सूचनाको शक्ति - The Power Of Information

        

सहिदका तस्वीर साक्षी राखेर कसम

जाजरकोट । परिवारका ११ सदस्य गुमाएका नवनिर्वाचित राष्ट्रियसभा सदस्य मायाप्रसाद शर्मा गहभरि आँसु लिएर शनिबार बिहानै सुर्खेतबाट जाजरकोट पुगे । सदरमुकाममा पार्टी कार्यकर्ताको फूलमालासमेत ग्रहण नगरी हतारहतार भेरी नगरपालिका १, रिम्नास्थित सहिद स्मृति भवनमा पुगेर सहिदका तस्बिर साक्षी राखी मुट्ठी कसेर ‘तपाईंहरुको सपना मेरो मूलबाटो हो,’ भन्दै कार्यकर्तासामु उपस्थित भए ।

सदरमुकाम खलङ्गामा कार्यकर्ताको टीका र मालासमेत ग्रहण नगरी रिम्ना पुगेका शर्माले सहिदको तस्बिरमा माल्यार्पण गरेर मात्र समर्थक, कार्यकर्ताको टीका तथा माला ग्राहण गरेका थिए । भेरी १ मा मात्र जनयुद्धको समयमा ३५ जनाले ज्यान गुमाएका थिए । एकै वडाबाट दुई दर्जनभन्दा बढी मानिसको मृत्यु भएको नेपालकै पहिलो बस्ती रिम्ना र पिपे हो । जनयुद्धको समयमा जाजरकोटकमा ३ सयभन्दा बढीले ज्यान गुमाएका थिए ।

सबै ज्यान गुमाएका सहिदको तस्बिर रिम्नास्थित सहिद स्मृति भवनमा राखिएको छ । सहिद सम्झँदै रिम्ना पुगेका शर्माले एकै परिवारका सात आफन्त गुमाएकी ८२ वर्षीया अमृता खड्कासँग भेट गरी सहिदको बाटो नभुल्ने प्रतिबद्धता व्यक्त गरे । खड्काले शर्मालाई भने, ‘मेरो आफन्तले देखाएको बाटो र बाँकी कार्यभार पूरा गर्नु, मेरो अन्तिम इच्छा यही हो ।’

उनका यी वाक्य फुट्न नपाउँदै शर्माले गहभरि आँसु झार्दै भने, ‘मेरा आफन्त, हजुरका आफन्त सबैले लिएको बाटोमा लाग्ने र सफल बनाउने हजुरको चाहना अधुरो हुन दिन्नँ, मेरो सास रहुन्जेलसम्म सहिदकै बाटोमा लाग्नेछु ।’ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कर्णाली प्रदेशका सचिवसमेत रहेका शर्माले नेपालकै पहिलो जनयुद्धका सहिद मानबहादुर ओली र मानवबहादुर रावल भए पनि त्यतिबेला सूचना र सञ्चारको अभावले छुटेका बताए ।

के चाहन्छन् रिम्ना–पिपेवासी ?

जनयुद्धमा ३५ आफन्त गुमाएका भेरी नगरपालिका–१, रिम्ना र पिपेका स्थानीयले सहिदको सपना पूरा गर्न आग्रह गरेका छन् । आफू बाँचेर मात्र हुँदैन, देश बचाउनु पहिलो सर्त भएको भन्दै रिम्नाका जयबहादुर रानाले भने, ‘देशमा हाम्रा आफन्तले गरेको बलिदानी खेर नजाओस्, हाम्रो पहिलो माग त्यही हो, कसैको माया र दयाले यो परिवर्तन आएको होइन, हाम्रा आफन्तको रगतको खोला बगेको छ ।’

जनयुद्धको समयमा बडालेखमा चार सयभन्दा बढी स्थानीयको घरमा हेलिकोप्टरबाट बम हान्दा बस्ती खरानी भएको थियो । शान्ति स्थापनासँगै रिम्ना र पिपेलाई नमुना बस्ती बनाउने भन्दै तत्कालीन शान्ति तथा पुनर्निर्माणमन्त्री सत्या पहाडीकै पहलमा शान्तिका लागि द्वन्द्वरत कार्यक्रममार्फत विद्युत, खानेपानी र अन्य आधारभूत सेवा उपलब्ध गराउने योजना बनाइएको थियो । अहिले यहाँका स्थानीयको माग द्वन्द्वको घाउ मेट्न विकास र समृद्धि आवश्यक रहेको नेकपाका वडाध्यक्ष ढकवीर रानाले बताए । रासस

प्रकाशित मिति : १२ माघ २०७६, आइतवार १५:१९