सूचनाको शक्ति - The Power Of Information

        

दिगो विकास खोज्न धनगढीमा ‘विकास सम्मेलन’

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकाले आगामी फागुन १८ गते विकास सम्मेलनको आयोजना गर्ने भएको छ । धनगढीको सर्वागिण र योजनाबद्ध विकासको लागि उपमहानगरपालिकाले विकास सम्मेलन आयोजना गर्न लागेको हो । सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै उपमहानगरपालिकाले नगरभित्र रहेका विकासका सम्भावना र समस्याका विषयमा छलफलका लागि विकास सम्मेलन गर्न लागेको बताएको हो ।

धनगढी उपमहानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले राष्ट्रिय तथा अन्तरराष्ट्रिय सहयोगी संस्थाहरुले सामाजिक, आर्थिक, भौतिक विकास र वातावरणको संरक्षणमा मुख्य प्रोजेक्ट बैंकहरु प्रस्तुत गर्ने बताए । उनले सम्मेलनमा धनगढी शहरलाई बस्न योग्य दिगो शहरको रुपमा रुपान्तरण गर्न एउटा मेगा प्रोजेक्ट पनि प्रस्तुत गरिने बताए । सम्मेलनमा विशेषज्ञ तथा नीति निर्मातासँग बसेर धनगढी शहरलाई समुन्नत दिगो र बस्न योग्य कसरी बनाउने भन्ने विषयमा गहन छलफल हुने विश्वास नगर प्रमुख वडले ब्यक्त गरे ।

धनगढी नगरको योजनावद्ध बिकासका लागि यो सम्मेलन फलदायी हुने भन्दै उनले सन् २०३० भित्र दिगो बिकासको लक्ष्य हासिल गर्नका लागि तयारी भइरहेको जानकारी दिए । यस्तै विकास सम्मेलनमा नगरबासीहरुले भोग्नुपरेका समस्याहरुलाई सम्बोधन गर्न धनगढी शहरलाई बस्न योग्य दिगो शहरको रुपमा रुपान्तरण गर्न एउटा मेगा प्रोजेक्ट प्रस्तुत गरिने छ । नगरको विकासका लागि नागरिकसँग विकासका परियोजनाका लागि खुला आह्वान गरि उत्कृष्ट तीन जनालाई पुरस्कृत गरि पहिलो हुनेलाई आफ्नो परियोजना प्रस्तुत गर्न सम्मेलनमा अवसर दिइने जनाइएको छ ।

नगरको विकासका लागि ज्ञान र स्रोत बढाउनलाई विकासको साझेदारहरुको दायरा फराकिलो बनाईने लगाएतका विषयवस्तुहरु समावेश गरिने जस्ता बिषयवस्तु सम्मेलनमा प्रस्तुत हुने उपमहानगरपालिकाले जनाइएको छ । प्रस्तुत गरिने परियोजनाहरु सम्बन्धित क्षेत्रका बिशेषज्ञसँग समन्वय गर्दै दु्रत प्रभाव छोटो अबधि र लामो अबधि गरी तीन भागमा पहिचान गरिने बताइएको छ । प्रस्तुतिहरु सम्बन्धित क्षेत्रका बिशेषज्ञबाट प्रस्तुत गरी उपस्थित सबै सहभागीबीच बृहत छलफल गरि परियोजनालाई अन्तिम रुप दिइनेछ । दुई दिनसम्म सञ्चालन हुने सम्मलेनमा करिब १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १४ माघ २०७६, मंगलवार ०८:००