सूचनाको शक्ति - The Power Of Information

        

आजदेखि प्रदेश ५ को हिउँदे अधिवेशन, स्थायी राजधानी र नामको चर्चा

बुटवल । प्रदेश ५ को प्रदेशसभाको हिउँदे अधिवेशन आइतबारदेखि सुरु हुँदैछ । जेठ २ गतेदेखि सुरु भएको बजेट अधिवेशन (चौथो बैठक) अशोज २ गते सकिएको थियो । मुख्यमन्त्री शंकर पोखरेलको सिफारिशमा प्रदेश प्रमुख धर्मनाथ यादवले आइतबार दिउँसो १ बजेका लागि अधिवेशन आह्वान गरेका छन् ।

सरकारले बिजनेश दिन नसकेका कारण चार महिनासम्म संसद बैठक चलेन । हिउँदे अधिवेशनमा बिजनेशको अभाव हुन नदिने सरकारका प्रवक्ता एंव भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले बताए । सरकारले ६ वटा विधेयक संसद पठाउने गरी तयारी गरेको सरकारका मन्त्री चौधरीले बताए ।

उनका अनुसार हिउँदे अधिवेशनमा सुशासन, वातावारण, स्थानीय तह सम्बन्धी, विश्वविद्यालय, लोक सेवा, चलचित्र सम्बन्धी विधेयक पेश हुनेछ । संघीय सरकारका कारण कानून निर्माण हुन नसकेकाले अब भने बाझिएको हदमा संशोधन गर्ने गरेर भए पनि कानून निर्माणलाई तीव्रता दिएर सदनलाई निरन्तर चल्ने गरी बिजनेश तयार पार्ने उनले बताए ।

प्रदेशसभाको चौथो अधिवेशनसम्म ४९ वटा विधेयक पारित भएका छन् । आइतबार आह्वान गरिएको संसद बैठकमा हिउँदे अधिवेशनको शुभकामनाको कार्यक्रम हुने प्रदेशसभाका सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिए । साथै हिउँदे अधिवेशनमा प्रदेशको नाम र स्थायी राजधानीको विषयले प्रवेश पाउनेछ ।

राजधानी र नामाकरण सिफारिश गर्न बनेको विशेष समितिले प्रतिवेदन बुझाइसकेको छ । नामका बारेमा करिब सहमति भए पनि राजधानीका बारेमा भने दलहरूबिच औपचारिक रूपमा छलफल नै भएको छैन । चुनावताका दलहरूले राजधानीबारे गरेका प्रतिबद्धताका कारण दलहरू अप्ठ्यारोमा परेका छन् ।मुख्यमन्त्री शंकर पोखरेलले भने प्रदेशको राजधानी शहर बनिसकेको ठाउँमा नभई नयाँ ठाउँमा बनाउनुपर्ने तर्क गर्दै आएका छन् ।

उनले भने, ‘सबैको सहमतिमा भर्जिनल्याण्डमा राजधानी बनाउनुपर्छ ।’ तर, उनकै मन्त्रीमण्डलमा रहेका भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले बागमती प्रदेशको निर्णयलाई नजिर मानेर निर्णय हुने बताउँदै आएका छन् । प्रदेश ५ मा नेकपाका ६१, नेपाली कांग्रेसका १९, समाजवादी पार्टीका ५ र राजपा तथा राष्ट्रिय जनमोर्चाका १–१ जना गरी ८७ जना सांसद छन् ।

प्रकाशित मिति : ५ माघ २०७६, आइतवार १०:०२