काठमाडौं । महिलाहरूको व्यवहारमा कहिलेकाहीँ असामान्य परिवर्तन आउँछ । छिनमै रिसाउने, छिनमै शान्त हुने । कहिले भावनात्मक रूपमा कमजोर हुने । कहिले जति खाए पनि नअघाउने, कहिले रूच्दै नरूच्ने । घरि पीरो, अमिलो स्वादको चाहना बढ्ने, घरि टाउको दुख्ने, कब्जियत वा पखाला लाग्ने र स–साना कुरामा झिझिने । के तपाईंहरूलाई यसको कारण थाहा छ ?
पुरूषको त कुरै छाडौं, कतिपय महिला पनि यसबाट अन्जान छन् । महिलाहरूको यस्तो असामान्य स्वभावको कारण पिएमएस, अर्थात् ‘प्रि–मेन्सट्रुअल सिन्ड्रम’ हुन सक्छ । यो भनेको रोग होइन, महिनावारीअघि हुने सामान्य प्राकृतिक परिवर्तन हो । महिनावारी हुनुभन्दा एक वा दुई साताअघि देखिने शारीरिक र भावनात्मक परिवर्तनका लक्षणलाई ‘पिएमएस’ भनिन्छ ।
अनुहारमा दाग वा डन्डिफोर आउनु, थकाइ लाग्नु, निन्द्रा बिग्रिनु, शरीर दुख्नु, चिडचिडापन बढ्नु र मुड परिवर्तन हुनु महिनावारीअघिका सामान्य लक्षण हुन् । यी लक्षण हरेक महिलामा भिन्न हुन्छन् । सबैलाई हुन्छ भन्ने छैन, तर धेरैजसो महिलामा देखिन्छ । कसैमा सामान्य होला, कसैमा जटिल । प्रजनन् स्वास्थ्य विशेषज्ञ डा.निरा श्रेष्ठका अनुसार प्रायः यस्ता लक्षण महिनावारी हुनुअघिका ६ दिनमा देखिन्छन् । समयसँगै लक्षण परिवर्तन हुन सक्छन् ।
पिएमएसको कारण के त ?
यो प्रश्नको उत्तर आजसम्म निश्चित छैन । अनुसन्धानकर्ताहरूका अनुसार महिनावारी बेला महिलाको शरीरमा सेक्स हर्मोन र सेरोटोनिनको मात्रा घटबढ हुन्छ, जसले भावनात्मक र शारीरिक परिवर्तन हुने विश्वास छ । महिलाहरूमा हुने मुख्य सेक्स हर्मोन ‘एस्ट्रोजेन’ र ‘प्रोजेस्टेरोन’ हुन् । यी हर्मोन महिलाको अन्डाशयमा उत्पादन हुन्छन्, जसले प्रजनन् अंगको वृद्धिमा ठूलो भूमिका खेल्छ ।
महिनावारी बेला अन्डाशयमा एस्ट्रोजेन र प्रोजेस्टेरोन हर्मोन बढी उत्पादन हुन्छन् । यसले गर्भाशय बाक्लो बनाई शरीरलाई प्रजजन् निम्ति तयार गर्छ । अन्डाशयमा उत्पादन भएका अन्डाहरू उर्वर भएनन् भने एस्ट्रोजेन र प्रोजेस्टेरोन हर्मोनको मात्रा घट्छ । यसले रक्तस्राव अर्थात् महिनावारी सुरु हुन्छ । यसको मतलब, एस्ट्रोजेन र प्रोजेस्टेरोन हर्मोन घट्नेबित्तिकै महिनावारी हुने होइन ।
हर्मोनको मात्रा घट्नु र महिनावारी हुनुबीच एउटा चरण आउँछ, जब महिलाको शरीरले अन्य समयभन्दा फरक तरिकाले काम गरिरहेको हुन्छ । त्यसैलाई पिएमएस भनिन्छ । एस्ट्रोजेन हर्मोनको मात्रा घट्दा यसले ‘सेरोटोनिन’को स्तरमा असर पार्छ । सेरोटोनिन भनेको मस्तिष्कमा हुने एक किसिमको रसायन हो, जसले मान्छेको मुड, सामाजिक व्यवहार, निन्द्रा, भोक, स्मृति, पाचनशक्ति र यौनचाहना नियन्त्रण गर्छ ।
त्यसैले, जब सेरोटोनिनको मात्रा असन्तुलित हुन्छ, महिलाहरूको भावनात्मक र शारीरिक व्यवहारमा नौलो परिवर्तन आउँछ । यही लक्ष्णलाई पिएमएस नाम दिइएको हो । यो समयमा देखिने लक्षणहरू सामान्यदेखि गम्भीर प्रकृतिका हुन्छन् । केहीमा यस्ता लक्षणबिनै महिनावारी हुन्छ । केहीमा भने यसले नियमित गतिविधिमै असर पार्न सक्छ । यसबारे स्पष्ट ज्ञान भए कुनै पनि महिलाले त्यसका लक्षणसँग सजिलै सामना गर्न सक्छन् ।
‘पिएमएसमा देखिने लक्षण प्रायः सामान्य नै हुन्छ, तर यसलाई हल्का रूपमा लिनु हुँदैन्,’ प्रजनन् स्वास्थ्य विशेषज्ञ डा.श्रेष्ठ भन्छिन्, ‘अवस्था गम्भीर भए डिप्रेसन र एन्जाइटी हुने समस्या बढ्छ । बान्ता आउने र चक्कर लाग्ने लक्षण पनि देखिने गर्छ ।’ सामान्य लक्षणलाई व्यायाम र मानसिक स्वास्थ्य परामर्शदाताको सहयोगमा नियन्त्रण गर्न सकिन्छ । गम्भीर अवस्थामा भने नियमन गर्ने उपचार छैन ।
डा. श्रेष्ठका अनुसार त्यस्तो समय परिवार नियोजन चक्कीको सेवनले समस्या केही कम गर्छ । मानसिक तनावमा भने चिकित्सकको परामर्शमा औषधि खानुबाहेक अरू उपाय छैन । महिनावारीको विषय जति सामान्य देखिन्छ, त्यति नै संवेदनशील छ । हरेक महिलालाई महिनावारी हुनुअघिको पिएमएस र महिनावारी हुँदाको कठिनाइ सोच्दा पनि असहज हुन्छ । अझ गम्भीर लक्षणका भुक्तमानहरूलाई त झनै गाह्रो हुने उनी बताउँछिन् । यस्तो कठिनाइ महिनावारी बेलामात्र हुँदैन ।
कहिलेकाहीँ महिनावारी रोकिएपछि पनि पिएमएसका लक्षण देखिन्छन् । सामान्यतया ५० वर्ष टेकेपछि ढिलोचाँडो महिनावारी बन्द हुन्छ । यसलाई ‘मेनोपज’ भनिन्छ । यो महिलाको जीवनमा आउने महत्वपूर्ण चरणमध्ये एक हो । महिनावारी प्रक्रिया स्थायी रूपमा रोकिएपछि हरेक महिनाको झन्झटबाट मुक्ति पाइन्छ भन्ने लाग्ला, तर जसरी महिनावारीअघि पिएमएस हुन्छ, त्यसरी नै महिनावारी रोकिएपछि ‘पोस्ट–मेनोपज’ हुन्छ । पोस्ट–मेनोपजको कारण पनि पिएमएससँग मिल्दोजुल्दो छ ।
मेनोपज हुने समयमा पनि ‘एस्ट्रोजेन’ र ‘प्रोजेस्टेरोन’ को मात्रा घट्छ, जसले महिलाको शरीर र व्यवहारमा विभिन्न परिवर्तन ल्याउँछ । पोस्ट–मेनोपजका लक्षण पिएमएसभन्दा केही फरक हुन्छन् । शरीर तात्तिने, धेरै पसिना आउने, निन्द्रा नलाग्ने, छाला, आँखा र मुख सुख्खा हुने सामान्य लक्षण हुन् । भावनात्मक परिवर्तन, हाडजोर्नी दुख्ने, पिसाब रोकिने वा छिनछिनमा आइरहने लक्षण पनि देखिन्छन् । कसैकसैमा ध्यान केन्द्रित गर्न नसक्ने वा समय–समयमा स्मरण क्षमता कमजोर हुने, मुटुको धड्कन बढ्ने, कपाल झर्ने र शरीरको तौल बढ्ने लक्षण पनि हुन्छन् ।
यो समय महिलाहरूमा बिर्सने रोग (अलजाइमर) र स्तन क्यान्सरको सम्भावना बढ्ने प्रजनन् स्वास्थ्य विशेषज्ञ डा. श्रेष्ठ बताउँछिन् । ‘अलजाइमर र स्तन क्यान्सरलाई लिएर डराइहाल्नु पर्दैन । मेनोपजमा देखिने केही लक्षण यी रोगसँग मिल्न खोज्छन, तर त्यसैको कारणले हुन्छ भन्न मिल्दैन,’ श्रेष्ठले भनिन्, ‘मेनोपज ५० वर्ष कटेका अधिकांश महिलालाई हुन्छ, तर अलजाइमर र स्तन क्यान्सर जुनसुकै उमेरका व्यक्तिलाई हुनसक्छ ।’
सत्यपाटी ।