सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा बढ्दै अपराध, खस्कियो सुरक्षा

बाँके । केही वर्षयता बाँकेमा आपराधिक घट्ना बढ्दै गएका छन् । पछिल्लो पाँच वर्षयता आपराधिक घटनामा वृद्धि हुँदै गएको जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्याङ्कले देखाएको छ । सङ्गठीत अपराध, चन्दा आतङ्क, महिला हिंसा, हत्याजस्ता गम्भीर प्रकृतिका घटनामा प्रहरीले सूक्ष्म अनुसन्धान गर्न नसक्दा अपराधको दर उच्चरुपमा बढेको हो ।

विगतमा भन्दा पछिल्लो वर्ष हत्या, बलात्कार, अपहरण, लागुऔषध कारोबार चोरी डकैतीजस्ता गम्भीर प्रकृतिका अपराध बढेको प्रहरी तथ्यांकले देखाएको छ । यद्यपी अपराधको संख्या बढ्दैमा मात्र सुरक्षा खस्कियो भन्न नमिल्ने प्रहरीको दावी छ । ‘अपराधबारे प्रहरीमा रिपोर्टिङ गर्ने क्रममा वृद्धि भएकाले संख्या बढेको हुन सक्छ,’ एकजना प्रहरी अधिकृत भन्छन्, ‘शान्ति सुरक्षा भनेको तथ्यांकभन्दा पनि अनुभूत गर्ने कुरा हो ।’

बाँके प्रहरीमा राजनीतिक हस्तक्षेप मौलाउँदै गएको प्रहरी अधिकृतहरु नै स्वीकार गर्छन् । एकजना प्रहरी अधिकृत भन्छन्, ‘जसका कारण अपराध घट्नुको साटो बढिरहेको छ । खराब आचरण र कार्यक्षमतामा कमजोरहरुलाई महत्वपूर्ण जिम्मेवारी दिइएकाले बाँकेको शान्ति सुरक्षामा त्यसको असर देखिएको हो । यसले पनि पछिल्ला बर्षहरुमा अपराधको तालिका ह्वात्तै बढेको देखाएको छ ।’ अपराधको सङ्ख्या बढ्दैमा मात्र सुरक्षा खस्कियो भन्न नमिल्ने प्रहरीको दाबी छ ।

बाँकेका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक बीरबहादुर ओलीले आम नागरिकमा प्रहरीप्रतिको विश्वास बढेका कारण मुद्दाको चाप बढेको बताए । उनले भने, ‘विगतमा प्रहरीमा आउन हिच्किचाउनेहरु आज सहजै प्रहरी कार्यालयमा आएर न्याय खोज्न थालेका छनल्नुभएको छ । यो अपराधरहित समाज निर्माणका लागि राम्रो पक्ष हो ।’ पछिल्लो समय नागरिक सचेतना तथा प्रहरीप्रतिको विश्वासले मुद्दा दर्ता गर्नेको सङ्ख्या बढेको उनको दाबी छ ।

प्रहरी उपरीक्षक ओलीका अनुसार जिल्लामा सबैभन्दा बढी मुद्दा लागुऔषधका छन् । अन्य मुद्दाभन्दा लागुऔषधका मुद्दा बढ्दै गएको प्रहरीको तथ्याङ्कले देखाएको हो । आव २०७१/०७२ मा ९९, आव २०७२०/०७३ मा ७८, आव २०७३/०७४ मा १३७, आव २०७४/०७५ मा १४७ र आव २०७५/०७६ मा २४९ वटा लागुऔषधका मुद्दा दर्ता भएका छन् । चालू आवको पछिल्लो ६ महिनामा लागुऔषधका १०८ मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार चालू आवको पछिल्लो ६ महिनामा ३०२ किलोग्राम लागुऔषध गाँजा, चरेश ९०९ ग्राम, अफिम चार किलो, कोरेक्स एक लिटर, नाइट्रोजेपाम दुई हजार ९२३ ट्याब्लेट बरामद गरेको छ । यसैगरी जिल्लामा बंैकिङ कसुरसम्बन्धी मुद्दा पनि उल्लेख्य रुपमा बढेको छ । आर्थिक वर्ष २०७४/०७५ मा २४, आव २०७५/०७६ मा १२२ र चालू आवको पहिलो ६ महिनामा ६ वटा बैंकिङ कसुरसम्बन्धी मुद्दा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका छन् ।

त्यस्तै आव २०७१/०७२ मा कूल ७३८ मुद्दा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको थियो भने आव २०७५/०७६ मा कूल एक हजार १५६ मुद्दा दर्ता भएको छ । यसले पाँच वर्षको अवधिमा मुद्दा दर्ताको सङ्ख्या दोब्बरले वृद्धि भएको देखाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेमा आव २०७२/०७३ मा ७५५, आव २०७३/०७४ मा ८५५, आव २०७४/०७५ मा एक हजार २१ मुद्दा दर्ता भएको तथ्याङ्क छ । चालू आवको पहिलो ६ महिनामा ५६४ मुद्दा दर्ता भएका छन् ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९ प्रतिशतले बढी हो । ‘चालू आर्थिक वर्षको अहिलेसम्म ५६९ मुद्दा फस्र्यौट भएका र ५४ मुद्दा अनुसन्धान प्रक्रियामा रहेका छन्,’ प्रहरी उपरीक्षक ओलीले भने, ‘चालू आवको पछिल्लो ६ महिनामा ६२३ मुद्दामा ७७३ पुरुष र ३३ महिलालाई मुद्दा प्रक्रियामा अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।’ उनले चालू आवको ६ महिनामा विभिन्न ४७ शीर्षकमा ५६४ मुद्दा दर्ता भएको जानकारी दिए ।

सहकारीको रु ५२ करोड अपचलनको मुद्दा अनुसन्धान गरी अदालत पठाएको जानकारी दिँदै उनले हत्या, आगजनी, लुटपाटलगायतका घटनाको अनुसन्धान गरी कानुनी कारवाही गरेको बताए । बाँकेमा चालू आर्थिक वर्षको पुस महिनासम्म १२ हजार ६५० सवारी साधन कारवाहीमा परेका छन् । कारवाहीमा परेका सवारी साधन तथा सवारी धनीबाट यस अवधिमा रु ६९ लाख ९ हजार राजश्व सङ्कलन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गत वर्ष ३० हजार ५६२ सवारी साधनबाट रु एक करोड ६७ लाख ७८ हजार ५०० राजश्व सङ्कलन भएको थियो । त्यस्तै प्रहरीले चालू आवको ६ महिनामा ८८ जना जुवाडेलाई कारवाही गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले ६ महिनामा ५९ जना फरार अभियुक्तलाई पक्राउ गरेको जनाएको छ । तीमध्ये फरार भएका १४ र अदालतबाट सजाय तोकिएका फरार ४५ जना अभियुक्त रहेका छन् । ‘फरार घोषित अपराधीलाई पक्राउ गरी अदालत बुझाएका छौँ,’ प्रहरी उपरीक्षक ओलीले भने । यसैगरी पछिल्लो ६ महिनाको अवधीमा आगलागीका २२ घटना नियन्त्रणका लागि प्रहरी परिचालन गरिएको उनले बताए ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार १३:५८