काठमाडौं । आज राष्ट्रियसभा सदस्य निर्वाचन हुँदैछ । निर्वाचनमा विभिन्न ६ दलको प्रतिश्पर्धा हुने भएको छ । राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिन ११ वटा राजनीतिक दलले आयोगमा दल दर्ता गराएकोमा ६ दलले मात्रै उम्मेद्वारी दिएका हुन् ।
निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काँग्रेस, समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी गरी ६ वटा राजनीतिक दलले यस निर्वाचनमा उम्मेदवारी दिएका छन् ।
प्रदेश १ मा रिक्त महिला, दलित र अन्य समूहमा ३–३ जनाका दरले जम्मा ९ जना उम्मेदवार, प्रदेश २ मा रिक्त महिला, दलित, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य समूहमा २–२ जनाका दरले ८ जना उम्मेदवार, बागमती प्रदेशमा रिक्त महिला र अन्य समूहमा ३–३ जनाको दरले ६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
त्यस्तै गण्डकी प्रदेशमा रिक्त महिला समूहततर्फ २ र अन्य समूहततर्फ ३ गरी ५ जना उम्मेदवार, प्रदेश ५ मा रिक्त महिला समूहततर्फ २ जना, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समूहततर्फ ३ र अन्य समूहततर्फ ४ गरी ९ जना उम्मेदवार, कर्णाली प्रदेशमा रिक्त महिला र अन्य समूहमा २÷२ जनाको दरले ४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
त्यसैगरी सुदूरपश्चिम प्रदेशमा रिक्त महिला र अन्य समूहमा २-२ जनाका दरले ४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । यसअनुसार सातवटा प्रदेशमा यस निर्वाचनमा महिला समूहततर्फ १६ जना, दलितसमूहततर्फ ५ जना, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समूहततर्फ ५ जना र अन्य समूहततर्फ १९ गरी कूल ४५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
निर्वाचनका लागि मतपत्रसहित आवश्यक निर्वाचन सामग्रीहरू यसअघि नै सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयसम्म पुगिसकेका छन् । निर्वाचन हुने सात प्रदेशका उच्च अदालत रहेका जिल्ला सदरमुकाममा तोकिएको मतदान स्थलमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारीलगायत सुरक्षाकर्मीहरू आवश्यक मतदानका सामग्रीहरूसहित दुई दिनदेखि नै खटिइसकेको निर्वाचन आयोगले जनाएको छ ।
राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन अधिकृतको कार्यालयहरू मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटीमा पुस १५ गतेदेखि स्थापना गरी सञ्चालन भएको, सम्बन्धित प्रदेशका उच्च अदालत रहेका जिल्लाका सातजना जिल्ला न्यायाधीशलाई न्याय परिषद्को सिफारिसमा निर्वाचन अधिकृतको पदमा गत पुस ११ गतेदेखि नियुक्त गरी निर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी अभिमुखिकरण कार्यक्रमसमेत गरिसकेको थियो ।
कहाँ कति मतदाता ?
आज हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश १ को विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृहमा मतदानस्थल तोकिएको छ । यस केन्द्रमा प्रदेशसभा सदस्यतर्फ ९३ र स्थानीय तह सदस्यतर्फ २८४ गरी ३६७ जना मतदाता रहेका छन् । प्रदेश २ को जनकपुर उपमहानगरपालिकाको महेन्द्र नारायणनिधि स्मृति भवनमा मतदानस्थल तोकिएको छ ।
यस केन्द्रमा प्रदेश सभा सदस्यतर्फ १०७ र स्थानीय तह सदस्यतर्फ २७२ गरी ३७९ जना मतदाता रहेका छन् । बागमती प्रदेशको ललितपुर महानगरपालिका वडा नं ४ वडासमितिको भवनमा मतदान स्थल तोकिएको छ । प्रदेश सभा सदस्यतर्फ ११० र स्थानीय तह सदस्यतर्फ २३८ गरी ३४८ जना मतदाता रहेका छन् ।
यसैगरी गण्डकी प्रदेशको जिल्ला निर्वाचन कार्यालय कास्कीको परिसरमा मतदान स्थल तोकिएको छ । यस स्थलमा प्रदेश सभा सदस्यतर्फ ६० र स्थानीय तह सदस्यतर्फ १७० गरी २३० जना मतदाता रहेका छन् । प्रदेश ५ को घोराही उपमहानगरपालिकाकोे कर्मचारी मिलन केन्द्रको भवनमा मतदान स्थल तोकिएको छ ।
यस स्थलमा प्रदेशसभा सदस्यतर्फ ८७ र स्थानीय तह सदस्यतर्फ २१८ गरी ३०५ जना मतदाता छन् । कर्णाली प्रदेशको.जिल्ला निर्वाचन कार्यालय सुर्खेतको परिसर भवनमा मतदान स्थल तोकिएको छ । यस स्थलमा प्रदेश सभा सदस्यततर्फ ४० र स्थानीय तह सदस्यतर्फ १५८ गरी १९८ जना मतदाता रहेका छन् । सुदूरपश्चिम प्रदेशको सिलगढी नगरपालिकाको पद्म पब्लिक मुक्तिनारायण उच्च माध्यमिक विद्यालयमा मतदान स्थल तोकिएको छ ।
यस स्थलमा प्रदेश सभा सदस्यतर्फ ५३ र स्थानीय तह सदस्यतर्फ १७६ गरी २२९ जना मतदाता छन् । यसरी सातवटा प्रदेशमा प्रदेशसभा सदस्यतर्फका ५५० र स्थानीय तह सदस्यतर्फ १,५०६ गरी कूल २,०५६ जना मतदाता रहेका छन् । राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को अनुसूची १ अनुसार प्रदेश सभाका सदस्यको मतभार ४८ र स्थानीय तहका गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुखको मतभार १८ रहेको छ ।
प्रदेश १ मा महिला, दलित र अन्य समूहमा तीनजना, प्रदेश २ मा महिला, दलित, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय र अन्य समूहमा चारजना, बागमती र गण्डकी प्रदेशमा महिला र अन्य समूहमा दुई दुई जना, प्रदेश ५ मा महिला,अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय र अन्य समूहका तीनजना, कर्णाली र सुदूरपश्चिम प्रदेशमा महिला र अन्य समूह गरी दुई दुई जना गरी कुल १८ जना राष्ट्रियसभा सदस्य निर्वा्चित हुनेछन् ।
६ हजार २६० मतपत्र
प्रदेशसभा सदस्यले मतदान गर्ने प्रयोजनका लागि सेतो कागजमा हरियो रङ्गको मसीले विवरण र निर्वाचन चिन्ह तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले मतदान गर्ने प्रयोजनका लागि सेतो कागजमा रातो रङ्गको मसीले विवरण र निर्वाचन चिन्ह उल्लेख गरी जम्मा ६,२६० थान मतपत्र छपाई गरेर यसअघि नै सम्बन्धित प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा पठाइसकिएको छ ।
परिचयपत्र अनिवार्य
निर्वाचनका लागि सुरक्षा प्रबन्ध प्रभावकारी बनाएको आयोगले जनाएको छ । मतदान हुने जिल्ला सदरमुकाममा प्रदेशभित्रका प्रदेश सभा सदस्यहरू तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरू मतदानका लागि बुधबार साँझसम्म मतदानस्थल पुगिसकेको आयोगले जनाएको छ ।
बाह्य जिल्लाबाट आउने मतदाताहरूको आवागमन मार्ग तथा आवासीय स्थानहरूमा सुरक्षाको सुक्ष्म निगरानीको प्रवन्ध मिलाएको छ । आज बिहान १०ः०० बजेदेखि अपरान्ह ४ः०० बजेसम्म मतदान हुने भएकोले आयोगले निर्धारण गरेबमोजिमको परिचयपत्र लिई मतदानमा सरिक हुन सम्पूर्ण मतदाताहरूलाई निर्वाचन आयोगले अनुरोध गरेको छ ।
सत्यपाटी ।