सूचनाको शक्ति - The Power Of Information

        

दामनमा आठ जना भारतीय नागरिकको मृत्यु

काठमाडौं । भारतको केरलाबाट मकवानपुरको दामन घुम्न आइपुगेका चार परिवारका आठ सदस्यको मृत्यु भएको छ । दामनको एभरेस्ट पानोरामा रिसोर्टमा बास बसेका आठ जना भारतीय नागरिकहरु अचेत अवस्थामा भेटिएपछि मंगलबार बिहान हेलिकप्टरमा उद्धार गरी काठमाडौंस्थित ह्याम्स अस्पतालमा ल्याइएको थियो ।

उनीहरुको उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । दामनको एभरेष्ट पानोरामा रिसोर्टमा राती ९ः३० बजे बास बस्न आइपुगेका १५ भारतीय पर्यटकले चार वटा कोठा बुक गरेका थिए । उनीहरु चार परिवारका सदस्यहरु रहेको एभरेष्ट पानोरामा होटलका म्यानेजर शिव केसीले बताए । जाडो बढेपछि भारतीय पर्यटकहरुले राति रेष्टुरेण्टमा प्रयोग हुने मसरुम ग्याँस हिटर आफ्नो कोठामा लगेका थिए ।

रेष्टुरेण्टका कामदारले लैजान नदिएपनि उनीहरुले बच्चालाई चिसो लाग्यो भनेर जबरजस्ती उक्त हिटर लिएर गएको, म्यानेजर केसीले बताए । त्यसपछि उनीहरु २ परिवारका सदस्यहरु एउटै कोठामा सुतेको पाइएको म्यानेजर केसीले बताए । बिहान ८ बजेसमम पनि उनीहरु नउठेपछि समूहकै अन्य सदस्यले ढोका ढकढक गर्दा पनि खोलिएन । त्यसपछि उनीहरुले ढोका फोडी हेर्दा उनीहरु अचेत अवस्थामा भेटिएको थियो ।

लगत्तै काठमाडौँबाट हेलिकप्टर मगाएर उनीहरुलाई उपचारका लागि काठमाडौंस्थित ह्याम्स अस्पतालमा लगिएको थियो । अचेत अवस्थामा भेटिएका आठ जनाको मृत्यु भइसकेको ह्याम्स अस्पतालले जनाएको छ । होटलमा म्यानेजर केसीका अनुसार ग्याँस हिटर बाली कोठाको झ्याल र ढोका सबै बन्द गरिएकाले अक्सिजन अभाव भई उनीहरुको मृत्यु भएको अनुमान गरिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका इन्सपेक्टर ललन कुर्मीका अनुसार मृत्यु हुनेमा २ पुरुष, २ महिला र ४ बालबालिका रहेका छन् ।

मृत्यु हुने भारतीय पर्यटकहरु निम्न रहेका छन् :

वर्ष ३८ रञ्जित कप
वर्ष ३४ इन्द्र
वर्ष ३७ प्रविन
वर्ष ३२ सरिया
वर्ष ५ अभी
वर्ष ७ अर्चना
वर्ष ५ वैष्णव
वर्ष ९ बन्द्रा

प्रकाशित मिति : ७ माघ २०७६, मंगलवार १३:१७