बाँके । बाँकेको खजुरा गाउँपालिकास्थित मुसबेटवा बाबा मजार (धार्मिकस्थल) हिन्दु र मुस्लिम दुवैको आस्थाको केन्द्र हो । ‘हजरथ मुसा सा रामतुल्ला अलय’ र ‘मुसबेटवा बाबा’को नामले चिनिने उक्त मजारमा बर्षौदेखि दुवै धर्मावलम्बीले पूजा गर्दै आएका छन् । मजारमा हुने सामूहिक पूजाले दुवै धर्मावलम्बीबीच सद्भाव बढाएको छ ।
दैनिक पूजा हुने मजारमा बिहीबार र शुक्रबार भक्तजनको भीड लाग्ने गर्छ । मजारमा श्रीपञ्चमीका दिन वार्षिक रूपमा ठूलो मेला लाग्ने र विभिन्न धर्मावलम्बीले मेला भर्ने गरेका छन् । मेलाकै अवसरमा तीन वर्षदेखि एक साता लामो महोत्सवसमेत गरिँदै आएको छ । यस वर्षसमेत दस दिने महोत्सवको आयोजना गरिएको थियो ।
आस्था र विश्वासको धरोहर भएकाले पनि मजारमा सन्तान नभएकाले छोराछोरी प्राप्तिका लागि वर माग्ने गरेको खजुराका सन्तोष शर्माले बताए । कुनै समस्या परे समाधानका लागि प्रार्थना गर्न भक्तजन यहाँ आउने गरेको उनको भनाइ छ । विभिन्न रोगले पीडितसमेत मजारमा रोगमुक्तिका लागि प्रार्थना गर्न आउँछन् ।
मजारप्रतिको विश्वासले पूजाका लागि फरक धर्मका भक्तजन मजारमा आउने र धार्मिक– सामाजिक सद्भावको सन्देश प्रवाह गरेको उनले जनाए । स्थानीयले चन्दा संकलन गरेरै मजारको संरक्षण गरिरहेका छन् । वर माग्न दुवै धर्मावलम्बी बाँके र बर्दियाका अधिकांश स्थानबाट मात्रै नभई भारतबाट समेत आउने गरेका छन् ।
हिन्दु र मुस्लिमबीचको साझा धार्मिक सद्भाव बोकेको यस मजारमा आएर पुजाआजा गरे मनोकांक्षा पुरा हुने विश्वासका कारण दुवै समुदायका भक्तजनहरु यस मजारा दर्शन गर्न पुग्छन् । दुबै समुदायमा मुसबेटवा बाबासँग मागेको कुरा पुरा हुने धार्मिक विश्वास छ । सरस्वती पुजाका दिन यहाँ बाबाको दर्शन गर्न भन्दै हिन्दु र मुस्लिम दुवै धम्र्मालम्बीको भीड लाग्छ ।
हिन्दु र मुस्लिम धार्मिक सहिष्णुता झल्काउने ऐतिहासिक मुसबेटवा बाबा मजारलाई साझा धार्मिकस्थलका रुपमा लिनुका साथै धार्मिक सहिष्णुताका रुपमा हिन्दु र मुस्लिम समुदायको उच्च आस्था रहेको खजुराका युवा समाजसेवी सतिश निरौलाको भनाई छ । करिब ५५ बर्षभन्दा पहिलेदेखि मजारमा हिन्दु मुस्लिम दुबै समुदायले पुजाआजा गर्दै आएका छन् ।
‘यहाँ २०२३ सालदेखि नै हिन्दु र मुस्लिम समुदायले पुजाआजा गर्दै आएको किंवदन्ती रहेको छ,’ समाजसेवी निरौलाले भने । उनका अनुसार मुसवेटवा बाबासँग मागे पुरा हुने धार्मिक विश्वास हिन्दु र मुस्लिम दुबैमा रहेको छ । दुवै धर्मालम्बीहरुको आस्थाको केन्द्रका रुपमा धार्मिक र ऐतिहासिक महत्व बोकेको मजारको ऐतिहासिक महत्व दर्शाउन संरक्षण जरुरी रहेको समाजसेवी निरौलाले बताए ।
‘मजारले हिन्दु र मुस्लिमविच सद्भाव कायम गराएको छ । जहाँ दुवै धर्मालम्बीहरु पुजाआजा गर्छन्,’ उनले भने । यहाँ पुस्तौदेखि नै यो सदभाव र सहिष्णुता चल्दै आएको छ । मजारको नाम रहेको जग्गा अतिक्रमणले मेला लगाउने ठाउँ खुम्चिँदै गएको छ । हिन्दु र मुस्लिम समुदाय साझा धार्मिकस्थलका रुपमा रहेकोले मजारको संरक्षण गर्नुपर्ने ठुलो चुनौती रहेको सिर्जना भएको स्थानीयहरुको भनाई छ ।
मजारको धार्मिक तथा ऐतिहासिक महत्वलाई प्रचारप्रचार गर्न सकेमा आन्तरिक तथा पर्यटनको सम्भावना रहेको छ । ‘यो संसारकै यस्तो ऐतिहासिक महत्व भएको स्थान कमै पाइन्छ । जहाँ दुई धर्म आस्था जोडिएको हुन्छ,’ स्थानीय राम सोनकर भने, ‘यसको ऐतिहासिक तथा धार्मिक महत्वबारे प्रचारप्रसार गर्न स्थानीय तहले पनि ध्यान दिनुपर्छ ।’ हिन्दु र मुस्लिम दुवै समुदायका व्यक्तिले प्रत्येक बर्ष मुसबेटवा बाबालाई च्यादर चढाउँछन् ।
मुसवेटवा बाबालाई च्यादर चढाएमा मागेको कुरा पुरा हुने दुवै धर्मावलम्वीको विश्वास छ । चाहे हिन्दु होस् या मुस्लिम, दुवै समुदायलाई धार्मिकरुपमा मुसवेटवा बाबाले एकतामा बाँधेर आपसी सद्भावलाई बलियो बनाएको स्थानीयहरुको भनाई छ । मन्दिरका संरक्षक मो. कलिम शाहले दुवै धर्मका मानिसहरुले मुसबेटवा बाबाको पुजा गर्ने गरेको बताए । उनले भने, ‘२५ बर्षदेखि म यहाँ छु । यहाँ धेरै त हिन्दुहरु आएर च्यादर चढाउनुहुन्छ ।’
पहिले जङ्गल हुँदासमेत मानिसहरु आएर यहाँ मेला लगाउने गरेको बुढापाकाहरु बताउँछन् । स्थानीय ह्यात अलि बठुवाले भने, ‘मेरो तीन पुस्ताले यहाँ च्यादर बेचेको छ । बाजेले च्यादर बेच्नुभयो, बुवाले बेच्नुभयो, अहिले म पनि च्यादर बेच्दाबेच्दै बुढो भइसके । यो मजार कति पुरानो हो भन्ने एकीन छैन । यहाँ पहिले घना जङ्गल थियो रे, त्यही जङ्गलको बीचमा मजार । टाढा टाढा मेला भर्न यसबेला मान्छे आउथे भनेर मेरा बा बाजेले भन्नुहुन्थ्यो ।’
मनोकामना पूरा हुने विश्वाससहित भक्तजनले मिष्ठान्न, दक्षिणा र च्यादर चढाउने गर्छन् । बठुवाका अनुसार दुई छुट्टाछुट्टै धर्म मान्ने धर्मावलम्बीहरुको साझा भगवानका रुपमा मुसबेटवा बाबालाई लिइन्छ । यस मजारले ‘धर्म जे भए पनि भगवान सबैका एक हुन्’ भन्ने पनि देखाएको छ । साथै मुसबेटवा बाबाले दुई धर्मबीचको धार्मिक एकतालाई थप मजबुत बनाएको भन्ने पनि दर्साउँछ ।
मजारका नाममा रहेको साढे ६ कट्ठा र आसपासको १० कट्ठा ऐलानी जग्गा संरक्षण गर्नसके आयस्रोत बढ्ने देखिन्छ । स्थानीय प्रकाश महताराले खजुराको पहिचानका रूपमा मजारको विकास गर्न सके आसपासका जिल्ला र भारतबाट ठूलो संख्यामा भक्तजन आउने बताए । ‘फरक धर्मावलम्बीले आ–आफ्नो विधि अनुसार प्रार्थना गर्छन् । आफ्नो मनोकांक्षा पूरा हुने भएकाले दुवै धर्मावलम्बीको अगाध विश्वास मजारमा छ,’ उनले भने ।
सत्यपाटी ।