सूचनाको शक्ति - The Power Of Information

        

प्रहरीका यौनकाण्ड सतहमा, लुकाइँदै अनुसन्धान

सांकेतिक तस्वीर

सांकेतिक तस्वीर

काठमाडौं । नेपाल प्रहरीका अधिकृतका यौनकाण्डका विवरण सतहमा आउन थालेका छन् । परिबन्धमा पारेर केही युवतीलाई महिनौसम्म यौन शोषण गरेको, प्रहरी महिला कर्मचारीहरूसँग यौन सम्बन्ध कायम गरेको उजुरी प्रहरी प्रधान कार्यालयमा पर्नु यसका प्रमाण हुन् । तर त्यस्ता अधिकारीमाथि प्रहरीको छानबिन गर्ने उजुरी शाखाले कारबाही अगाडि नबढाउनुलाई आश्चर्यका रुपमा हेरिएको छ ।

प्रहरी महानिरिक्षक (आईजी) सर्वेन्द्र खनालले महिलामाथि हुने हिंसामा कुनै पनि छुट नहुने बताइरहेका बेला संगठनभित्रै ६ महिना, डेढ बर्षअघि भएका यस्ता उजुरीमाथि गम्भीर अनुसन्धान नभएको आरोप लाग्न थालेको छ । कतिपय प्रहरी अधिकारीको भने यौन सम्बन्ध स्थापित गर्नका लागि गरिएका प्रस्ताव, संवाद लगायतका अडियो प्रमाणसमेत बाहिरिसकेको अवस्थामा सस्पेन्समा राखेर अनुसन्धानको प्रक्रियासमेत अघि बढाइएको छैन ।

यस्ता प्रकरणमा जिम्मेवार अधिकारीले पनि उचित र न्यायीक प्रतिक्रिया नदिएको पीडितले गुनासो गर्न थालेका छन् । नेपाल प्रहरीमा यौन दुवर््यवहार गरेको आरोपमा एक डिएसपीले करिब डेढ महिनाअघि सेवा अवधि नपुगी राजीनामा दिएको बताइएको छ । जिल्ला प्रहरी मोरङमा कार्यरत रहेका डिएसपीले आफ्नो सेवा अवधि दुई बर्ष बाँकी हुँदा नै राजीनामा दिएका हुन् ।

गत बर्ष महानगरीय प्रहरी चापागाउँमा कार्यरत रहेका डिएसपी राजकुमार खिउजुलाई यौन दुवर््यवहारको आरोप लागेको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको विवरण विभिन्न मिडियाले सार्वजनिक गरेका छन् । २३ वर्षे युवतीले आफूलाई ६ महिना यौन शोषण गरेको आरोपसहित प्रहरी प्रधान कार्यालय उजुरी छानवीन शाखामा मुद्धा हालेपछि जागिर छाडेर सम्पर्कविहीन भएको बताइएको छ ।

प्रहरी प्रधान कार्यालयमा रहेको उजुरी छानवीन समितिले भने उनको फाइल लुकाएको छ । प्रहरी नायव महानीरिक्षक (डिआइजी) मनोज न्यौपानेको टेबुलबाटै सो फाइल हराएको बताइएको छ । चापागाउँ प्रहरी प्रमुख हुँदा ती किशोरी विदेश जानका लागि प्रहरी रिपार्ट बनाउन भन्दै डिएसपीको सम्पर्कमा पुगेकी थिइन् । प्रहरी रिपोर्ट चापागाउँ प्रहरीमा नबन्ने भएकाले उनलाई जावलाखेल प्रहरी परिसर लगिदिने बहानमा कोठामा पुर्याइ बलात्कार गरेको उजुरीमा उल्लेख थियो ।

‘निरन्तर छ महिनासम्म यौन शोषण गर्दा ति युवतीले किन उजुरी दिइनन् भन्ने प्रश्न पनि उठ्छ । तर, कसैलाई ललाई फकाई वा प्रलोभनमा यौन शोषण गरे पनि त्यसलाई बलात्कारमा राखेर हेर्न सकिने कानुनी प्रावधान हुन्छ,’ कानुनविज्ञ भन्छन् । महानगरीय प्रहरी परिसरमा उजुरी दिन गएकी ती युवतीलाई त्यहाँका एक डिएसपीले त्यतिकै फर्काएका थिए । पछि प्रहरी प्रधान कार्यालयमा पुगेर उजुरी दिएकी थिइन् ।

त्यसपछि खिउजु दम्पत्तीले ती किशोरीलाई भेटेर माफी माग्दै जे भन्यो त्यही गरिदिने आश्वसन दिए पनि किशोरीले मुद्धा फिर्ता नलिने बताएकी थिइन् । प्रहरी स्रोतका अनुसार हाल डिएसपी खिउजुलाई मिलाउन भनेर ललितपुर नेकपाका केही युवा नेताहरू अग्रसर भएका छन् तर खिउजु नै सम्पर्क विहिन भएकाले त्यो मुद्धा त्यतिकै प्रहरी प्रधान कार्यालयमा अलपत्र परेको छ ।

उता, हालैमात्र प्रहरीको विधि विज्ञान प्रयोगशालाका प्रमुख एसएसपी राकेश सिंहले पनि यौन शोषण गरेको भन्दै तीन जना महिला प्रहरी कर्मचारीले उजुरी दिएको चर्चामा छ । उक्त विषयमा पनि छानबिन हुन सकेको छैन । डेढ बर्षअघि देखिको उक्त उजुरी प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयको कार्यालयबाट गृह मन्त्रालय हुँदै प्रहरी प्रधान कार्यालयसम्म पुगेको बताइन्छ । तर, उक्त विषयमा पनि मिहिन ढंगले छानबिन नगरिएको दाबी गरिएको छ ।

प्रकाशित मिति : १४ माघ २०७६, मंगलवार ११:४३