‘कामप्रतिको लगाव र परिश्रमले जुनसुकै क्षेत्रमा सफल भइन्छ’ भन्ने उदाहरण युवा देउडा गायिका रेखा जोशी बनेकी छन् । पछिल्लो समय उनले आफूलाई सुदूरपश्चिमको देउडा क्षेत्रमा अब्बल सावित गराउन सफल भएकी छन् । पाँच वर्षअघि मात्रै देउडा गायन क्षेत्रमा उनी प्रवेश गरेकी हुन् ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखाल निवासी उनलाई कर्णप्रिय देउडा गीत सुन्न रुचाउने श्रोताले औधि मन पराउँछन् । उनी सुदूरपश्चिमका देउडा पारखीको मनमनमा पस्न सफल भएकी छन् । उनले पाँच वर्षको अवधिमा ७०० भन्दाबढी देउडा, लोक तथा सुदूरपश्चिमको ठाँडी भाकामा स्वर दिइसकेकी छन् ।
उनले विक्रम संवत् २०७१ सालमा ‘घुटुक्क बाडुली लाग्या’ बोलको गीतमा पहिलोपटक स्वर दिएकी थिइन् । यसपछि देउडा गीत बजारमा आउने क्रम रोकिएको छैन । ‘तीन वर्षअघि बजारमा आएको ‘मैना’ एल्बमले सुदूरपश्चिमको देउडा क्षेत्रमा मलाई परिचित गरायो,’ उनले भनिन्, ‘मैना गीत युटुबमा समेत २६ लाखभन्दा बढीले हेरे ।’
उनी काठमाडौंको शंकरदेव क्याम्पसमा स्नाकोत्तर तहको अध्ययन गायिका जोशी यतिबेला सुदूर र कर्णाली प्रदेशका भइरहेका मेला महोत्सवको कार्यक्रममा व्यस्त रहेका छन् । ‘देउडाले पनि सुदूरपश्चिमलाई मुलुकभर चिनाएको छ,’ उनले भनिन्, ‘विदेशमा पनि नेपाली देउडा भन्नासाथ हुरुक्कै हुन्छन् ।’
प्रदेशको पीडा, सुदूरपश्चिमको कला, संस्कृतिलाई संरक्षण एवं सम्वद्र्धनमा समेत देउडा गीत सहयोग बन्दै आएको र आफू सुदूरपश्चिमका पर्यटकीय स्थलको समेत सांगीतिक यात्रामार्फत प्रचारप्रसारमा जुटिरहेको उनले बताइन् । ‘भारतको दिल्ली, बैंग्लोर, मुम्बैदेखि कतार, दुबई, कोरियासम्म देउडा गायनका क्रममा पुगेकी छु,’ उनले भनिन्, ‘गायनबाट अध्ययनलाई प्रभावित हुन दिएको छैन ।’
हाल सुदूरपश्चिम प्रदेशको लोकदोहरी प्रतिष्ठानको सदस्यसमेत रहेकी गायिका जोशीले आफू स्कूले समयदेखि नै गायनमा बुबाआमासँगै लागेको बताइन् । ‘बुवा र आमा पनि देउडा गीत राम्रै गाउनुहुन्थ्यो,’ उनले भनिन्, ‘दुवै दाजुहरूले पनि गायनका क्रममा स्टुडियो र्पुयाउनसम्म ठूलो सहयोग गरे ।’
करीब तीन वर्ष महेन्द्रनगरको स्थानीय रेडियोमा कामसमेत गरेकी जोशीलाई विगत केही वर्षयता हरेक सांगीतिक तथा सांस्कृतिक कार्यक्रममा स्थान दिँदै आइएको छ । ‘बैंकिङ क्षेत्रमा जाने ठूलो चाहना थियो,’ उनले भनिन्, ‘देउडा यहाँको संस्कृति भएकाले पनि हामी युवा पुस्ता यसको जगेर्नामा लाग्नुपर्छ ।’
पछिल्लो समय देउडा गायन क्षेत्रमा निकै सक्रिय र व्यस्त रहेकी जोशीले लोप हुन लागेको देउडामा नयाँ क्रेज थपिएको बताइन् । ‘युवापुस्ता पनि देउडामा नयाँपन ल्याउँदा झम्मिरहेको देख्छु,’ उनले भनिन्, ‘गायनबाटै सम्मान र दामसमेत पाएकै छु ।’
पछिल्लो समय युवापुस्तामाझ निकै लोकप्रिय बनेका देउडा गायक लालबहादुर धामी (अछामी बड्डो) गायिका रेखा जोशी छोटो समयमै सफल कलाकारका रुपमा लिन्छन् । ‘देउडामा थोरै समयमा रेखाले राम्रो प्रगति गरिँन,’ उनले भने, ‘रेखालाई यहाँका अग्रजको पनि साथ र सहयोग छ ।’ रासस
सत्यपाटी ।