सूचनाको शक्ति - The Power Of Information

        

चीनमा कोरोना भाइरसको महामारी

एजेन्सी । चीनमा तीव्र गतिमा फैलिएको कोरोना समूहको नयाँ रहस्यमयी भाइरसको संक्रमणका कारण चारजनाको मृत्यु भइरहेको सरकारी अधिकारीले पुष्टि गरेका छन् । यसअघि मानिसबाट मानिसमा भाइरसको संक्रमण भएको पुष्टि नभएको बताएको चीनले अहिले आएर यो पुष्टि गरेको छ कि नयाँ भाइरसको संक्रमण मानिसबाट मानिसमा पनि हुन्छ ।

कोराना भाइरस समूहको नयाँ भाइरसका कारण मृत्यु हुने चौथो व्यक्ति ८९ वर्षका वृद्ध रहेको चिनियाँ अधिकारीले बताएका छन् । सो भाइरसको संक्रमणका कारण व्यक्तिमा निमोनिया भएको थियो । वुहानका ती वृद्धलाई पनि निमोनिया भएको हो । गएको डिसेम्बरमा चीनको वुहान शहरमा पहिलोपटक देखिको सो भाइरसको संक्रमण हाल दुई सयजना भन्दा बढीमा पुष्टि भएको जनाइएको छ ।

तर अन्तर्रा्ष्ट्रिय अनुसन्धानकर्ताहरुले भने संक्रमित हुनेको संख्या १७ सय भन्दा बढी रहेको हुन सक्ने अनुमान गरेका छन् । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले सोमबार पुष्टि गरेको हो कि ग्वाङ्डोङ्गका दुईजनामा मानिसबाटै सरेको छ । यस्तै वुहान नगरपालिकाको स्वास्थ्य आयोगले जारी गरेको अर्को वक्तव्यमा कम्तिमा १५ जना स्वास्थ्यकर्मीमा पनि भाइरसको संक्रमण भएको छ । त्यसमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ ।

उनीहरु सबैलाई एक्लै राखेर उपचार भइरहेको जनाइएको छ । चीनको वुहानमा संक्रमण बढी फैलिएको भए पनि थाइल्याण्डमा दुई तथा जापानमा एकजनामा संक्रमण पुष्टि भएको छ । संक्रमित पशु तथा समुद्री परिकार तथा वुहानका जंगली जनावरका बजारबाट संक्रमण भएको चिनियाँ दाबी छ ।

संक्रमित व्यक्तिबाट लिएको नमूना परीक्षण गरी चीनको स्वास्थ्य संगठनले सो भाइरस कोरोना भाइरस रहेको बताएको छ । अहिलेसम्म कोरोना भाइरसको समूहमा विभिन्न ६ प्रकारका भाइरस छन् । नयाँ भाइरस आएसँगै सो समूहमा सात भाइरस भएका छन् । यो भाइरसका कारण रुघा लाग्ने, स्वासप्रस्वासमा समस्या हुने गर्छ ।

प्रकाशित मिति : ७ माघ २०७६, मंगलवार १२:०६