सुर्खेत । प्रदेश राजधानी वीरेन्द्रनगरदेखि २२ किलोमिटर पश्चिम जङ्गलको बीचमा अवस्थित ‘बराहताल’ पुगे अहिले ताल देख्न पाइँदैन । कुनैबेला ‘सुर्खेतको रारा’, ‘कर्णालीको दोस्रो रारा’को उपमा पाएको यो ताल एकाएक सुक्दा स्थानीय बासिन्दा अचम्मित छन् । उनीहरुका अनुसार ताल सुक्न थालेको करिब दुई वर्षजति भयो । जसको पहिचानले गाउँपालिकाकै नाम ‘बराहताल’ राखियो, अन्ततः त्यही तालको निशानै मेटिएपछि स्थानीय बासिन्दा निराश छन् ।
गाउँपालिका अध्यक्ष तेजबहादुर बस्नेत ताल सुक्नाका कारणबारे अनभिज्ञ छन् । ‘ताल सुकेपछि हामी अचम्मित भएका छौं, पहिले पनि २०५६ सालतिर सुकेको थियो,’ उनले भने, ‘वैज्ञानिक अध्ययनबिना ताल किन सुक्यो रु ठम्याउन गाह्रो छ ।’ अहिले ताल क्षेत्र सुक्खा जमिनमा परिणत भएको छ । ताल क्षेत्र तरंगा टोलको गौचरनमा परिणत भएको छ । सुर्खेतको पर्यटकीय स्थलका रुपमा रहेको बराहताल हेर्न यतिबेला पर्यटक आगमन भए के देखाउने भन्ने चिन्ता छ, स्थानीय जनप्रतिनिधिलाई ।
ताल सुक्नाका कारणबारे यहाँ अनेक अड्कलबाजी भइरहेका छन् । बराहताल गाउँपालिका ४ का वडाध्यक्ष टेकबहादुर कठायत २०७२ को महाभूकम्पपछि ताल क्रमिक रुपले सुक्दै गएको बताउँछन् । एकथरी बराह देउताको पूजा नगरेकाले ताल सुकेको तर्क गर्छन् । तालको छेउमा बराह मन्दिर छ । २०५६ मा ताल सुकेपछि स्थानीयले पूजा गरेका थिए । तत्कालीन तरंगा गाविस अध्यक्ष ओमबहादुर महताराले त्यतिबेला बराह देउताको पूजा गरेपछि तालमा पानी भरिएको बताए । ताल सुकेपछि पूजा गर्न त्यतिबेलै उक्त मन्दिर बनाइएको हो ।
कतिपय स्थानीयले तालमा पानी भर्न पूजा गर्नुको विकल्प नभएको बताउँदै आएका छन् । ताल नजिकको जङ्गल क्षेत्रमा जथाभावी सडक खनिँदा मुहानमा असर पुगेको हुन सक्ने अनुमान पनि गरिएको छ । सडकबाट निस्केको माटो बगेर तालको सतहमा जमेर पानी सञ्चयमा अवरोध हुन पुगेकाले ताल सुकेको बताइन्छ । तालसम्बन्धी अनुसन्धान गरेका कर्णाली प्रदेश अस्पताल, सुर्खेतका चिकित्सक डा.नवराज केसीको अध्ययन भने फरक छ । उनको बुझाइमा ताल सुक्नुको मुख्य कारण वनमारा झार हो ।
यसले सो क्षेत्रमा अरु झारलाई उम्रिन नदिँदा पानी सञ्चित हुन नसकेको हो । डा.केसी भन्छन्, ‘ताल भनेको पानी होइन, माटो हो । माटोको गुणस्तर बिग्रियो । यो माटोलाई पानी सञ्चय गर्न सक्ने खालको बनाउनुपर्छ, त्यसपछि आफैं पानी भरिन्छ ।’ पहिले जस्तो झार हुन्थ्यो त्यही झार ल्याएर रोप्न सके त्यसले पानी सञ्चय गर्न मद्दत पुर्याउँछ, अनि विस्तारै पानी भरिन्छ । वनमारा झारले माटोलाई दलदल बनाएर पानी सञ्चय गर्न र अन्य झार पनि उम्रन दिँदैन । यसले गर्दा ताल क्षेत्रको माटोले पानी सोस्न नसकेको उनको दाबी छ ।
अड्कलबाजी जे गरिए पनि तथ्यपरक अध्ययनबिना चुरे क्षेत्रमा अवस्थित ताल यसैकारण सुक्यो भनेर दाबी गर्ने आधार छैन । यसबारे वैज्ञानिक अनुसन्धान कसले गर्ने भन्ने टुङ्गो स्थानीय बासिन्दा र प्रदेश सरकारले लगाएका छैनन् । भूकम्प, सडकबाट बगेको माटो, जलवायु परिवर्तन या वनमारा झार जुन कारणले भए पनि प्राकृतिक सुन्दरताले भरिपूर्ण तालको अस्तित्व मेटिएको छ । अब यसको वैज्ञानिक अनुसन्धान गर्न जरुरी भइसकेको छ । ताल सुक्दा त्यहाँको जैविक विविधता खल्बलिएको छ ।
ताल नहुँदा हाँस, सारस लोप हुन पुगे । गाउँपालिका अध्यक्ष बस्नेतका अनुसार ताल क्षेत्रमा १७ प्रजातिका चराको बसोबास थियो । तीमध्ये केही ताल आश्रित चरा र जनावरहरु पनि थिए । चराहरुको चिरबिर–चिरबिर आवाजले त्यहाँको वातावरण रमणीय हुन्थ्यो । चराहरुले पात पतिङ्गर टिपेर ताल सफा राख्थे । ताल क्षेत्रमा कमलका फूल होइन, अचेल वनमाराले झाँगिएको छ । कुल ताल क्षेत्र ६० हेक्टरमध्ये पानी भएको क्षेत्र भने १२ हेक्टर मात्र थियो । तालमा डुङ्गा चलाएर जीविकोपार्जन गर्ने स्थानीय राजी समुदाय सबैभन्दा दुखी छन् ।
तीमध्येका एक हुन्, जंगबहादुर राजी । डुङ्गा चलाउने सीप भएका ताल सुकेयता बेरोजगार बनेका छन् । ताल फर्किने आशामा उनका दुई वर्ष बितिसकेका छन् । पर्यटकदेखि त्यहाँको जैविक विविधताको अवलोकन गर्न आउने अध्येताहरुको चहलपहल ताल सुकेपछि घटेको छ । जताततै ‘नेपाल भ्रमण वर्ष–२०२०’ मा पर्यटकीय प्याकेज सञ्चालन भइरहेका छन् तर, पश्चिम सुर्खेतबाट भने जिल्लाकै ठूलो ताल सुकेको सन्देश फैलिरहँदा स्थानीयमा निराशा छाएको छ ।
बन्यो गुरुयोजना
प्रदेश सरकारको आग्रहमा राष्ट्रपति चुरे तराई मधेस विकास बोर्डले गुरुयोजना बनाएको छ । स्मार्ट इन्जिनियरिङ एन्ड सोलुसन प्रालि ललितपुरका प्रविधिज्ञले तयार पारेको मस्यौदामा तालको पुनःस्थापना, संरक्षण र पर्यटकीय पूर्वाधारको विकासको प्रस्ताव गरिएको छ । गुरुयोजनामा पहिलो विकल्प प्राकृतिक रुपमै तालको पानी फर्काउने, दोस्रोमा डिप बोरिङमार्फत पानी निकाल्ने र तेस्रो विकल्पका रुपमा नजिकै बगिरहेको भेरी नदीको पानीलाई लिफ्टिङ प्रविधिबाट कृत्रिम ताल निर्माण गर्ने योजना समावेश गरिएको छ ।
भेरीको पानी र तालबीच ६० मिटरको दूरी छ । प्राकृतिक रुपमै ताल पुनःस्थापना गर्न नसके भेरीकै पानी ल्याउन धेरैजसो सहमत छन् । प्रदेश सरकारका वन निर्देशक शिवराम अधिकारीले स्थलगत अध्ययनका साथै गाउँपालिका, मन्त्रालय र सरोकारवालाबाट प्राप्त सुझावलाई समेटेर गुरुयोजना बनाइएको बताए । यही गुरुयोजनाका आधारमा तालको पुनःस्थापना र संरक्षणका विभिन्न कार्यक्रम सञ्चालन गरिने उनको भनाइ छ ।
राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको ७५ लाख रुपैयाँ, प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको १० लाख रुपैयाँ र बाँकी बराहताल गाउँपालिका तथा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट रकम जुटाएर चालु आवदेखि नै ताल पुनःस्थापना सम्बन्धी योजना सुरु गर्ने तयारी छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव कृष्णप्रसाद आचार्य ताल पुनःस्थापना तथा संरक्षणका लागि तीन वटै तहका सरकारका कार्यक्रमबीच समन्वय हुनुपर्ने बताउँछन् ।
गुरुयोजनाबमोजिम स्थानीय तहले स–साना पूर्वाधारका कार्यहरु गर्ने, प्रदेशले पर्यटकीय संरचना निर्माण तथा सङ्घीय सरकारको राष्ट्रपति चुरे संरक्षण कार्यक्रमले ठूला पूर्वाधार निर्माण गरेर ताल मात्रै पुनःस्थापना नगरी पर्यटकीय गन्तव्यकै रुपमा विकास हुने गरी बजेट परिचालन गर्नुपर्ने उनको धारणा छ । सचिव आचार्यले ‘ताल किन सुक्यो ?’ भन्ने विषयमा गहिरो अध्ययनको खाँचो औंल्याए । ‘यसको अझै गहन अध्ययन अनुसन्धान हुनुपर्छ, गुरुयोजनाबिनै तत्काल बजेट खर्च गर्न उपयुक्त नभएकाले गुरुयोजना बनाइएको हो,’ उनले भने, ‘ताल पुनःस्थापना मात्र नभई सौन्दर्यकरण र समग्र जलाधार क्षेत्रको संरक्षण तथा व्यवस्थापनलाई ध्यानमा राखिएको छ ।’ रासस
प्रकाश अधिकारी ।