सूचनाको शक्ति - The Power Of Information

        

नयाँ सभामुख चयनका लागि आज मनोनयन दर्ता

काठमाडौं । प्रतिनिधिसभाको नयाँ सभामुख चयनका लागि मंगलबारदेखि औपचारिक रुपमा प्रक्रिया सुरु हुँदैछ । नयाँ सभामुखका लागि मंगलबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ता गर्ने कार्यतालिका छ । नयाँ सभामुख चयनका लागि माघ १२ गते प्रतिनिधिसभामा चुनाव हुनेछ ।

प्रतिनिधिसभाका जेष्ठ सदस्य महन्थ ठाकुरले सोमबार बैठकको अध्यक्षता गर्दै सभामुखको चुनाव १२ गते गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गर्न निर्देशन दिएका थिए । सोही अनुसार संसद सचिवालयले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार मंगलबार बिहान ११ देखि दिउँसो २ बजेसम्म मनोनयन गर्न सकिने संसदका महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिए ।

परेका उम्मेद्वारीको सूचि मंगलबार दिउँसो साढे दुई बजे सार्वजनिक गरिनेछ । तत्कालीन सभामुख कृष्णबहादुर महरामाथि जबरजस्ती करणी प्रयासको आरोप लागेपछि गएको असोज १४ गते पदबाट राजीनामा दिएका थिए । उनको राजीनामा पछि सभामुख पद रिक्त रहँदै आएको थियो ।

नेकपाले सभामुखमा स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटालाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । विपक्षी कांग्रेसले भने अहिलेसम्म उमेद्वारी दिन नदिने निर्णय गरेको छैन । सोमबार उपसभामु शिवमाया तुम्बाहाम्फेले समेत पदबाट राजीनामा दिएपछि सभामुख चयनको प्रक्रिया सुरु भएको हो । सभामुखपछि उपसभामुख चयनको प्रक्रिया सुरु हुनेछ ।

प्रकाशित मिति : ७ माघ २०७६, मंगलवार १०:४३