सूचनाको शक्ति - The Power Of Information

        

विदेशी अपराधीको ट्रान्जिट बन्दै नेपाल

काठमाडौं । झण्डै तीन साताअघि एकैदिन १२२ जना चिनियाँ नागरिक काठमाडौंमा पक्राउ परेपछि नेपाल कसरी विदेशी अपराधीहरुको आश्रयस्थल बन्दै गएको छ भन्ने प्रष्ट भएको छ । सयौं चिनियाँहरु काठमाडौंमा ठूला बंगलाहरु भाडामा लिएर गोप्य रुपमा विभिन्न किसिमका अपराधिक गतिविधिमा संलग्न भएको चिनियाँ अधिकारीले जानकारी दिएपछि मात्र नेपालका प्रहरी अधिकारीले सूचना प्राप्त गरेका थिए । ठूला अपराधमा संलग्न विदेशी नेपालमा पक्राउ परेको यो पहिलो घटना होइन ।

तीन महिनाअघि मात्र नेपालका एटिएम सिष्टम नै ह्याक गरेर चोर्न आएको गिरोह समातिएको थियो । त्यसमा चिनियाँ नागरिकहरु नै थिए । त्यस्तै, नक्कली एटिमबाट पैसा चोरी गर्ने यूरोपियन देशको गिरोह पनि नेपालमा सक्रिय छ । यौन दुराचारीहरुको समेत नेपाल हब बन्दै गएको छ । दक्षिण अमेरिकी देशमा उत्पादन हुने कोकिन यूरोप लैजान नेपालको बाटो प्रयोग हुने गरेको छ । सिरिया, इराकजस्ता देशले नक्कली पासपोर्टबाट यूरोप छिर्न नेपालको बाटो अपनाउने गरेका छन् । यसले सुरक्षाको दृष्टिकोणले नेपाल कति कमजोर छ भन्ने प्रष्ट पार्छ ।

विगतमा खुला सीमाना भएकाले नेपाल र भारतबीच लामो समयदेखि अन्दरदेशीय अपराध ठूलो चुनौती बन्दै आएको थियो । तर, अब अन्दरदेशीय अपराधको भारतसँग मात्र सिमित भएन, विश्वभरका अपराधीहरु नेपालले ‘हब’ बनाएका छन् । विदेशीबाट निगरानीको संयन्त्र नहुँदा यस्तो गतिविधि बढेको पूर्व एआईजी राजेन्द्रसिंह भण्डारी बताउँछन् । पर्यटकको आवरणमा अपराधीहरु भित्रने क्रम यसरी बढेमा यो पछि देशका लागि ठूलो समस्या हुन सक्ने उनको भनाई छ ।

थरिथरिका अपराधमा विदेशी

एकथरि विदेशीहरु नेपाललाई ट्रान्जिट बनाएर अपराध गरिरहेका छन् । केही नेपालमै अपराध गर्न भनेर आउने गरेका छन् । नेपालमा खासगरी पाँच किसिमका अपराधमा विदेशीहरुको संलग्नता छ । पहिलो भनेको अवैध वस्तु ओसारपसारमा ट्रान्जिट बनाउने प्रणाली हो । लागूऔषध तस्करीमा संलग्न अन्तर्राष्ट्रिय गिरोहले वर्षाैदेखि यस्तो धन्दा चलाइरहेको छ । दक्षिणी अमेरिकी देशमा उत्पादन हुने कोकिन यूरोप तस्करी गर्न नेपालको रुट प्रयोग हुने गरेको छ ।

त्यस्तै सुन, वन्यजन्तुका अंग तथा डलर तस्करीमा समेत नेपाल ट्रान्जिटका रुपमा प्रयोग भइरहेको छ । त्यस्तै नेपालको अध्यागमनलाई सजिलै झुक्याउन सकिने ठानेर नक्कली पासपोर्ट तथा भिसा प्रयोग गरेर तेस्रो मुलुक जाने प्रयास हुने गरेका छन् । जसमा मध्यपूर्वी एसियाका साथै बंगलादेश तथा श्रीलंकाका नागरिकहरु समेत पटक पटक पक्राउ परेका छन् । तेस्रो किसिमको अपराध भनेको पर्यटकको भेषमा हुने अपराध हो । अपराध गर्ने उदेश्यले नै कतिपय नेपाल आउने गरेका छन् ।

जसमा एटिएम ह्याकिङ, बाल यौन दुराचार, चिठ्ठा ठगी जस्ता अपराध पर्दछन् । चौथो प्रकार भनेको विदेशमा अपराध गरेर नेपालमा लुक्न आउनेहरु छन् । जसमा पटक पटक नेपालले पक्राउ गरेर सम्बन्धित देशको नागरिकलाई पठाएको छ । पाँचौ भनेको अवैध रुपमा नेपालमा बस्ने अपराध हो । एक वर्षमा नेपालमा बढीमा एक सय ५० दिन मात्र पर्यटक भिसामा बस्न पाइन्छ । कतिपय विदेशीहरु वर्षाैदेखि अवैध रुपमा नेपालमा लुकेर बस्दै आएका छन् ।

विदेशी यौनकर्मीको हब

पर्यटन भिसामा आएका कतिपय विदेशीहरु वेश्यावृत्तिमा समेत संलग्न रहेको प्रहरीले जनाएको छ । जसमा चिनियाँ, रसियनदेखि उज्वेगिस्तानका युवतीहरु छन् । तीन वर्षदेखि नेपालमा अवैध रुपमा बस्ने उज्वेस्तिानका युवतीहरुको संख्या ठूलो रहेको र उनीहरु बेश्यावृत्तिमा संलग्न रहेको अनुगमनबाट खुलेको अध्यागमन विभागका एक अधिकारीले बताए ।

विगतमा वेश्यावृत्ति धन्दा चलाएको आरोपमा १० चिनियाँ युवतीलाई पक्राउ गरी निष्काशन गरिएको थियो । उज्वेस्तिानका सात युवतीलाई सन् २०१९ मा निष्काशन गरिएको अध्यागमन विभागको तथ्याङक छ । विदेशबाट यस्ता युवतीहरुलाई होटल मल्लस्थित बेली क्यासिनोले डान्सरका रुपमा भित्र्याउँदै आएको स्रोत बताउँछ ।

बाल यौन दुराचारीको प्रमुख गन्तब्य

बाल यौन दुराचारका लागि समेत नेपाल विश्वको प्रमुख गन्तब्य बन्न पुगेको छ । त्यसविरुद्ध प्रहरीले विशेष अभियान नै चलाएको छ । ६ बालबालिकालाई यौन शोषण गरेको आरोप लागेका एक अमेरिकी नागरिक हाल सीआईबी हिरासतमा छन् । गत साताअर्का अमेरिकनलाई विमानस्थलबाटै फिर्ता पठाइएको थियो ।

आर्थिक रुपमा कमजोर मुलुक भएकाले आर्थिक सहयोगको आवरणमा धेरैले नेपाली बालकहरुलाई यौन दुराचार गर्ने प्रवृत्ति देखिएको सीआईबीका डिआईजी नीरज शाही बताउँछन् । समूह नै बनाएर बाल यौन दुराचारीहरुको समूह नेपालमा आउने गरेको सीआईबीको अनुसन्धानमा खुलेको थियो । राष्ट्रसंघका पूर्व अधिकारी रहेका क्यानेडिन नागरिक पिटर जन डाल्ग्लीशसहित दुई दर्जन विदेशी हाल बाल यौन दुराचार मुद्दामा नेपालको जेलमा छन् ।

एटिएम ह्याकिङमा युरोपियन

गत ५ असारमा सीआईबीले बाराका राजु कुमार पाण्डेलाई एटिएम ह्याकिङको आरोपमा पक्राउ ग¥यो । अनुसन्धानको क्रममा तीन रोमानियन नागरिकले उनलाई सिकाएको र पैसा निकाल्नै उनले रोमानियनहरुलाई पठाउने गरेको रहश्य खुल्यो । रोमानियासहित, बुल्गेरिया, माल्दोभ सर्विया जस्ता पूर्वी यूरोपियन देशका नागरिकहरु नक्कली एटिएम कार्डबाट पैसा निकाल्न आएको बेला पटक पटक पक्राउ परेका छन् ।

टर्कीमा रहेको एक गिरोहलाई एटिएम ह्याकिङ गरी पैसा निकाल्न नेपालमा आफ्ना सहयोगीहरुलाई पठाउँदै आएको छ । सीआईबीका अनुसार चार रोमानियन, चार टर्कीस, चार बुल्गेरियन, चार मोल्दोभियन र दुई भारतीयलाई सीआईबीले पक्राउ गरी मुद्दा चलाइसकेको छ । नेपालमा बैंकिङ सिष्टम र सुरक्षा कमजोर ठानेर उनीहरुले नेपाललाई हब बनाएको हुनसक्ने प्रहरी अधिकारीहरु बताउँछन् ।

निशुल्क भिसासँगै भित्रियो चीनबाट अपराध

चार वर्षयता चिनियाँ नागरिकलाई नेपालमा भिसा निशुल्क गरिएको छ । त्यो नीतिले नेपालमा चिनियाँ पर्यटक बढेसँगै अपराधसमेत बढेको छ । सुन तस्करी, डलरको अवैध कारोबार, वन्यजन्तुका अंगको तस्करी, जडिबुटीको अवैध कारोबारदेखि लागूऔषध कारोबारसम्म नेपालमा चिनियाँहरु पक्राउ परेका छन् ।

निशुल्क भिसा नीतिले पनि नेपाालमा चिनियाँलाई सहज भएको र अपराधिक उदेश्यले नै धेरै आउन थालेको प्रहरी अधिकारीहरु बताउँछन् । भ्रमण वर्ष २०२० पछि चिनियाँहरुलाई भिसामा शुल्क लिनेबारे छलफल भइरहेको अध्यागमन विभागका एक अधिकारीले बताए ।

विद्यार्थी र बिजनेश भिसामा अपराध

पर्यटक भिसामात्र होइन बिजनेश र विद्यार्थी भिसामा नेपालमा बस्दै आएका विदेशीहरु समेत आपराधिक गतिविधिमा संलग्न रहेको खुल्दै आएको छ । ललितपुरमा व्यवसायको आवरणमा चर्च चलाउँदै आएकी एक अमेरिकनलाई चार महिनाअघि मात्र अध्यागमन विभागले निष्काशन गरेको थियो ।

त्यस्तै विद्यार्थी भिसामा बस्नेहरुले पनि अवैध गतिविधि गरेको सूचना प्राप्त भएपछि निगरानी बढाइएको अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेल बताउँछन् । ‘विश्वभाषा क्याम्पस लगायतका निकायमा हामीले निगरानी बढाएका छौं,’ उनले भने, ‘विद्यार्थी भिसामा नेपालमा बस्ने र अन्य काम गर्ने सूचना प्राप्त भएको छ ।’

हाल करिब दुई हजार विदेशी नेपालमा विद्यार्थी भिसामा छन् । जसमध्ये ठूलो संख्या नेपाली भाषा पढ्न भनेर विश्वभाषा क्याम्पसमा भर्ना हुने गरेका छन् । ग्रामिण क्षेत्रका कतिपय क्याम्पसहरुमा समेत विदेशीहरु भर्ना भएका छन् । तर, उनीहरु धर्म प्रचार तथा जासुसी जस्ता गतिविधिमा संलग्न रहेको अध्यागमनको आशंका छ । त्यस्तै विजनेश भिसामा बसेर अपराधिक गतिविधिमा संलग्नता पनि पटक पटक भेटिएको छ ।

८८ किलो सुन तस्करी प्रकरणका नाइके रहेका चिनियाँ पान वेमिङ र याङ वेनबिङ बिजनेश भिसामा लामो समयदेखि नेपाल बस्दै आएका थिए । हाल उनीहरु फरार छन् । गत असारमा बिजनेस भिसामा बसेर चर्च खोल्ने फिलिपिनी नागरिक दे भेरा रिचर्ड र इन्डोनेसियाकी रीता गोङ्गालाई पक्राउ गरी अध्यागमन विभागले निष्कासन गरेको थियो ।

युक्रेनका दुई नागरिक वैदेशिक रोजगारी ठगीको आरोपमा पुतलीसडकबाट पक्राउ परेका थिए । नेपालमा ठूलो संख्यामा चिनियाँहरु बिजनेश भिसामा रहेको र उनीहरु विभिन्न किसिमको अवैध गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा विभागले छानबिन अघि बढाएको छ ।

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार ०९:३२