सूचनाको शक्ति - The Power Of Information

        

उपसभामुखबाट राजीनामा दिँदै शिवमायाले भनिन्, ‘पित्तृसत्ता राजसंस्थाभन्दा बलियो रहेछ’

काठमाडौं । उपसभामुख डा. शिवमाया तुम्वाहाङ्ले अन्ततस् पदबाट राजीनामा दिएकी छन् । सोमबार दिउँसो बसेको प्रतिनिधिसभा बैठकमा उनले राजीनामाको घोषणा गरेकी हुन् । उपसभामुखबाट राजीनामाको घोषणा गर्दै उनले हरेक राजनीतिक घटनाहरुको जनताले सुक्ष्म मूल्याङ्कन गर्ने सांसदहरुलाई बताइन् ।

उनले हरेक निर्णयहरु इतिहासको कसीमा मूल्यांकन हुने उल्लेख गर्दै उपसभामुख स्वतन्त्र पद हुने भए पनि त्यसको जरा आफूले बिर्सन नहुने उल्लेख गरिन् । उनले आफ्नो धरातल नभुल्न पनि सबैसँग आग्रह गरिन् । ‘मैले मार्गप्रसस्त गर्न राजीनामा गरेकी छु,’ उनले भनिन् ।

उपसभामुखबाट तुम्वाहाङ्फेले प्रतिनिधिसभाको गरिमा जोगाउने लडाईँ आफूले जितेको पनि बताएकी छन् । संसद बैठकमा पदबाट राजीनामाको घोषणा गरेलगत्तै पत्रकार सम्मेलन गरेकी शिवमायाले भनिन्, ‘म आज लडाईँ शब्द प्रयोग गर्छु, मलाई यो शब्द प्रयोग गर्न एकदमै मन लाग्यो, मैले प्रतिनिधिसभाको गरिमा र प्रतिष्ठा जोगाउने लडाईँ जितेँ ।’

उनले अघि भनिन्, ‘प्रतिनिधिसभा र दल आफ्नो क्षेत्रअनुसार चल्नुपर्छ मैले भनेकी हुँ । प्रतिनिधिसभाको इज्जत जोगाउन दलको निर्देशन मान्दिनँ भनेको हुँ । नेकपा नेताहरुले भने अनुसार राजीनामा दिएको भए नेपाली जनताको भावनाविपरीत हुन्थ्यो । मैले आफूले बोलेको कुरा र्पुयाएँ, संविधानअनुसार प्रतिनिधिसभाको प्रणाली स्थापित गर्न सकेँ ।’

उनले प्रतिनिधिसभाको उपसभामुख पदबाट राजीनामा दिँदा पनि आफू खुशी भएको बताइन् । उनले भनिन्, ‘एउटै पदमा बसेर पाँच वर्ष काम गर्नुपरेन, मेरो प्रगति भएको छ । मेरो कार्यकाल ५ वर्ष भए पनि दुई वर्षमै निस्कनु पर्यो, खुशी छु ।’ अब आफूले देश र जनताका लागि केही गर्ने बताएकी शिवमायाले योजना भने खुलाइनन् ।

‘छिट्टै मैले केही गरेको पाउनुहुनेछ, नयाँ कामबारे त्यहीबेला नै गफ गरौँला’, उनले भनिन् । शिवमायाले मुलुकमा अहिले पनि पित्तृसत्ताले जरा गाडेर बसेको बताइन् । हामीले राजसंस्था फाल्यौँ तर पित्तृसत्ता फाल्न त्यसभन्दा पनि ठूलो शक्ति आवश्यक छ, त्यसका लागि तपाईँहरु पनि कलम चलाउनुहोस् एक दुईजना व्यक्ति लागेर नहुँदो रहेछ,’ उनले भनिन् ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार १५:२८