सूचनाको शक्ति - The Power Of Information

        

बाँके प्रहरीमा राजनीतिक हस्तक्षेप र गुटबन्दीको प्रभाव, फितलो अनुसन्धानले बढ्दै अपराध

बाँके । बाँकेमा प्रहरीको फितलो अनुसन्धान र कमजोर सुरक्षाका कारण अपराधको तालिका ह्वात्तै बढेको छ । हतियारसहितको सङ्गठित अपराध, चन्दा आतङ्क, महिला हिंसा, हत्याजस्ता गम्भीर प्रकृतिका घटनामा प्रहरीले सुक्ष्म अनुसन्धान गर्न नसक्दा अपराधको दर उच्चरुपमा बढेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले शुक्रबार सार्वजनिक गरेको अपराध तालिकाको तथ्यांक अनुसार चालू आर्थिक वर्षको अर्धवार्षिकीमै अपराधको संख्या ह्वात्तै बढेको छ । बाँकेमा शान्ति सुरक्षाको अवस्था खस्कँदै गएको छ । विगतमा भन्दा पछिल्लो वर्ष हत्या, बलात्कार, अपहरण, लागुऔषध कारोबार चोरी डकैतीजस्ता गम्भीर प्रकृतिका अपराध बढेको प्रहरी तथ्यांकले देखाएको छ ।

यद्यपी अपराधको संख्या बढ्दैमा मात्र सुरक्षा खस्कियो भन्न नमिल्ने प्रहरीको दावी छ । ‘अपराधबारे प्रहरीमा रिपोर्टिङ गर्ने क्रममा वृद्धि भएकाले संख्या बढेको हुन सक्छ,’ बाँके प्रहरी भन्छ, ‘शान्ति सुरक्षा भनेको तथ्यांकभन्दा पनि अनुभूत गर्ने कुरा हो ।’ जिल्ला प्रहरी कार्यालय बाँकेको अहिलेको नेतृत्व र शान्ति सुरक्षाको अवस्थाबाट पूर्णरूपमा सन्तुष्ट नरहेको बाँकेका प्रहरी अधिकारीहरु नै बताउँछन् ।

एकजना प्रहरी अधिकारीले भने, ‘बाँके प्रहरीमा राजनीतिक हस्तक्षेप र गुटबन्दीको प्रभाव छ । जसका कारण अपराध घट्नुको साटो बढिरहेको छ । खराब आचरण र कार्यक्षमतामा कमजोरहरुलाई महत्वपूर्ण जिम्मेवारी दिइएकाले संगठन नै कमजोर बनेपछि शान्ति सुरक्षामा त्यसको असर देखिएको हो ।’

तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/०७७ को अर्धबार्षिकीमै ५६४ वटा मुद्दा दर्ता भएका छन् । गत २०७५÷०७६ मा वर्षभरिमा जम्मा एक हजार १५६ मुद्दा दर्ता भएका थिए । प्रहरीले सार्वजनिक गरेको पाँच वर्षिय अपराध तालिकाले पनि विगतका वर्षभन्दा चालु आर्थिक वर्षमा अपराधिक गतिविधि बढेको देखाएको छ ।

चालु आवको पुस मसान्तसम्म ५६४ मुद्दा दर्ता भएको तथ्यांकले देखाए पनि यो ६ महिनाको अवधिमा ६२३ मुद्दा दर्तामध्ये ५६९ मुद्दा फस्र्याैट भएको र बाँकी ५४ वटा मुद्दा अनुसन्धानको क्रममा रहेको बाँकेका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक वीरबहादुर ओली बताउँछन् । उनले यस अवधिमा विभिन्न मुद्दामा ८०६ जनालाई पक्राउ गरिएको बताए ।

यस अवधिमा कर्तव्य ज्यान ६, ज्यान मार्ने उद्योग १८, चोरी ६२, लागुऔषध १०८, जुवा १२, जवरजस्ती करणी २७, मानव बेचविखन ४, सवारी साधनबाट ज्यान गुमाउने २७, सवारीबाट अगंभगं हुने ७, बाल यौन दुर्व्यवहार ५, सार्वजनिक शान्तिविरुद्धको कसुर ५४, अभद्र व्यवहार १४०, आत्महत्या दुरुत्साहन ३ र बैकिङ्ग कसुर अन्तरगत ६ वटा मुद्दा दर्ता भएका छन् ।

विगत पाँच वर्षयता बाँकेमा घटेको घटनाको तथ्यांक हेर्दा अपराधदर ह्वात्तै बढेको छ । आर्थिक वर्ष २०७१/०७२ मा ७३८, २०७२/०७३ मा ७५५, २०७३/०७४ मा ८५५, २०७४/०७५ मा एक हजार २१ र २०७५/०७६ मा एक हजार १५६ मुद्दा दर्ता भएका छन् । यी सवै ६१ वटा शीर्षकमा मुद्दा दर्ता भएका हुन् ।

पञ्चवर्षिय अपराध तालिका अनुसार आव २०७१/०७२ देखि आव २०७५/०७६ सम्म बाँकेमा कर्तव्य ज्यान अन्तरगत ७९, ज्यान मार्ने उद्योगमा १३१, सवारी चोरी ४३, बहुविवाह ९७, बालविवाह १०, जबरजस्ती करणी १९४, मानव बेचविखन ७०, सवारी साधनबाट ज्यान गुमाएका २६६, लागुऔषध ७१०, अपहरण ४१, बालयौन दुराचार २३ र बैकिङ्ग कसुर १४७ वटा मुद्दा दर्ता भएका छन् ।

यो अवधिमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढि लागुऔषधमा ७१०, सवारी साधनबाट ज्यान गुमाएका २६६, ज्यान मार्ने उद्योग १३१ र बैंकिङ्ग कसुर १४७ मुद्दा दर्ता भएका छन् । जुन प्रत्येक वर्ष क्रमश ५.१५ प्रतिशत, २.२५ प्रतिशत, ११.७० प्रतिशत, १६.२५ प्रतिशत र ११ प्रतिशतले बृद्धि भएको बाँके प्रहरीले सार्वजनिक गरेको पञ्चवर्षिय अपराध तालिकाले पुष्टि गरेको छ ।

बाँकेका प्रहरी प्रमुख ओलीले आमनागरिकमा प्रहरीप्रतिको विश्वास बढेका कारण मुद्दाको चाप बढेको दावी गरे । उनले भने, ‘हिजोसम्म प्रहरी समक्ष आउन हिच्किचाउनेहरु आज न्याय प्राप्तिका लागि सहजै प्रहरी कार्यालय आउने र मुद्धा दर्ता गर्ने गरेका छन् । यो अपराधरहित समाज निर्माणको लागि राम्रो पक्ष हो ।’ पछिल्लो समय नागरिक सचेतना तथा प्रहरीप्रतिको विश्वासको कारणले मुद्दा दर्ता गर्ने संख्या बढेको प्रहरी प्रमुख ओलीको दावी छ ।

प्रकाशित मिति : ४ माघ २०७६, शनिबार ०९:४०