सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जमा अब संगीत सुन्दै शौच !

बाँके । तपाई नेपालगन्जबासी या यहाँ घुम्न आएको पाहुना । यदि तपाई नेपालगन्जमा हुनुहुन्छ भने अब शौचसँगै संगीतको आनन्द लिन सक्नुहुन्छ । जसका लागि नेपालगन्ज उपमहानगरपालिकाले नेपालकै पहिलो अत्याधुनिक डिजिटल शौचालय सञ्चालनमा ल्याएको छ । शौचालयको नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा.धवलसम्शेर राणाले सोमबार उद्घाटन गरेसँगै सञ्चालनमा आएको हो ।

सञ्चालनमा आएको डिजिटल शौचालयको जमिनमाथि निर्माण गरिएको संरचना फोल्डिङ्गयुक्त छ । शौचालय भरिएमा नटबोल्ट खोलेर एक ठाउँबाट अर्को ठाउँमा सहजै लान सकिनेछ । डिजिटल शौचालयमा सोलार सिस्टमबाट विद्युत प्रवाह गरिएको छ । अपाङ्ग तथा महिलामैत्री सो डिजिटल शौचालयमा एकैपटक तीन महिला, तीन पुरुष र एकजना फरक क्षमता (अपाङ्गता) भएका ब्यक्तिले शौच गर्न सक्ने छन् ।

पूर्ण स्वचालित पद्दतीमा चल्ने शौचालयभित्र पानी तथा सावुन भएन भने शौचालयको ढोका खुल्दैन । शौचालय प्रयोगमा आए–नआएको जानकारी ढोकामा रहेको डिजिटल डिस्प्लेमा सहजै देख्न सकिन्छ । शौचालयभित्र शौच गर्दा स्वचालितरुपमा संगीत बज्छ । जो कोहीले संगीत सुन्दै शौच गर्न पाउने छन् । शौच गरिसकेपछि शौचालयभित्रै हात धुन पानी र सावुन छ, जुन स्वचालित छ ।

शौच गर्न गएको ब्यक्तिले सावुन संकेत रहेको तल हात लगेमा तरल अवस्थाको सावुन हातमा झर्छ । सँगै रहेको पानी संकेत देखाएको तल हात लग्दा पानी झर्छ । जहाँ हात धुन सकिन्छ । नेपालगन्जको केन्द्र धम्बोझी चोक नजिक कृषि विकास बैंक र राष्ट्र बैंकको बीचमा सो डिजिटल शौचालय निर्माण गरिएको छ । जहाँ संगीतको आनन्द लिदैं आरामका साथ शौच गर्न पाउने ब्यवस्था छ ।

एकैपटक सात जनाले प्रयोग गर्न मिल्ने आधुनिक प्रविधि जडान शौचालय प्रयोगका लागि सीमित अवधिसम्म निःशुल्क गरिएको उपमहानगरपालिकाले जनाएको छ । उद्घाटन कार्यक्रममा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा.राणाले स्वचालित शौचालय सञ्चालनमा आउनुमात्रै उपलब्धी नभएकोले यसको सहि सुदपयोगमा जोड दिएका छन् ।

उनले शौचालयलाई सफा राख्नु आफैमा चुनौतीपूर्ण कार्य भएको भन्दै मेयर राणाले सबैको साथ र सहयोग आवश्यक रहेको बताए । नेपालगन्ज उपमहानगरपालिकाका वातावरण इञ्जिनियर प्रकाश डिसीका अनुसार, एसएनभी नेदरल्याण्ड विकास कोषले सञ्चालन गरिरहेको स्वास्थ्य र विकासका लागि नगर सरसफाई तथा स्वच्छता कार्यक्रम अन्तरगत रु.४६ लाख ३६ हजारको लागतमा स्वचालित शौचालय निर्माण गरिएको हो ।

नेदरल्याण्ड विकास नियोगले यसअघि नै चार बाहिनीचोक र मासुमण्डी नजिक रु.८१ लाख १६ हजार लागतमा दुई वटा सुलभ शौचालय निर्माण गरी नेपालगन्ज उपमहानगरपालिकालाई हस्तान्तरण गरिसकेको छ । योसँगै नेपालगन्ज बजारभित्र एक दर्जन सार्वजनिक शौचालय पुगेका छन् । त्यसमा पछिल्लो पटक बनेका शौचालय अत्याधुनिक छन् ।

बजारमा निस्किने यात्रु र पसलेलाई समेत दिसा, पिसाव लाग्दा समस्या हुने गरेको भन्दै गुनासो बढिरहेका बेला नेपालगन्जमा अत्याधुनिक शौचालय बनिरहेका छन् । शौचालय सञ्चालनमा आएसँगै यसलाई उपमहानगरपालिकाले आफै सञ्चालन गर्ने वा ठेक्कामा दिने भन्नेबारे निर्णय भइ नसकेको वातावरण इञ्जिनियर डिसीले बताए । यसअघि उपमहानगरपालिकाले तीन वटा घुम्ती शौचालय सञ्चालनमा ल्याएको छ ।

प्रकाशित मिति : ७ माघ २०७६, मंगलवार ०८:५५