सूचनाको शक्ति - The Power Of Information

        

चार वर्षदेखि आयुर्वेद औषधालय चिकित्सकविहीन

फाइल तस्वीर

फाइल तस्वीर

जुम्ला । आयुर्वेद औषधालय चार वर्षदेखि डाक्टरविहीन हुँदा सेवाग्राही मर्कामा परेका छन् । डाक्टर रमेश केसी ०७२ मङ्सिरमा सरुवा भएपछि केही महिनापछि डाक्टर विवेक गुप्ता अस्थायीरूपमा आए पनि नियमित एक महिना काम नगरेरै गएपछि औषधालय डाक्टरविहीन अवस्थामा रहेको हुँदा सेवाग्राही मर्कामा परेका हुन् ।

अहिले वैद्य गोर्खबहादुर रावतकोे भरमा औषधालय चलिरहेको छ । सामान्य बिरामी आएमा सजिलै उपचार गराउनेदेखि औषधि दिनेसम्मको काम गर्न सकिएको भए पनि जटिल प्रकृतिका बिरामी आएमा निकै समस्या हुने गरेको आयुर्वेद वैद्य रावतले बताए । औषधालयमा डाक्टर नभएपछि शल्याक्रियाका काम हुन नसकेको उनले बताए ।

‘न्यूनतम शुल्कमा पाइल्स, घाउखटिराका शल्यक्रिया गर्ने गरेका थियौँ । अहिले डाक्टर नभएपछि त्यो काम हुन सकेको छैन,’ उनले भने, ‘आयुर्वेद विभागमा पटकपटक पत्रचार गरेर डाक्टर पठाइदिन माग गरेका छौँ । अहिलेसम्म सुनुवाइ भएको छैन ।’ वैद्य रावतका अनुसार चिकित्सकीय सेवा र सामान्य स्वास्थ्यकर्मीले दिने सेवामा धेरै फरक हुन्छ ।

उनले भने, ‘त्यसैले पनि डाक्टर पठाइदिन बेलाबेलामा ताकेता गरेका छौँ तर, पनि विभागले सुनुवाइ गरेको छैन । अहिले कर्णाली प्रदेशले प्रदेशका सबै जिल्लामा पुग्ने गरी आयुर्वेद औषधालयका लागि डाक्टरसहित अन्य दक्ष जनशक्तिको विज्ञापन गरेको छ, अब डाक्टर आउने सम्भावना बढेको छ ।’

मानवअधिकार आयोगद्वारा अनुगमन

आयुर्वेद औषधालयमा राष्ट्रिय मानवअधिकार आयोग, प्रदेश कार्यालय जुम्ला, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), पत्रकारलगायतको टोलीले अनुगमन गरेको छ । औषधालयमा पटकपटक औषधि र स्वास्थ्यकर्मीको अभाव भएको सञ्चारमाध्यममा समाचार प्रकाशन भएपछि राष्ट्रिय मानवअधिकार आयोग, कर्णाली प्रदेश कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख नरेन्द्र खत्री, पत्रकार महासङ्घका केन्द्रीय सदस्य पूर्णप्रसाद चौलागाई लगायतको टोलीले अनुगमन गरेको हो ।

अनुगमनका क्रममा आयुर्वेद औषधालयमा औषधि पर्याप्त भए पनि दक्ष स्वास्थ्यकर्मी नभएका कारण समस्या देखिएको आयोग प्रदेश कार्यालय जुम्लाका निमित्त प्रमुख नरेन्द्र खत्रीले बताए । उनले भने, ‘यो औषधालयमा विगत चार वर्षदेखि डाक्टर दरबन्दी रिक्त नै रहेको छ । दरबन्दी पदपूर्तिका का लागि कार्यालयले पटकपटक पहल गर्दा पनि सुनुवाइ नभएको बुझिन आएको छ ।’ यहाँ डाक्टरसहित अन्य स्वास्थ्यकर्मी पनि अभावले बिरामीको उपचारमा समस्या देखिएको पत्रकार महासङ्घका केन्द्रीय सदस्य पूर्णप्रसाद चौलागाईले बताए ।

बिजुली नभएका कारण आवश्यक उपकरण पनि प्रयोगविहीन भएको औषधालयका वैद्य गोर्खबहादुर रावतले बताए । उनले भने, ‘उपकरण प्रयोगमा नआएरै सबै पुराना भएका छन् ।’ चालु आवमा रु चार लाख ९० हजारको औषधि खरिद गरेकाले औषधि पर्याप्त नै छ तर आवश्यक दक्ष स्वास्थ्यकर्मी नभएका कारण समस्या हुने गरेको जनाएको छ । पहिलो सङ्घीय सरकारअन्तर्गत कर्णाली अञ्चल आयुर्वेद औषधलायको रुपमा रहेको कार्यालयलाई अहिले कर्णाली प्रदेशअन्तर्गत जनस्वास्थ्य कार्यालय जुम्ला, आयुर्वेद औषधालय शाखाका रुपमा रहेको छ ।

स्थायी कर्मचारीका रुपमा एक जना वैद्य र एक जना कार्यालय सहयोगी मात्र छन् । तीन जना करार सहयोगी कर्मचारी रहेका छन् । औषधालयमा हिउँदे सिजनमा दैनिक १५ देखि २० जनासम्म बिरामी उपचार गराउनका लागि आउँछन् भने वर्षा सिजनमा ५० देखि ६० बिरामी आउने गर्दछन् । धेरैजसो अमलपित्त, श्वासप्रस्वास, कमलपित्त, स्त्रीरोग, पाइल्स, बाथ, मुत्रविकार, छालासम्बन्धीका बिरामी उपचारका लागि आउने गर्दछन् । कमलपित्त र श्वासप्रस्वासका बिरामी सबैभन्दा बढी आउने गरेको औषधालयले जनाएको छ । रासस

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार १४:३१