एजेन्सी । अष्ट्रेलियाको न्यु साउथ वेल्सस्थित, मुरुन्डी सहरको ४२ डिग्री तापमानबीच गर्मी छल्न स्थानीयको ठूलो समूह त्यहाँको लोकप्रिय रेस्टुरेन्टमा बियर पिउन भेला हुन्छन् जहाँ पानीको भने अधिक अभाव छ । यसरी अष्ट्रेलियाको दक्षिणपूर्वी क्षेत्रमा हजारौँ एकड जमिन चरम खडेरीको सामना गरिरहेका छन् जसमध्ये मुरुन्डी पनि एक हो ।
त्यहाँ अहिले बियर प्रशस्त पाइन्छ भने पानी खोज्न चाहिँ धेरै संघर्ष गर्नुपर्छ । यो सहर कृषिमा निर्भर भए पनि पछिल्लो समय त्यस क्षेत्रका जमिन आँखाले भ्याएसम्म बाँझो देखिन्छन् । त्यस्तै रुखहरु जरैदेखि मरिसकेका छन् र थोरै आगोले भेटेमा महिनौँ डढेलो जारी रहने अवस्था छ । तर अहिलेका लागि आगलागीबाट घरहरु सुरक्षित भएपनि त्यहाँका वासिन्दा अर्को ठूलो जोखिमा छन् ।
मुरुन्डी अष्ट्रेलियाको त्यो भूभाग हो जहाँ पानीको अभाव चरम अवस्थामा पुगिसकेको छ । त्यस किसिमको खडेरीमा बस्दाको अनुभवबारे स्थानीय वारेन ब्रामलेल भन्छन्, ‘यदि तपाईँ बियर पिएर गुजारा गर्न सक्नुहुन्छ भने तपाईँलाई कुनै समस्या हुनेछैन ।’ न्यु साउथ वेल्समा पछिल्लो तीन वर्षमा १२५ एमएम भन्दा कम वर्षा भएको छ । जसले लामो खडेरीको सबै रेकर्ड तोडिसकेको छ ।
सिड्नीको उत्तरपश्चिम स्थित तीन घण्टाको सवारी दुरीमा रहेको मुरुन्डीले पनि तीन वर्षमा पर्याप्त वर्षा प्राप्त गर्न सकेको छैन भने सबै खोला सुकिसकेका छन् । यस्तोमा पानी बोक्ने ट्रकहरु त्यहाँ दैनिक १० देखि २० पटक ओहोरदोहोर गर्ने गरेका छन् । ती ट्रकहरुको आगमन बन्द भएमा सो सहर तीन दिनमै पानी विहिन हुने बताइएको छ जसकारण पनि स्थानीयहरुले ट्रक डाइभरलाई आफ्ना ‘हिरो’ मान्छन् ।
त्यहीँकी एक रेस्टुरेन्टकी बारटेन्डर रेबेका विलार्डले सिएनएनसँग बताए अनुसार पानी बचाउनकै लागि उनले आफ्ना दुवै बच्चाहरुलाई सधैँ सँगै नुहाइदिने गरेकी छन् भने बच्चाहरुको कपडा पनि हप्तामा तीनपटक धोइदिने गरेको उनले लजाउँदै स्वीकार गरिन् जसबकी स्थानीय निकायले प्रतिघर हप्तामा दुईपटक मात्र कपडा धुने अनुमति दिएको छ ।
मुरुन्डी बाहिरको क्षेत्रमा पनि सुख्खा जमिनमा धुलो उडाउँदै गरेका घोडाहरु देखिन्छन् जसलाई अरु नै ठाउँबाट ल्याइएका पराल खुवाएर राखिएको छ । तर स्थानीयहरुले पछिल्लो समय स्वतन्त्र रुपमा तिनलाई पाल्न नसक्ने भएपछि वधशाला लैजाने क्रम बढेको छ । जीवजन्तुलाई खुवाउनु अत्यन्तै महंगो पर्ने उनीहरुले बताए । सिड्नीको दक्षिणमा रहेको पहाडी क्षेत्रलाई पनि कुनै समय ‘सानो इङ्ल्यान्ड’ भनिन्थ्यो ।
तर अहिले त्यो ठाउँ पृथ्वीकै सबैभन्दा सुख्खा भूभागमा परिणत भएको छ भने त्यहाँका पहाडहरु हरिया देखिँदैनन् । पिता बिलसँग गाई खेती गर्दै आएका जेम्स गलब्रेथको परिवार पछिल्लो १३० वर्षदेखि त्यहाँ बस्दै आएको छ । उनीहरुका अनुसार यस वर्षको खडेरी पछिल्लो ५० वर्षकै सबैभन्दा खराब थियो । यस्तोमा अहिले गेलब्रेथले परिवारको आवश्यकता पूरा गर्न खेती मात्र पर्याप्त नभएकाले दुईवटा काम गर्नुपरिरहेको बताए ।
यतिमात्र नभइ गाईहरुले बचेकुचेको हरियाली पनि जरैदेखि घाँस उखेलेर विनाश गरिदिने चिन्ताले आफूले अधिकांश गाइवस्तु बेचिसकेको बताएका हुन् । उनी भन्छन्, ‘यहाँको जमिन सतहमा मात्र सुख्खा छैन, भित्रैदेखि सुकिसकेको छ । जसकारण नै सबै रुखहरु नष्ट हुने अवस्थामा पुगेका हुन् । तरपनि हामी जस्ता किसानहरुसँग सहेर बस्न बाहेक कुनै उपाय छैन ।’ उनले यि सबै वातावरणीय अवस्थाका लागि जलवायु परिवर्तन जिम्मेवार रहेको बताए ।
सत्यपाटी ।