सूचनाको शक्ति - The Power Of Information

        

प्रदेश ५ ले पाउला नाम र राजधानी ?

बुटवल । देशका ७ प्रदेशमध्ये ४ वटाले नाम र राजधानी टुंगो लगाइसकेका छन् । तर प्रदेश १ र २ सँगै ५ ले अझै नाम र स्थायी राजधानी टुंग्याउन सकेको छैन । आजबाट सुरु हुने हिउँदे अधिवेशन मुख्यमन्त्री शंकर पोखरेलको सिफारिस र प्रदेश प्रमुख धर्मनाथ यादवको आह्वानमा बोलाइएको प्रदेश ५ प्रदेशसभा सचिवालयले जनाएको छ ।

दिउँसो १ बजेदेखि बस्ने हिउँदे अधिवेशनले प्रदेशको नाम र स्थायी राजधानी टुंग्याउने प्रदेश ५ सरकारका प्रवक्ता एंव भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले बताए । ‘प्रदेश ५ को नाम र स्थायी राजधानीको विषय संसदको आजबाट सुरु हुने हिउँदे अधिवेशनले टुंगो लगाउने छ,’ मन्त्री चौधरीले भने ।

नेकपा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकाल पनि हिउँदे अधिवेशनबाट प्रदेशको स्थायी राजधानी र नामको टुंगो लाग्ने बताउँछन् । उनले प्रदेशसभा नै यसको निर्णायक केन्द्र भएको भन्दै सबैको सहमतिबाट यसबारे निर्णय हुने जानकारी दिए । हिउँदे अधिवेशनमा प्रदेशको स्थायी राजधानी र नामले प्रवेश पाउने भएपछि यसबारे बहस सुरु भएको छ ।

नेपाली कांग्रेसकी सचेतक निर्मला क्षेत्रीले पूर्वाधार बनिसकेको क्षेत्रलाई राजधानी बनाउनुपर्ने बताइन् । प्रदेश ५ मा नेकपा ६१, नेपाली कांग्रेस १९, समाजवादी पार्टी ५ र राजपा तथा राष्ट्रिय जनमोर्चाका १÷१ गरी कुल ८७ सांसद् रहेका छन् ।

प्रकाशित मिति : ५ माघ २०७६, आइतवार १२:३३