बाँके । कालीकोट तिलागुफा नगरपालिका उपमेयर दन्ता नेपाली (दर्शना) सम्पर्कमा आएकी छन् । कात्तिकमा गोष्ठीका लागि अमेरिका पुगेर सम्पर्कविहीन भएकी नेपालीले आइतबार सामाजिक सञ्जालमा लामो स्ट्याटसले लेख्दै आफू नलुकेको बरु बिरामी भएर थला परेको प्रस्टीकरण दिएकी छन् ।
दर्शना गत कात्तिकमा इन्टरनेसनल सिटी मेनेजेर एसोसिएसन (आईसीएमए)ले आयोजना गरेको गोष्ठीमा भाग लिन अमेरिका पुगेकी थिइन् । गोष्ठी सकिएलगत्तै गम्भीर प्रकृतिको बिरामी परेको र उपचार गर्न समेत खर्च नभएकी बताएकी छिन् ।
गत नोभेम्बरदेखि निष्क्रिय रहेको फेसबुक एकाउन्ट खोल्दै उनले लेखेकी छन्, ‘म हराएको पनि छैन । म कतै लुकेको पनि छैन । म मेयर रत्नबहादुर शाहीलाई जानकारी नदिएर पनि आएको होइन, उहाँले नै भ्रमण स्वीकृत गरेर आएको हो ।’
उनले ओह्रालो लागेको मृगलाई जसले पनि खेद्छ भन्ने लौकिक उक्तिको सहारा लिँदै बिरामी भएकाले बेला पनि नछाडिएको दुखेसो पोखेकी छन् । सम्पर्कविहीन नभएको बरु अमेरिकाबाट बार बार फोन गर्दा कार्यालय र मेयरको फोन नउठेको दर्शनाको गुनासो छ ।
मेयर शाहीले दन्ता बिरामी भएको जानकारी पाएको तर फर्कने/नफर्कने टुंगो नभएको बताएका थिए । दन्ताले तिलागुफा नगरपालिकाका प्रशासकीय अधिकृत र वडाध्यक्षसँग पनि सम्पर्क भएको तर कुनै प्रतिक्रिया नआएको बताएकी छन् । नगरको खर्चमा अमेरिका नगएको र अहिले सरकारको खर्चमा उपचार गर्ने कुनै चाहना नभएको उनको प्रस्टीकरण छ ।
‘मैले सोचें म बरु मर्छु तर सरकारी पैसामा उपचार गर्दिनँ । माग्दिनँ पनि । किनकि मलाई मेरो प्लेन टिकटको पैसा त दाजुहरू प्रभात, काशीप्रसाद पाण्डे, भाउजू सुनीता पाण्डेले हाल्नुभएको हो तेसैले मागिनँ,’ उनले भनेकी छन् ।
सत्यपाटी ।