सूचनाको शक्ति - The Power Of Information

        

थारु अगुवाको आक्रोश : ज्यान मुद्दाका अग्नी सभामुख अनि रेशम किन जेलमा ?

धनगढी । थरुहट थारुवान राष्ट्रिय मोर्चाले कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम चौधरी लगायत जेलमा रहेका ११ जनाको मुद्धा फिर्ता गरी जेलमुक्त गर्नुपर्ने बताएको छ । मोर्चाले टीकापुर घटनाको छानबिन गर्न बनेका समितिहरुले बनाएको प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरेको छ ।

मोर्चाका संयोजक लक्ष्मण थारुले २० दिनभित्र आफ्ना मागहरु पुरा गर्न सरकार तयार रहनुपर्ने बताएका छन् । उनले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अग्नी सापकोटालाई सभामुखमा सिफारिस गरेको प्रति संकेत गर्दै अदालतमा ज्यानमुद्धा चलिरहेकालाई सभामुख बनाउने तर झुठा मुद्धा लगाएर रेशम चौधरीलाई जेलमा राख्ने ? भन्दै प्रश्न गरे ।

देशमा संघीयता, स्वायत्तता स्थापना गर्न संघर्ष गर्नेहरुलाई सरकारले दमन गर्ने नीति लिएको आरोप लगाए । थारुहरुको शान्तिपूर्ण आन्दोलन चलिरहेका बेला कसको योजनामा घटना भएको हो भन्ने जानकारी पाउने अधिकार आफुहरुको पनि रहेको भन्दै उनले लाल आयोग र अन्य आयोगका प्रतिवेदन सार्वजनिक गर्न माग गरे ।

‘टीकापुर घटनापछि गठन भएको आयोगरुको प्रतिवेदन किन सार्वजनिक गरिँदैन ? के हामी डाँका, चोर, फटाहा, ज्यानमारा हो ? थारुहरुको शान्तिपूर्ण आन्दोलनका बेला कसको योजनामा टीकापुर घटना घटेको हो ? त्यो जान्न पाउने अधिकार हामीलाई छैन,’ उनले भने, ‘हाम्रो घरमा आगजनी हुन्छ, चोरी हुन्छ, हाम्रो घरमा रेप हुन्छ तर मुद्धा लाग्छ हामीलाई ज्यानमारा, ज्यान मार्ने उद्योग र डाँकाचोरीको । लोकतन्त्र यहि हो । संघीयता यहि हो ?’

मोर्चाका प्रवक्ता मिनराज चौधरीले थारु गाउँमा छापा मारेर थरुहट नेता, अभियन्ता, युवा विद्यार्थी लगायतलाई धरपकड गर्ने र थारु महिलाहरुमाथि दुर्व्यवहार र बलात्कारसमेत गरी थारु बस्तीहरु त्रसित बनाउनेहरुलाई कुनै कारवाही नभएको बताए । मोर्चाले रेशम चौधरी लगायत जेलमा रहेका ११ जनाको मुद्धा फिर्ता लिन माग गर्दै विभिन्न आन्दोलनका कार्यक्रमसमेत तय गरेको छ ।

प्रकाशित मिति : ९ माघ २०७६, बिहीबार ०९:२४