रकार गुप्ता चाचाजी नामले परिचित छन् । चाचाजी पत्रकार महासंघ बाँकेका पूर्वसभापतिसमेत हुन् । उनी सभापति रहँदा कार्यसमितिमा रहेका चाचाजी पत्रकारिताको निरन्तर साधकका रुपमा चिनिन्छन् । उनी निरन्तर पत्रकारिताको साधक बन्दै पत्रिकारिता क्षेत्रका अभिभावक बने ।

नेपालगन्जको पत्रकारितामा छुट्टै पहिचान बनाएका चाचाजीले प्रकाशन तथा सम्पादन गर्ने किरण साप्ताहिक पश्चिम नेपालकै पुरानो र चर्चित पत्रिका हो । पत्रकारिताका धरोहर चाचाजीको योगदानको कदर गर्दै नेपाल पत्रकार महासंघले एक दशकअघि सेनानीको उपाधी दिएको थियो ।

दाहसंस्कार भोली

चाचाजीको पार्थिव शरिरलाई नेपालगन्जको रानी तलाउस्थित पुरानो घरमा राखिएको छ । बिहीबार बिहान अन्तिम श्रद्धाञ्जली दिएर धार्मिक विधिपूर्वक अन्त्येष्टी गरिने परिवारले जनाए पनि बिहीबार पञ्चक परेकाले शुक्रबार बिहानमात्र हुने भएको छ । उनका श्रीमती, चार छोरा र एक छोरी छन् ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार ०६:४८