कञ्चनपुर । राष्ट्रिय मुक्त हलिया समाज महासङ्घ नेपालले लुथरन विश्व फेडरेशनको आर्थिक एवम् प्राविधिक मुक्त ‘हलियाको एकीकृत तथ्याङ्क पुस्तिका २०७६’ लाई प्रकाशनमा ल्याएको छ । विभिन्न स्थानीय तहले सङ्कलन गरी पठाएका तथ्याङ्कलाई दस्तावेजका रूपमा राख्न र ती तहलाई मार्गदर्शनका रूपमा रहने गरी पुस्तिका प्रकाशन गरिएको सम्पादक हरिसिंह बोहराले जानकारी दिए ।
‘पुस्तिकामा स्थानीय तहले सङ्कलन गरी पठाएका विवरणलाई जस्ताको त्यस्तै अभिलेखीकरण गरेका छौँ,’ उनले भने, ‘पुस्तिकामा मुक्त हलिया लगतमा छुट्नुको कारणसमेत उल्लेख गरिएको छ ।’ बैतडीको दशरथचन्द नगरपालिकामा ५०२, पाटन नगरपालिकामा ८२३, शिवनाथ गाउँपालिकामा ५७८, सुर्नया गाउँपालिकामा ४१७, सायल गाउँपालिका डोटीका ७५०, नवदुर्गा गाउँपालिका डडेल्धुरामा १७१, भागेश्वर गाउँपालिकामा ५८ र गन्यापधुरा गाउँपालिकामा ४२२ परिवार मुक्त हलियाको तथ्याङ्क समावेश गरिएको छ ।
पुस्तिकामा बैतडी, डोटी र डडेल्धुराका छुट हलियाको तथ्याङ्क राखिएको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा बसोबास गर्ने लगतमा समावेश हुन नसकेका मुक्त हलियाको तथ्याङ्क उपलब्ध गराएमा निरन्तररूपमा अभिलेखीकरण गर्दै लैजाने सम्पादक बोहराले जानकारी दिए । महासङ्घका अध्यक्ष ईश्वर सुनारले मुक्त हलिया पुनःस्थापनाको काम छिटो सम्पन्न गर्न सरकारसंग आग्रह गरे । ‘नेपाल सरकारले मुक्त हलिया पुनःस्थापनकार्यलाई छिटो सम्बोधन गर्नुपर्छ,’ उनले भने, ‘३८ प्रतिशत मुक्त हलियाको पुनःस्थापनको काम बाँकी छ ।’
सरकारले विसं २०६५ भदौ २१ गते हलिया मुक्तिको घोषणा गरेको थियो । लगत लिने क्रममा पूर्व मालिकको डर, त्रास, तत्कालीन गाविस सचिवहरुको असहयोग, रोजगारीका सिलसिलामा स्वदेश तथा विदेशमा रहेका, सूचना अभावका कारण सुदुरपश्चिम र कर्णाली प्रदेशका मुक्त हलियाको तथ्याङ्कमा छुट हुन गई राहत पाउन नसकेको जनाइएको छ ।सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका १२ जिल्लाका अन्य स्थानीय तहलाई छुट मुक्त हलियाको लगत सङ्कलन गरी पुनःस्थापना कार्य अगाडि बढाउन लागि महासङ्घले मागसमेत गरेको छ ।
समावेशीकरणसम्बन्धी नीतिमा मुक्तकमैया, कम्हलरी, हरवा, चरवा, हलिया, भूमिहीन, सुकुम्वासीको पहिचान गरी बसोबासका लागि घर–घडेरी तथा जीविकोपार्जनका लागि कृषियोग्य जमीन वा रोजगारीको व्यवस्था गर्दै पुनःस्थापना गर्ने संवैधानिक व्यवस्था रहेको छ । स्थानीय सरकार सञ्चालन ऐनमा आर्थिक तथा सामाजिक रुपमा पछाडि पारिएका समुदायको अभिलेख राखी आर्थिक तथा सामाजिक उत्थानसम्बन्धी कार्य गर्ने र हलिया प्रथाका अन्त्य गर्ने लगायतका प्रावधान रहेको छ । रासस
वर्षा र शीतलहरले हिउँदे बाली नष्ट
बर्दिया — वर्षा र शीतलहरले जिल्लामा हिउँदे बाली र तरकारी खेतीमा ठूलो क्षति पुगेको छ । यसअघि फौजी कीरा र दाना नलागेको धानबाट पनि पीडित किसान दोहोरो मारमा परेका हुन् । वर्षाले आलु सडेको छ भने शीतलहरले केराउ, तोरी, मसुरो र चनाका बोट मरेका छन् ।
पुसमा पहिलोपल्ट पानी पर्दा किसान खुसी थिए । तर, पछिल्लो दुई दिनको वर्षाले भने निकै क्षति र्पुयाएको हो । गहिरो खेतमा लगाइएको गहुँमा पनि क्षति पुगेको बाँसगढी नगरपालिका मोतीपुरका किसान आशाराम चौधरीले बताए । ‘एकचोटि पानी पर्दा बाली फस्टाएको थियो । पछि फेरि परेपछि पानी जमेर बोट पहेँलो भई मरिरहेका छन्,’ उनले भने, ‘आलु, मुलालगायतका बोट पनि बढी पानी भएर सडेका छन् ।’ अझै मौसम सुधार नभएकाले थप क्षति हुन सक्ने त्रास किसानमा छ ।
कृषि ज्ञानकेन्द्र नेपालगञ्जका प्रमुख सागर ढकालका अनुसार वर्षा र शीतलहरले ५० प्रतिशतभन्दा बढी हिउँदे बालीमा क्षति पुगेको छ । ‘अझै पनि पानी पर्लाजस्तो मौसम देखिन्छ । अब पानी र्पयो भने गहुँ बाली पनि सकिन्छ,’ उनले भने । बर्दियाका किसानले भारतीय सौरभ प्रजातिको धान लगाएका थिए । तर, यहाँको वातावरणलाई थेग्न नसकेका धानमा दाना लागेको थिएन । उक्त प्रजातिको धानको बीउ नेपालमा हालसम्म सिफारिस भएको छैन । तर, धेरै उत्पादन हुने भन्दै किसानले नजिकैको एग्रोभेट र भारतबाट किनेर रोपाइँ गरेका थिए । सौरभ धान सयौं बिघामा लगाइएको थियो । फल नलागेपछि किसान मारमा परेका थिए ।
सत्यपाटी ।