बाँके । नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी नेतृत्वका लागि आज निर्वाचन हुँदैछ । संघको निर्वाचनका लागि दुई समुह चुनावी मैदानमा होमिएका छन् । आज हुने नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमार्फत आगामी तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन हुनेछ ।
नेपालगन्ज–१२ कोरियनपुरस्थित भेरी प्राविधिक शिक्षालयमा शनिबार विहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ । संघका अध्यक्ष नन्दलाल बैश्यका अनुसार निर्वाचनलाई भव्य र सभ्य बनाउन सबै तयारी पुरा भएको जनाएका छन् । निर्वाचन सफल बनाउन टिकाजंग शाहको नेतृत्वमा ६० सदस्यीय मुल निर्वाचन समिति गठन गरिएको छ ।
‘तीन हजार ४६ मतदाता रहेको संघका लागि हालसम्म दुई हजार ६०० ले मतदाता परिचय पत्र लगिसकेका छन् । अध्यक्ष वैश्यले भने, ‘निर्वाचनमा कोही पनि नछुटुउन भन्ने उद्देश्यका साथ तयारी गरिएको छ । परिचयपत्र लिन बाँकी उद्योगी, व्यापारीको हितलाई मध्यनजर गर्दै शनिबार विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदाता परिचय पत्र प्रदान गरिनेछ ।
साझा प्रजातान्त्रिक उद्योगी व्यसायीका तर्फबाट सुनिलकुमार शर्मा र समावेसी प्यानलका तर्फबाट कृष्ण्प्रसाद श्रेष्ठको रोहवरमा संघको हलबाट मतदाता परिचय पत्र प्रदान गरिने संघले जनाएको छ । यद्यपी मतदाता परिचयपत्र ल्याउन र लग्न छुटेकालाई नेपाल सरकारले दिएको परिचय खुल्ने आधारबाट मतदान गराइने संघका अध्यक्ष वैश्यले जानकारी दिए ।
संघको निर्वाचनमा अव्दुल वाहिद मन्सुरी ‘चुन्ना’ले समावेशी प्यानलको नेतृत्व गरेका छन् भने ललितकुमार रौनियारले साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहको नेतृत्व गर्दै चुनावी मैदानमा होमिएका छन् । संघको निर्वाचनबाट नयाँ नेतृत्व छान्नका लागि नेपालगन्जका उद्योगी व्यवसायीहरु बीच चुनावको सरगर्मी बढेको छ ।
‘चुन्ना’ नेतृत्व समाबेशी प्यानलबाट वाणिज्यतर्फको उपाध्यक्षमा ज्ञानेन्द्र श्रेष्ठ र उद्योगतर्फको उपाध्यक्षमा आदेश अग्रवाल चुनावी मैदानमा छन् भने रौनियार नेतृत्वको साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहका तर्फबाट उद्योगतर्फको उपाध्यक्षमा तपेन्द्रविक्रम शाह र वाणिज्यतर्फको उपाध्यक्षमा अमित बस्नेत चुनावी मैदानमा छन् ।
समावेशी प्यानलका तर्फबाट सदस्यमा टंक धामी, अब्दुल वाहिद अन्सारी, श्यामसुन्दर अधिकारी, चिरञ्जीवी ओली, हरिलाल न्यौपाने, राजेश बैश्य, धर्म अर्याल, बिजय भण्डारी ‘बासु’, जहाँगिर मुसलमान, सुनिल बाँनिया ‘पप्पु’, मन्दिरा पाण्डे र भीमबहादुर रानाभाट चुनावी मैदानमा उत्रिएका छन् ।
त्यस्तै साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहका तर्फबाट सदस्यमा अजयकुमार टण्डन, सुुनिल सिंघल, बिन्दु चर्तीमगर, टेकबहादुर खड्का, बदरूदिन अन्सारी, बिष्णुप्रसाद श्रेष्ठ, टंकप्रसाद शर्मा, मख्खनबहादुर धामी, सन्तोषकुमार बैश्य, तेजनारायण कँडेल, दिपेन्द्रराज श्रेष्ठ र सुरेन्द्रसिंह सरदार उम्मेद्वार बनेका छन् । निर्वाचनबाट मतपरिणाम आफ्नो पक्षमा पार्न दुवै प्यानल सक्रियरुपमा लागेका छन् ।
सत्यपाटी ।