बाँके । नेपालगन्जको त्रिभुवन चौक, सडकभरी सयौंको संख्यामा मान्छेहरुको भीड । एकाविहानै भीडमा हराउँछ त्रिभुवन चोक । पहिलो पटक त्यो भीड देख्नेहरु अचम्ममा पर्छन् । न यहाँ कुनै सभा सम्मेलन, न त कुनै आन्दोलन नै हुन्छ । यहाँ त कामको खोजीमा जम्मा हुनेको भीड हुन्छ । त्यही भीडभित्र श्रमका बारेमा सोधीखोजी चलिरहेको हुन्छ ।
चोकको चारैतिर भीडभाड हुन्छ । विभिन्न ठाउँबाट कामको खोजीमा जम्मा हुने मजदुरहरुको भीडमा ठेकेदारहरुसँग श्रमका बारेमा मोलमोलाई भइरहेका दृष्यहरु देखिन्छन् । एकविहानैदेखि खाना बोकेर पुगेका मजदूरहरु आ–आफ्नै धुनमा ठेकेदारसँग मोलमोलाई गरिरहेका हुन्छन् । काम खोज्दै त्रिभुवन चोक पुग्ने मजदुरहरु हरेक दिन फरकफरक ठेकेदारसँग काम गर्न जाने गर्छन् ।
धेरै पहिलेदेखि नेपालगन्जको त्रिभुवन चोक बिभिन्न ब्यक्तिहरुका लागि कामको खोजी गर्ने र काम गर्न जाने माध्यम बन्दै आएको छ । त्रिभुवन चौकको सडकैभरी बिहानैदेखि कामदारहरुको भीड लागेको हुन्छ । सडकमा आवतजावतसम्म गर्न नसकिने गरी जताततै मजदुरहरु कामको आशमा उभिएको देखिन्छन् । कतिपय मजदुरहरु पसलको सटरमा आड लागेर बसेको देखिन्छ ।
यहाँ धेरै वर्षदेखि यो प्रक्रिया चल्दै आएको भएपनि यसको व्यवस्थापनका लागि न त स्थानीय सरकारको ध्यान गएको पाइन्छ, न त अन्य कुनै निकायले व्यवस्थापनमा पहल गरेको पाइन्छ । नेपालगन्जको श्रमबजारका रुपमा प्रयोग हँुदै आएको त्रिभुवन चोकमा मजदुहरुका लागि व्यवस्थित ठाउँ बनाउन आवश्यक भएको जो कोहीले महसुस गर्न सक्छन् ।
लामो समयदेखि काम खोज्ने माध्यम बनेको भएपनि मजदुरहरुलाई बस्ने व्यवस्था नहुँदा सडक र सडक पेटीमा उभिनुको बिकल्प नभएको मजदुरहरु बताउँछन् । हरेक दिन सयौंको संख्यामा जम्मा हुने मजदुरहरुलाई बस्ने ठाउँको व्यवस्थापन र शौचालयको व्यवस्थापनमा स्थानीय सरकारको ध्यान जान नसकेको उनीहरुको गुनासो छ ।
बिहान ६ वजेदखि १० बजेसम्म काम पाउने आशामा बस्ने मजदुरहरुका लागि शौच गर्ने शौचालय र बस्नका लागि उचित ठाउँको व्यवस्थापन नहुँदा त्रिभुवन चोक विहान अस्तव्यस्त हुन्छ । केही ब्यक्ति काम गर्ने मान्छेको खोजीमा गएपछि त्यो ब्यक्तिलाई घेर्न भीडनै लाग्छ । बस्ने ठाउँको उचित व्यवस्थापन र काम नपाउने समस्याले मजदुरहरुलाई सधैं पिरलो हुन्छ ।
बिहान पसलहरु नखुल्ने बेलासम्म सडकको पेटी र सटरको आडको प्रयोग गरिरहेका मजदुरहरु पसल खुलेपछि भाग्नुपर्छ । बर्दिया माछागढ घर भइ १५ बर्षदेखि कामदारको रुपमा नेपालगन्जमा बस्दै आएका प्रकाश चौधरीले पहिले पहिले सहजरुपमा काम मिल्ने गरेको भए पनि अहिले कामनै पाउन मुस्किल हुने गरेको बताए ।
बर्षौदेखि कामको लागि त्रिभुवन चोकमा धाउन बाध्य मजदुरहरु हरेक दिन फरक खाले ठेकेदार भेट्छन् । जस्तोसुकै काम पाए पनि गर्नैपर्ने भएकाले हरेक दिन काम गरेर गरेरै फर्किनुपर्ने कामदारहरुको बाध्यता नै हुन्छ । यहाँ हरेक दिन मजदुरहरु भेला हुने चलन बर्षौदेखिको कायम छ । ‘गाँउमा काम पाइँदैन, यहाँ आउँदा खाली बस्नुपर्दैन,’ मजदुर सुकीलाल थारु भन्छन् ।
राप्तीसोनारी–६ फत्तेपुरका सुकीलाल ठेकेदारको पर्खाइँमा रहेका त्रिभुवन चोकबाट ठेकेदारले लैजाने बेला बढी भन्ने तर ज्याला दिने बेलामा कम दिने गरेको गुनासो गर्नुहुन्छ । खाना बोकेर एकाविहानै त्रिभुवन चोक पुग्ने गरेका बर्दिया बढैयाताल गाउँपालिकाका राजाराम थारु पाए काम गर्ने नत्र त्यसै बस्नुपर्ने बाध्यता रहेको सुनाउँछन् ।
‘कति दिन त काम नै पाइँदैन, त्यसै घर फर्किनुपर्छ,’ राजारामले भने, ‘कहिले काम नै पाइँदैन, कहिले ठेकेदारसँग ज्यालामा कुरा मिल्दैन । कम नपाएको दिन घरखर्च चलाउन मुस्किल हुन्छ ।’ उनीहरुलाई सरकारले तोकेको भन्दा कम मुल्यमा काम गर्नुपर्ने बाध्यता छ । काम खोज्दै त्रिभुवन चौक पुग्ने अधिकांश मजदुर बाँके र बर्दियाका साथै भारतीयहरु हुन्छन् ।
बाँके गनापुरका मिस्त्री कालुराम चौधरी भन्छन्, ‘कामै नपाउने भएपछि कम मुल्यमै काम गर्नुपर्ने बाध्यता छ । प्रायः सधैं कम मुल्यमै काम गर्ने हो ।’ कालुरामले महिनामा मुस्किलले १७–१८ दिन काम पाउने गरेको बताए । मजदुरका बारेमा बोलिदिने कोही नहुँदा आफूजस्ता धेरे मजदुरहरुलाई दैनिक रोजीरोटी चलाउनै मस्किल हुने गरेको उनको भनाई छ ।
बर्दिया मैनापोखरका शिवकुमार थारु भन्छन्, ‘निर्वाचनका बेला भोट माग्न आउने नेताहरुले अब मजदुरलाई मालिक बनाउँछौं भन्छन्, निर्वाचनपछि फर्किदैनन् ।’ कामको खोजीमा हरेक दिन ६ बजेदेखि १० बजेसम्म सडकमा बस्ने गरेको बताउँदै शिवकुमारले भने, ‘काम नपाएपछि रित्तो हात घर फर्किनुपर्छ ।’
बर्दियाको राजापुर घर भई नेपालगन्जमा भाडामा बस्दै आएकी रिमा चौधरीले महीनाभर ८–१० दिनमात्रै काम पाउने गरेको बताइन् । रिमाले भनिन्, ‘हरेकदिन बिहानै कामको खोजीमा आउँछौं कहिले काम पाइन्छ, कहिले खाली फर्किनुपर्छ ।’ कामदारको भीड लाग्ने ठाउँमा कुनै बस्ने ठाउँसम्म नभएको रिमाले बताइन् ।
उनले भारतबाट आउने कामदारहरुको संख्यामा बृद्धि हँुदै जाँदा काम पाउन समस्या भएको बताइन् । रिमा भन्छिन्, ‘बिहान ६ बजेदेखि कामको खोजीमा मान्छे कुरेर बस्नुपर्छ ।’ नेपालगन्ज–१५ का रामचन्द्र यादवले काम पाइहाले पनि भनेअनुसार ज्याला नपाइने र पानीसम्म नखाएर काम गर्नुपर्ने बाध्यता रहे पनि मजदुरलाई कसैले नहेरेको गुनासो गरिन् ।
‘सडकमा उभिए ट्राफिकले लखेट्छ, पेटीमा बसे व्यापारीहरुले लखेट्छन्,’ उनले भनिन् । यहाँ नेपालका मात्रै नभएर काम खोज्न आउने भारतीय मजदुरहरुको संख्या पनि उत्तिकै छ । भारतको बाबागन्जबाट काम खोज्नै नेपालगन्जको त्रिभुवन चोक पुगेका बब्लु मिस्त्रीले महिनामा १५ दिनमात्र काम पाए पनि बाँकी दिन खाली बस्नुपरेको बताए ।
उनी विगत ५–६ वर्षदेखि १६ किलोमिटर लामो दुरी पार गरेर हरेक दिन यहाँ पुग्छन् । भारतको बाबागन्जका रसिद अहमद पनि कालीगढको काम गर्दै आएका छन् । उनले न्यून रकममा काम गर्नुपर्ने बाध्यता सुनाउँदै भने, ‘यहाँ निश्चित ज्याला हुँदैन । ठेकेदारसँग बार्गेनिङ्गकै आधारमा ज्याला निर्धारण हुने गर्छ । कहिलेकाहीँ कमै ज्यालामा काम गर्नुपर्छ ।’
नेपालगन्ज उपमहानगरपालिकासँग मजदुरहरुको व्यवस्थापनका लागि कुनै योजना छैन । समस्या समाधनका लागि उपमहानगरपालिकासँग कुनै योजना नभएको बताउँदै नगर प्रमुख डा.धवलसम्शेर राणाले भने, ‘मजदुरहरुलाई कसरी व्यवस्थापन गर्न सकिन्छ, उनीहरुको समस्या समाधानका लागि आगामी दिनमा ठोस योजना बनाउँछौं ।’
सत्यपाटी ।