सूचनाको शक्ति - The Power Of Information

        

गेटा मेडिकल कलेजलाई प्रतिष्ठान बनाउनुपर्छ : स्वास्थ्यमन्त्री ढकाल

कैलाली । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले गेटा मेडिकल कलेजलाई प्रतिष्ठान बनाउनुपर्ने बताएका छन् । सुदूरपश्चिमका बिभिन्न जिल्लाको भ्रमणमा रहेका मन्त्री ढकालले बुधवार गेटा मेडिकल कलेजको स्थलगत निरिक्षण गर्दै शिक्षा मन्त्रालय मातहतरही निर्माणाधिन गेटा मेडिकल कलेजलाई स्वास्थ्य प्रतिष्ठान बनाउनुपर्नेमा जोड दिए ।

मन्त्री ढकालले मेडिकल कलेजको भौतिक प्रगति सन्तोषजनक रहेकाले यसको थप बिकासमा सहयोग हुने प्रतिवद्धता जनाए । मन्त्री ढकालले गेटा मेडिकल कलेजलाई प्रतिष्ठान बनाइए सुदूरपश्चिमका मात्रै नभई कर्णाली तथा ५ नम्बर प्रदेशका नागरिकलाई समेत सेवा पुग्ने र भारतका छिमेकि जिल्लाबाट समेत यसै कलेजमा अध्यायनका लागि बिद्यार्थी आउने बताए । हरेक प्रदेशमा एक–एक वटा प्रतिष्ठान बनाउने सरकारको लक्ष्य अनुसार गेटा मेडिकल कलेजलाई प्राथमिकतामा राखिएको उनले बताए ।

स्वास्थ्यका क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको बताउँदै मन्त्री ढकालले सरकारले बिनियोजन गरेको रकम समयमै खर्च गरे सरकारले पनि आवश्यक्ताका आधारमा थप बजेट बिनियोजन गर्ने आश्वासन दिए । गेटा मेडिकल कलेज निरिक्षणकै लागि गेटा पुगेका उधोग बाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले गेटा मेडिकल कलेजको भौतिक प्रगति हेर्दा आश लाग्दो देखिएको बताए । मन्त्री भट्टले गेटा मेडिकल कलेजलाई बिज्ञान प्रतिष्ठानकै रुपमा विकास गरिनुपर्नेमा जोड दिए ।

गेटा मेडिकल कलेजको भौतिक प्रगति करिब ७० प्रतिशत सम्पन्न भएको मेडिकल कलेज पूर्वाधार निर्माण समितिले जनाएको छ । शिक्षा मन्त्रालय मातहतको मेडिकल पूर्वाधार निर्माण समिति भएकाले हाललाई पूर्वाधार निर्माणको मात्रै काम टुङ्गिएको पूर्वाधार विकास समितिका इन्जिनियर पवन रावलले बताए । मेडिकल कलेज निर्माण गर्न अनिवार्य पर्ने कामका लागि ९ वटा प्याकेज बनाएर काम थालिएको बताउँदै उनले हाल ७ वटा प्याकेज सम्पन्न हुन लागेको जानकारी दिए । स्वास्थ्यमन्त्री ढकालले गेटा आँखा अस्पताल र धनगढी उपमहानगरपालिका–३ स्थित निर्माणाधिन आयुर्वेदिक अस्पतालको समेत अनुगमन गरेका थिए ।

प्रकाशित मिति : ९ माघ २०७६, बिहीबार ०७:४३