
दाङ । चितुवाको छालासहित दाङमा दुई जना पक्राउ परेका छन् । जिप्रका दाङका अनुसार टाउकोदेखि पुच्छरसम्मको चितुवाको छालासहित दङ्गीशरण गाउँपालिका–१ का २४ वर्षीय चेतबहादुर पुन र सोही ठाउँका २४ वर्षीय सौगात घर्तीलाई पक्राउ गरिएको हो ।
चितुवाको छाला बोकी हिँडिरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले सोमबार साँझ घोराही उपमहानगरपालिका–१४ नयाँ बसपार्कबाट उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए । उनीहरुले बोकेको झोला खानतलासी गर्दा चितुवाको छाला बरामद गरिएको छ ।

यसैबीच, साढे दुई किलो चरेससहित दाङमा तीन जना पक्राउ परेका छन् । प्राप्त सूचनाका आधारमा उनीहरुलाई तुलसीपुर उपमहानगरपालिका–१२ शीतलपुरबाट सोमबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक खड्काले बताए ।
पक्राउ पर्नेमा रुकुमपश्चिम मुसिकोट नगरपालिका–२ रातामाटाका २१ वर्षीय अनिल पुनमगर, रुकुमपश्चिम आठबिसकोट नगरपालिका–९ का २८ वर्षीय भीमबहादुर सार्की र मुसिकोट नगरपालिका–६ का ४० वर्षीय बहादुर बोहरा रहेका छन् । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सत्यपाटी ।