सूचनाको शक्ति - The Power Of Information

        

ओली–दाहाल सहमति, सभामुखमा अग्नी पक्का

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड सभामुखको उमेदवार अग्नि सापकोटालाई बनाउन सहमत भएका छन् । माघ ६ गतेका लागि प्रतिनिधिसभाको बैठक आह्वान गरिएको छ । संसद्को सो बैठकको सम्भावित कार्यसूचीमा सभामुख चयनको विषय पनि छ ।

सत्तारुढ दल नेकपाले सभामुखको विषय टुंगो नलगाउँदा तीन पटक संसद बैठक सूचना टाँसेर स्थगन भइसकेको छ । नेकपा स्रोतका अनुसार सभामुखको उम्मेदवार सापकोटा बन्ने तय भइसकेको छ । संसदको अंकगणित नेकपाको बलियो रहेकाले उसले अघि सार्ने उमेदवारको पल्ला भारी हुने देखिन्छ ।

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको अभियोगमा तत्कालिन सभामुख कृष्णबहादुर महरा पूर्पक्षका लागि थुनामा छन् । महराले राजीनामा गरेपछि तल्लो सदन मानिने प्रतिनिधि सभाको सभामुख पद खाली थियो । लामो समयको रस्साकस्सीपछि नेकपा अध्यक्षहरूले सापकोटाका नाममा सहमति जुटाएका हुन् ।

को हुन् सापकोटा ?

सिन्धुपाल्चोक जिल्ला चौतारा ६ कुविण्डे टोलमा ०१४ साल फागुन २४ गते अग्नि सापकोटाको जन्म भएको हो । धनपति सापकोटा र तिलमाया सापकोटाका छोरा अग्निका ३ छोरा छन् । साविकको सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट संविधानसभामा दुई पटक भारी मतान्तरले विजयी सापकोटा पछिल्लो ०७४ को निर्वाचनमा क्षेत्र नम्बर १ बाट विजयी भए ।

०३५ सालबाट राजनीतिमा सक्रिय सापकोटाले पटक–पटक गरी २ वर्ष जेल जीवन बिताएका छन् । ०४८ सालमा संयुक्त जनमोर्चाकातर्फबाट प्रतिनिधिसभा निर्वाचनमा उमेदवार बनेका उनी पराजित भएका थिए । ०५१ सालमा पार्टी केन्द्रीय सदस्य बनेका सापकोटा माओवादी र सरकारबीच भएको दोस्रो वार्तामा वार्ता टोली सदस्य समेत थिए । सापकोटाले समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् ।

साँगाचोकस्थित जनजागृति माध्यमिक विद्यालयमा १५ वर्ष प्राध्यापन गर्दा उनी शिक्षक राजनीतिमै सक्रिय थिए । प्रधानाध्यापक छोडेर उनी पूर्णकालीन राजनीतिमा होमिएका थिए । ०५२ सालबाट भूमिगत भएका उनी माओवादी शान्तिप्रक्रियामा नआउँदा सम्म भूमिगत नै थिए । सापकोटा २ पटक मन्त्री भइसकेका छन् । सूचना तथा सञ्चार र वन मन्त्रालयको जिम्मेवारी उनले सम्हालिसकेका छन् ।

प्रकाशित मिति : ५ माघ २०७६, आइतवार १४:२७