सूचनाको शक्ति - The Power Of Information

        

डण्डी र सिमेन्टको मूल्य बढ्यो

काठमाडौं । पछिल्लो एक महिनामा निर्माणका लागि अति आवश्यक डण्डी र सिमेन्टको भाउ वृद्धि भएको छ । भारत र चीनलगायतबाट आयात हुने कच्चा पदार्थ महँगिएका कारण देखाउँदै व्यापारीले यी वस्तुमध्ये डण्डीमा प्रतिकेजी सातदेखि आठ रुपियाँसम्म र सिमेन्टमा प्रतिबोरा २० देखि ५० रुपियाँसम्म मूल्य वृद्धि गरेको पाइएको छ ।

प्रायः सबै ब्रान्डका डण्डी र सिमेन्टले यो मूल्य बढाएका छन् । अन्तर्राष्ट्रिय बजारमा फलामे कच्चा पदार्थ बिलेटको मूल्य बढेको भन्दै फलामे डन्डीको मूल्य पनि बढाइएको हो । यसले नेपालमा निर्माणका कामको लागत पनि बढाएको छ भने निर्माणको मुख्य सिजनमै धेरै आम उपभोक्ता मारमा परेका छन् ।

उपभोक्ता अधिकारकर्मीले भने बजार अनुगमन प्रभावकारी नहुँदा यसको असर डण्डी र सिमेन्टमा देखिएको बताएका छन् । उपभोक्ता अधिकारकर्मी माधव तिम्लिसिनाले सरकारका नियमन गर्ने जिम्मेवार निकायको बजारमा सक्रियता नभएकै कारण व्यापारीले हरेक सामानमा ‘कार्टेलिङ’ गरेर मनपरी भाउमा बिक्री गर्ने गरेको र यसको प्रत्यक्ष मारमा उपभोक्ता परेको आरोप लगाए ।

प्रकाशित मिति : ९ माघ २०७६, बिहीबार ०८:२४