कालिकोट । अमेरिकामा आयोजित एक गोष्ठीमा सहभागी हुन अमेरिका गएकी कालिकोटको एक नगरपालिकाकी उपमेयर उतै ‘हराएकी’ छिन् । नगरपालिका संघमार्फत् अमेरिकामा आयोजित गोष्ठीमा गएकी तिलागुफा नगरपालिकाकी उपमेयर दन्ता नेपाली त्यहाँ गइसकेपछि बेखबर रहेको जनाएको छ ।
तिलागुफाका मेयर रत्नबहादुर शाहीले अमेरिका पुगेपछि कुनै खबर नगरेको भन्दै उपमेयरले अमेरिका गोष्ठीमा सहभागी हुन आफ्नो नाम परेको भनेपछि नगरबाट स्वीकृति दिइएको तर गएपछि कुनै जानकारी नगराएको बताए । उपमेयर नेपाली गत कात्तिक महिनामा कार्यक्रममा भाग लिन अमेरिका गएकी थिइन् ।
उपमेयर अमेरिका पुगेपछि एक पटकमात्र टेलिफोन सम्पर्क भएको मेयर शाहीले बताए । उनका अनुसार टेलिफोनमा उपमेयरले ‘आफू बिरामी भएकाले फर्किन नसकेको’ बताएकी थिइन् । ‘उहाँ गइसकेपछि एक पटक टेलिफोनमा कुरा भएको हो, त्यसबेला बिरामी छु भन्नुभएको थियो,’ मेयर शाहीले भने, ‘त्यसपछि कुनै जानकारी छैन ।’
उपमेयर नहुँदा अधिकांश योजनाको अनुगमन तथा मूल्यांकन प्रभावित हुँदा भुक्तानी दिन समस्या भएको मेयर शाहीले बताए । २०७४ को स्थानीय तह निर्वाचनमा तत्कालीन माओवादी केन्द्रबाट उपमेयरको उम्मेदवार बनेकी नेपाली एक हजार ८४३ मत ल्याएर निर्वाचित भएकी थिइन् ।
सत्यपाटी ।