बाँके । आज माघ १६ गते सहिद दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देश र जनताको मुक्ति र अधिकार तथा प्रजातन्त्र प्राप्तिका लागि आफ्नो प्राणको आहुती दिने सहिदहरुको सम्झना र सम्मानमा हरेक माघ १६ गते सहिद दिवस मनाउने गरिन्छ ।
जहानियाँ राणा शासन, निरंकुश पञ्चायती व्यवस्था तथा राजतन्त्रविरुद्ध प्रजातान्त्रिक आन्दोलनका क्रममा चार जना सहिदहरुले बलिदान दिएका थिए । शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठलाई तत्कालीन जहाँनीय राणशासनले प्रजातान्त्रिक आन्दोलनमा लाग्दा हत्या गरेको थियो ।
हरेक वर्ष माघ १० देखि १६ गतेसम्म ‘सहिद सप्ताह’ को रुपमा मनाउने गरिन्छ । विक्रम संवत् १९९७ साल माघ १० गते निरंकुश राणा शासनविरुद्ध नेपाल प्रजापरिषद् स्थापना गरी जनतालाई आफ्नो हक र अधिकारका लागि क्रान्ति गर्न प्रेरित गर्ने शुक्रराज शास्त्रीलाई टेकुस्थित खरीको रूखमा झुन्डयाएर हत्या गरिएको थियो ।
यसैगरी माघ १३ गते सिफलमा धर्मभक्त माथेमालाई झुन्ड्याइएको थियो भने माघ १५ गते दशरथ चन्द र गंगालाल श्रेष्ठलाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो । सहिदहरुले नेपालमा प्रजातन्त्रका लागि लामो संघर्ष गरेपनि प्रजातान्त्रिक व्यवस्थामा पनि जनस्तर सुधारिन सकेको छैन भने सहिदहरुको बलिदानको जगमा प्राप्त भएका उपलब्धीलाई संस्थागत गर्नका लागि राजनीतिक नेतृत्व असफल बन्दै आएको छ ।
सत्यपाटी ।