बाँके । नेपालगन्ज उद्योग बाणिज्य संघ निर्वाचनमा अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’ अध्यक्ष पदमा निर्वाचित भएका छन् । शनिबार सम्पन्न निर्वाचनको मतगणनाको अन्तिम परिणाम अनुसार चुन्नाले निकटतम प्रतिद्वन्द्वी ललितकुमार रौनीयारलाई २७६ मतान्तरले पछाडी पार्दै विजयी भएका हुन् ।
चुन्नाले एक हजार ५१० मत प्राप्त गरे भने उनका प्रत्याक्षी ललितकुमार रौनियारले एक हजार २३४ मत प्राप्त गरेका छन् । अध्यक्षमा निर्वाचित चुन्ना विगत १३ बर्षदेखि निरन्तर संघको कार्यसमितिमा छन् । २०६३ सालमा संघको सदस्यता लिएका चुन्ना सदस्य, दुई उपाध्यक्ष र बरिष्ठ उपाध्यक्ष हुँदै अध्यक्षमा निर्वाचित भएका हुन् ।
आइतबार मध्यरात सार्वजनीक मत परिणाम अनुसार उद्योगतर्फको उपाध्यक्षमा आदेशकुमार अग्रवाल निर्वाचित भएका छन् । उद्योगतर्फका उपाध्यक्ष अग्रवालले निकटतम प्रतिद्वन्द्वी तपेन्द्रविक्रम शाहलाई १८ मतले पराजित गरेका हुन् । अग्रवालले एक हजार ३६५ मत ल्याएका छन् भने शाहले एक हजार ३४७ मत ल्याएका छन् ।
वाणिज्यतर्फको उपाध्यक्षमा अमितकुमार बस्नेत विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी ज्ञानेन्द्रकुमार श्रेष्ठलाई २५७ मतले पराजित गरेका हुन् । बस्नेतले एक हजार ४७६ मत ल्याएका छन् भने श्रेष्ठले एक हजार २१९ मत ल्याएका छन् । वाणिज्यतर्फको उपाध्यक्ष पदमा ६० मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचनमा फरक प्यानल बनाएर भिडेका ब्यवसायीहरुले मिश्रित परिणामसहित उम्मेद्वारहरुलाई निर्वाचित गरेका छन् । अध्यक्ष चुन्नाले समावेशी र प्रतिद्धन्दी रौनियारले साझा प्यानलबाट निर्वाचनमा सहभागिता जनाएका थिए । उपाध्यक्षमा अग्रवाल समावेशी र बस्नेत साझा प्यानलबाट उम्मेदवार बनेका थिए ।
सदस्य पदमा महिला उम्मेद्वार मन्दिरा पाण्डेले सबैभन्दा धेरै (१५४४) मत ल्याएकी छन् । त्यस्तै सदस्यमा श्यामसुन्दर अधिकारी (१५१७), चिरञ्जीवी ओली (१५०४), विजय भण्डारी ‘बासु’ (१४८१), टंकप्रसाद शर्मा (१४३०), टंकबहादुर धामी (१३८०), बिष्णुप्रसाद श्रेष्ठ (१३७५), धर्मराज अर्याल (१३६३), हरिलाल न्यौपाने (१३४५), भीमबहादुर रानाभाट (१३२३), टेकबहादुर खड्का (१२९०) र बिन्दु चर्ती मगर (१२६४) विजयी भएका छन् ।
बिन्दु चर्ती मगर, टंकप्रसाद शर्मा र टेकबहादुर खड्का साझा प्रजातान्त्रिक समुहबाट विजयी भएका हुन् । सदस्यमा एसोसियटतर्फ संजय अग्रवाल र दिपेन्द्र बिष्ट निर्वाचित भएका छन् भने बस्तुगततर्फ सलाउद्दीन जसगढ निर्वाचित भएका छन् । बस्तुगत सदस्यतर्फकै भिमलाल कँडेल र बद्री श्रेष्ठको बराबर मत आएको छ ।
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा निर्वाचित अध्यक्ष अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’सहित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलाई सत्यपाटी पब्लिकेशन प्रालिका तर्फबाट हार्दिक बधाई तथा कार्यकाल सफलताको भव्य शुभकामना व्यक्त गर्दर्छौ ।
सत्यपाटी ।