सूचनाको शक्ति - The Power Of Information

        

संसदमा ओली र देउवाले भने, ‘एमसीसी पास हुन्छ’, नेकपामा ‘फेल’ गराउन गठबन्धन

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले एमसीसी नेपालको संसदबाट पारित हुने संकेत गरेका छन् । प्रतिनिधिसभाको बैठकलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले ७ वटा प्रधानमन्त्रीका कार्यकालदेखि चल्दै आएको एमसीसी यसपटक पारित हुने उनले बताए । एमसीसी प्रस्ताव संसदमा पुगिसकेकोले यसपटक पारित हुने दावी प्रधानमन्त्री ओलीले गरेका छन् । यदपी नेकपाभित्र एमसीसीको बिषय निकै पेचिलो बनेको छ ।

एमसीसी नेपालको संसदबाट छिट्टै पारित गर्नुपर्ने तर्क प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाले गरेका छन् । ‘एमसीसी नेपालका पक्षमा छ तर पनि पारित गर्न किन ढिलाई भएको हो,’ उनले भने, ‘एमसीसी छिट्टै पारित गर्नुपर्दछ, सघाउन हामी तयार छौ । देउवाले चिनिया भाइरस रोक्नका लागि नेपालको विमानस्थलमा स्वास्थ्य हेल्प डेष्क राख्न सरकारसँग आग्रह गरेका छन् । समयमा सर्तकता अपनाउँन आग्रह गर्दै सिधा उठान भएका देशबाट नेपालमा जोखिम बढेको उनले बताए ।

यता पार्टी एकताको लामो समयपछि सत्तारुढ दल नेकपाको केन्द्रीय समिति बैठक भोली काठमाडौंमा बस्दैछ । बैंठकका लागि जिल्लामा रहेका केन्द्रीय सदस्यहरु राजधानी काठमाडौं आउन थालेका छन् भने पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राजनीतिक प्रतिबेदन लेख्न ब्यस्त भएका छन् । नेकपा केन्द्रीय समितिमा अध्यक्ष प्रचण्डले के प्रस्ताव ल्याउँछन् ? त्यो एकिन नभएपनि प्रभावशाली केन्द्रीय सदस्यहरुले भने आफ्नो तयारी थालेका छन् । पार्टी र सरकारका बिषयमा उनीहरुले प्रश्न गर्ने तयारी गरेका छन् ।

एमसीसी, पार्टी महाधिबेशन, जनवर्गीय संगठन, विभागको पूर्णताजस्ता बिषयहरु उठाउने एकथरी केन्द्रीय सदस्यहरुले तयारी गरेका छन् भने महिला सांसदहरुले पार्टीभित्र महिला अधिकारका बिषयमा कुरा उठाउने तयारी गरेका छन् । ‘पार्टी मिल्यो तर अझै मन मिलेका छैनन्, शीर्ष तहदेखि तल्लो तहसम्म एकताको मन मिलाउने अभियानको घोषणा हुनुपर्छ,’ नेकपा केन्द्रीय सदस्य तथा विदेश विभागका उपप्रमुख बिष्णु रिजालले भने ‘नेता र कार्यकर्ताबीच जति सम्बन्ध राम्रो हुन्छ, त्यति नै पार्टी एकता स्मुदरुपमा अगाडी बढ्छ ।’

केन्द्रीय समितिको बैठकपछि नेकपाले देशब्यापी अभियानको थालिनी गर्नेमा केन्द्रीय सदस्यहरु विश्वस्त देखिएका छन् । ‘देशभरका नेता कार्यकर्ताले केन्द्रीय समितिको बैठकलाई हेरिरहेका छन्, त्यहाँबाट जस्तो संदेश आउँछ, पार्टी त्यस्तै बन्छ,’ नेता रिजालले भने । पार्टीभित्रका हिजोका सम्बन्धभन्दा पनि आजको आवश्यकताका आधारमा पार्टीले नयाँ नीति लिनु पर्ने केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतको जोड छ । ‘हिजोका आन्तरिक सम्बन्धका आधारमा भन्दा पनि एजेण्डा र बिषयका आधारमा सहमति खोज्ने हो,’ नेता बस्नेतले भने ‘नेताहरुले उठाएका जायज कुरालाई समर्थन र गलत कुरा सच्याउन लबिङ गर्नुपर्दछ ।’

स्थायी कमिटीमा टुंगिन नसकेको एमसीसीको बिषय केन्द्रीय समितिमा जोडबलका साथ उठाउने केही नेताहरुको तयारी छ । विषेशगरी स्थायी कमिटीका नेताहरुले एमसीसीका बिषयमा कुरा उठाउने र केन्द्रीय समितिबाट फेल गराउने कसरत थालेका छन् । एमसीसी जस्ताको तस्तै लागु गर्न नहुने पक्षमा नेकपाभित्र ठुलो मत रहेको छ । नेता भीम रावल, लिलामणि पोखरेल, देव गुरुङ लगायतका नेताहरु एमसीसीका बिपक्षमा छन् । तर प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने एमसीसी पारित गर्नुपर्ने पक्षमा छन् । स्थायी कमिटी बैठकमा एमसीसीमा सहमति जुट्न नसकेपछि पार्टी सचिवालयलाई जिम्मा दिइएको थियो ।

सचिवालयले पनि एमसीसीका बिषयमा निर्णय लिन सकेको छैन । केन्द्रीय समितिमा अध्यक्ष दाहालले यो बिषय आफ्नो राजनीतिक प्रतिबेदनमा राखेपनि एजेण्डाका रुपमा भने ल्याउने छैनन् । प्रचण्डले एजेण्डाका रुपमा नल्याएपछि कुरा उठाउने र केन्द्रीय समितिबाट फेल गराएर पठाउने गरी केही केन्द्रीय नेताहरु लागि परेका छन् । उनीहरुले केन्द्रीय सदस्यहरुसँग पनि छलफल गरिरहेका छन् । पहिला केन्द्रीय सदस्यहरुले भने संविधानअनुसार पार्टीमा पनि महिलाको सहभागीताको कुरा उठाउने भएका छन् । ‘संविधानले ग्यारेन्टी गरेपनि पार्टीहरुले महिला सहभागितालाई ग्यारेन्टी गरेका छैनन्,’ केन्द्रीय सदस्य रेखा शर्माले भनिन् ‘हाम्रो पार्टीमा मुस्किलले १६ प्रतिशत महिला सहभागिता छ, यो बिषयमा हामी कुरा उठाउँछौ ।’

प्रकाशित मिति : १४ माघ २०७६, मंगलवार १४:५१