
सांकेतिक तस्वीर
बाँके । उनलाई प्रेममा जबर्जस्ती हुँदैन भन्ने विश्वास थियो । तीन महिनाअघि भारतदेखि पुर्ख्यौर्ली घर आउँदा उनका छिमेकी नवीन रोकायसँग चिनजान भयो । भेट भएको एक सातामै युवकले प्रेम प्रस्ताव राखे । आफू दलित समुदायकी भएकाले विवाह सम्भव नहुने भन्दै प्रेम अस्वीकार गर्दै आइन् ।
परिवारले नस्वीकारे पनि म अपनाउँछु भन्दै फकाउन थाले । परिचय गाढा भएपछि घुम्न जान दबाब दिए । ‘खुला चौरमा जाऊँ भन्दा मान्थेन,’ उनले भनिन्, ‘जबर्जस्ती जंगलमा लग्यो ।’ बैजनाथकी १८ वर्षीया युवतीले चार महिनाअघि आफूमाथि बलात्कार भएको बताइन् । गाभरको जंगलमा लगेर बैजनाथ गाउँपालिका–१ का रोकायले गोप्य अंग चलाउन थाले ।
‘छि के गरेको यस्तो नगर्नु, मैले पटक–पटक इन्कार गरें,’ पीडित युवतीले भनिन्, ‘म तिमीलाई प्रेम गर्छु भन्यो ।’ नाइनास्ती गर्दा भुइँमा धकेलेर जबरजस्ती गरेको उनले सुनाइन् । ‘टाउको भुइँमा बजारियो, शरीरमा काँडाले घोच्दासमेत छोडेन,’ उनले भनिन्, ‘माया गर्छु भन्थ्यो, जबर्जस्ती गर्यो ।’
महिनावारी रोकिएपछि कोहलपुर इलाका प्रहरी कार्यालयमा बिहीबार बलात्कार मुद्दा दर्ता गराएकी हुन् । इलाका प्रहरीका डीएसपी कुलदीप चन्दले मुद्दा दर्ता भएको र प्रमाण खोज्न थालिएको बताए । ‘स्वास्थ्य परीक्षणको नतिजा आउनै बाँकी छ,’ उनले भने, ‘अभियुक्त फरार छ ।’ बलात्कार भएको खुलासा भएपछि पीडित परिवारलाई मिलापत्र गर्न दबाब आएको छ ।
#कान्तिपुर
सत्यपाटी ।