बाँके । गाडीले लगेर फोहर खसाउँछ, जेसीभीले त्यसलाई फिजाउँछ । कर्मचारीहरुले कुहिने र नकुहिने फोहरलाई छुट्याउँछन् । सिसा, प्लाष्टिक, बोतल, टायर एकातिर राखिन्छ, अरु कुहिने फोहरलाई अर्कोतिर । यी हुन् नेपालगन्जमा ‘ल्याण्डफिल साइट’ सञ्चालनमा आएपछि फोहर व्यवस्थापनमा देखिने दृष्यहरु ।
भौतिक पूर्वाधारको विकाससँगै शहरीकरण बढ्दै गए । गाउँहरु शहर बन्दै जाँदा फोहर व्यवस्थापन मुख्य चुनौति बन्यो । नेपालगन्ज उपमहानगरपालिकाको क्षेत्र बढ्दै जाँदा मानव शौचालय तथा घरबाट निस्कने र गल्ने फोहर कुने बेला टाउको दुखाई भएको थियो । तर अहिले ‘ल्याण्डफिल साइट’ सञ्चालनमा आएपछि त्यो समस्या हल भएको छ ।
बजारबाट संकलन हुने फोहरमा ७० प्रतिशत कुहिने हुन्छन् । कुहिने फोहर (जैविक फोहर)बाट कम्पोष्ट मल बनाइन्छ । झण्डै ६ दशकसम्म फोहर फाल्ने ठाउँकै खोजीमा समय बिताएको नेपालगन्ज उपमहानगरपालिका ‘ल्याण्डफिल साइट’ बनेपछि फोहर व्यवस्थापनका लागि खेप्नु परिरहेको आलोचनाबाट मुक्त भएको छ ।
एशियाली विकास बैंक (एडीबी)ले ‘ल्याण्डफिल साइट’ बनाइदिएपछि नेपालगन्ज उपमहानगरको सपना गत भदौमा सार्थकतामा पुग्यो । एबीबीले उपमहानगरले ‘ल्याण्डफिल साइट’ बनाइदिएर ठूलो गुन लगायो । फाल्ने ठाउँ नभएर बजारको फोहर नउठ्ने समस्या अन्त्यसँगै एडीबीले उपमहानगरलाई ‘फोहरबाट मोहर फलाउन सकिने’ सपना पनि देखायो ।
उपमहानगरपालिकाले त्यो सपना पूरा गर्न व्यवस्थापन मिलाए पुग्छ । संरचनाहरु त एडीबीले बनाइदिएकै छ । ‘ल्याण्डफिल साइट’मा पुग्ने जो कोहीले फोहरबाट मोहर फल्दै गरेको देखिन्छ । मुखमा मास्क लगाएका कर्मचारीले खुरुखुरु मोहर टिपिरहेकोजस्तो लाग्छ । नेपालगन्जमा संकलन हुने दैनिक करिब ३२ टन फोहोरलाई १७ वटा गाडीले ‘ल्याण्डफिल साइट’सम्म पुग्छ ।
‘ल्याण्डफिल साइट’ सञ्चालनमा आइसकेपछि बनेको कम्पोष्ट मल बोरामा जम्मा गरेर राखिन्छ । धेरै कम्पोष्ट मल बनाएर जम्मा गरिसकेपछि बिक्री गर्ने गरेको ठेकेदार कम्पनीका कर्मचारी शिव लामिछानेले बताए । ठेकेदार कम्पनीका कर्मचारी लामिछानेका अनुसार सिसा, प्लाष्टिक, बोतल, टायर बेचेर मासिक करिब रु.३०÷४० हजार आम्दानी भइरहेको छ ।
कामै नलाग्ने फोहरलाई खाल्टोमा गाडिन्छ । नेपालगन्ज उपमहानगरपालिकाका सरसफाई शाखाका अधिकृत अशोक केसीका अनुसार, सात प्रतिशत फोहर खाल्डोमा गाड्ने गरिएको छ । रु.३८ करोड बढीमा बनेको ‘ल्याण्डफिल साइट’ले नेपालगन्ज उपमहानगरपालिकाको फोहर व्यवस्थापनसँगै त्यसबाट पैसा कमाउने बाटो पनि देखाइदिएको छ ।
हुन त फोहरबाट मोहर झिक्न त्यति सजिलो छैन । बजारमा निस्किने फोहरलाई कम्पोष्ट मल बनाएर बेच्दा साँच्चै नै मोहर फल्नेमा दुईमत छैन । फोहरबाट मोहर फलाउने साधन ‘ल्याण्डफिल साइट’मै तयार छ । अब उपमहानगरले बजार क्षेत्र (साविकको १७ वडा)मात्रै होइन, अन्य वडाबाट पनि फोहर सबै ‘ल्याण्डफिल साइट’मा पु¥याएर कम्पोष्ट मल बनाउँछ ।
फोहर व्यवस्थापनको महत्वपूर्ण पाटो फोहर उत्पादन गर्ने पक्ष सचेत रहेकाले पनि उपमहानर फोहर व्यवस्थापनमा ‘अब्बल’ बन्दै गएको बताउँछन्, नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा.धवलसम्शेर राणा । ‘नागरिकको सहयोगले नै हामी सफल भयौं । उहाँहरु सचेत हुनुहुन्छ, बाटोमा तथा सार्वजनिक ठाउँमा फोहर फाल्नुहुन्न,’ उनले भने ।
उपमहानगरपालिकाले मानव शौचालय तथा घरबाट निस्कने र गल्ने फोहरलाई कम्पोष्ट मलका लागि प्रयोग गर्दै आएको छ । कागज, काँच, प्लाष्टिक र धातुजन्य फोहर छुट्याएर बिक्री गरिरहेको छ । घरबाट निस्कने फोहरको मात्रा घटाउन उपमहानगरपालिकाले सचेनताका कामहरुसमेत गरिरहेको उपमहानगरका सूचना अधिकारी शरद पौडेल बताउँछन् ।
सत्यपाटी ।