काठमाडौं । यही माघ २२ देखि २९ गतेसम्म त्रिभुवन विश्वविद्यालय (टियु) मैदान कीर्तिपुरमा आयोजना हुने आइसीसी विश्वकप क्रिकेट लिग २ का लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार मुख्य प्रशिक्षक उमेश पटवाल र प्रशिक्षक जगत टमाटाको सल्लाहमा १४ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको हो ।
ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको नेपाली टोलीमा कुशल मल्ल र कमलसिंह ऐरीले पहिलो पटक स्थान बनाएका छन् । अनुभवी खेलाडी सोमपाल कामी र बसन्त रेग्मीलाई यसपटक आराम दिइएको छ । सोमपाल स्वास्थ्यका कारण र बसन्त पारिवारीक कारणले प्रशिक्षण क्याम्पमा समेत सहभागी थिएनन् ।
नेपाली टोलीमा दिपेन्द्र सिंह ऐरी (उपकप्तान), पारस खड्का, सन्दीप लामिछाने, करण केसी, आरिफ शेख, विनोद भण्डारी, अविनाश बोहोरा, कुशल मल्ल, कमलसिंह ऐरी, सुसान भारी, रोहित पोडैल, शरद भेषवाकर र ललितनारायण राजवंशी रहेका छन् । तीन देश सम्मिलित आइसीसी विश्वकप क्रिकेट लिग २ नेपाल, ओमन र अमेरिकाले प्रतिस्पर्धा गर्दैछन् ।
खेल तालिका
माघ २२ – नेपालविरुद्ध ओमान
माघ २३ – ओमानविरुद्ध अमेरिका
माघ २५ – नेपालविरुद्ध अमेरिका
माघ २६ – नेपालविरुद्ध ओमान
माघ २८ – अमेरिकाविरुद्ध ओमान
माघ २९ – नेपालविरुद्ध अमेरिका
सत्यपाटी ।